आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

आर्सनलसँग युनाइटेड पराजित, टोटनहम स्तब्ध

बिहीबार, १७ पुस २०७६, ०७ : ५०
बिहीबार, १७ पुस २०७६

लण्डन । चिर प्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै नयाँ म्यानेजर मिकेल आर्टेटाको नेतृत्वमा आर्सनलले पहिलो जीत हासिल गरेको छ ।

घाइते पाउल पोग्बा बिना मैदान उत्रिएको पाहुना टोलीले खेलमा राम्रो सुरुवात गरेको थियो । तर, खेलको आठौँ मिनेटमा निकोलास पेपेले सिजनको पाँचौ गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

पहिलो गोलपछि भने आर्सनलले खेलमा नियन्त्रण बनायो । पहिलो हाफ सकिन लाग्दा सोक्राटिस पापास्ताथोपोलोसले गोल गर्दै आग्रता दोब्बर बनाए ।

पछिल्ला ९ खेलमा एक खेलमा मात्र पराजित भएको ओले गनर सोल्कसायरको टोलीले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरे पनि आर्सनलका गोलकिपर बर्नड लेनोलाई चुनौति दिन सकेन ।

दोस्रो हाफमा कुनै गोल हुन नसकेपछि आर्सनलले २–० ले खेल आफ्नो पक्षमा पार्यो ।

जीतसँगै सबै प्रतियोगितामा घरेलु मैदानमा खेलिएका पछिल्ला ७ खेलमा जीतविहीन रहेको आर्सनलले सो शृङ्खला अन्त्य गरेको छ । २१ खेलपछि २७ अङ्कसहित आर्सनल लिगको १० औँ स्थानमा उक्लिएको छ ।

उता, युनाइटेड भने पाँचौ स्थानमा चौथो स्थानमा रहेको चेल्सीभन्दा पाँच अङ्कले पछि परेको छ ।

यसअघि, चेल्सी ब्राइटनसँग १–१ को बराबरीमा रोकिएको थियो । खेलको शुरुवातमा नै सेजार एज्पेलिकुएटाले चेल्सीलाई अग्रता दिलाए पनि खेल सकिन ६ मिनेट बाँकी छँदा अलिरेजा जाहानबाकासले उत्कृष्ट ओभरहेड किकमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए ।

त्यस्तै, जोसे मोरिन्होको टोटनहम हटस्पर्स पनि साउथह्याम्पटनसँग १–० गोलले स्तब्ध बनेको छ । पहिलो हाफको १७ औँ मिनेटमा ड्यानी इङ्ग्सले गरेको एक मात्र गोल निर्णायक बन्न पुग्यो । पछिल्ला १० खेलमा उनको यो नवौँ गोल हो ।

मोरिन्होको नेतृत्वमा स्पर्सले ११ खेल खेलेकोमा एक मात्र क्लिन सिट राख्न सकेको छ ।

स्पर्सका स्ट्राइकर ह्यारी केन चोटका कारण दोस्रो हाफमा मैदान छाड्न बाध्य बनेका थिए । त्यसअघि उनको गोललाई अफसाइड भन्दै रद्द गरिएको थियो ।

पराजयपछि टोटनहम लिगको छैटौँ स्थानमा कायम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप