बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरको पर्यटन स्तम्भ शिलान्यास

बुधबार, १६ पुस २०७६, १६ : २२
बुधबार, १६ पुस २०७६

चितवन । भ्रमण वर्ष २०२० को शुभारम्भको पहिलो दिन भरतपुर महानगरको पर्यटन स्तम्भ शिलान्यास गरिएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले आज नारायणगढको नारायणी नदी किनारमा महानगरको पर्यटन स्तम्भ शिलान्यास गरेकी हुन्। 

शिलान्यास कार्यक्रममा उनले नारायणी नदी किनारलाई देशकै प्रमुख पर्यटकीय गन्तव्य बनाइने बताइन्। उनले निजी क्षेत्रसँग साझेदारी गरेर नदी किनारलाई पर्यटकीय गन्तव्य बनाइन लागिएको बताइन् ।

देशकै प्रमुख पर्यटकीय गन्तव्य चितवन, त्यसमा पनि नारायणी नदी किनारको विशेष महत्व रहेको हुनाले यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न महानगर सदैव लागिरहने उनको भनाइ थियो ।

शिलान्यास कार्यक्रममा नदी किनारको संरक्षणमा उवासंघ चितवन, पाँच वटा टोलसुधार समितिलगायत समग्र व्यवसायीहरुको उच्च भूमिकाको प्रर्शसा गर्दै महानगर प्रमुख दाहालले भनिन्, ‘भरतपुर महानगरले नारायणी नदी किनारको विकासमा विगतदेखि नै लागिरहेको छ ।’

समग्र चितवनको पर्यटन क्षेत्रलाई अघि बढाइने र भ्रमण वर्षमा चितवनमा सोचेकोभन्दा बढी पर्यटक भित्र्याइने उनको भनाइ थियो ।

शिलान्यास कार्यक्रममा उपप्रमुख पार्वती शाहले स्वागत मन्तव्य दिँदै भनिन्, ‘चितवनको प्रमुख पर्यटकीय गन्तव्य भएको हुनाले यसको विकासमा भरतपुर महानगर लागिरहेको छ, सबैसँग हातेमालो गर्दै अघि बढ्ने छ ।’
कार्यक्रममा नेपाल होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले निजी क्षेत्र र महानगरको साझेदारीमा नारायणी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने बताए।

महानगरको स्तम्भ शिलान्यास कार्यक्रममा संघीय सांसद कृष्णभक्त पोख्रेल, प्रदेश सांसद कृष्णप्रसाद भुर्तेल, विजय सुवेदी, गीता वाग्लेलगायतको उपस्थिति रहेको थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप