मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

सवारी दुर्घटना कम गर्न चितवनमा रातभर चेकजाँचको व्यवस्था

शनिबार, २५ माघ २०७६, ०८ : ५९
शनिबार, २५ माघ २०७६

चितवन । सवारी दुर्घटना न्यूनीकरणको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले रात्रिकालिन समयमा जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा सडक सुरक्षा चेकजाँच कार्ययोजना कडाइको साथ लागू गरेको छ । 

देशकै केन्द्र भागमा पर्ने चितवनमा हरबखत ‘हाईअलट’मा बस्नुपर्ने भएकाले सम्भावित दुर्घटनाहरुको न्यूनिकरण गर्न योजनावद्ध तरिकाले सडक सुरक्षा संयुक्त चेकजाँच कार्ययोजना ल्याइएको चितवन ट्राफिक प्रहरीले जनाएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा आएका नयाँ ट्राफिक प्रमुख दयाकृष्ण भट्टले जिल्लामा आफू आएदेखि नै सवारी व्यवस्थापनदेखि सडक दुर्घटना न्यनीकरणका लागि विभिन्न कार्ययोजनासहित काम गरिरहेको बताए । उनले भने, ‘रातको समयमा भएको दुर्घटनामा मानवीय क्षती बढी भएको पाइएकाले चेकजांँचमा कडाई गरिएको हो ।’

विगत ६ महिनाको तथ्याङ्क हेर्दा रातको समयमा बढी दुर्घटना हुने गरेकाले रात्रिकालिन समयमा झनै चेकजाँच कडा पारिएको भट्टको भनाइ थियो । ‘यसलाई न्यूनिकरण गर्न हामीले रात्रीकालिन समयमा कडाई गर्न लागेको बताउँदै भट्टले भने, ‘रात्रिकालिन समयमा मापसे गरी सवारी चलाउने, चालक निदाउने, तीब्रगतिमा हाँक्ने र ट्राफिक नियम मिच्ने जस्ता घटना बढी हुने गरेका छन ।’

जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा कार्ययोजना लागू भएपछि दूर्घटनाको दरमा कमी आउने बताउँदै भट्टले जिल्लामा सचेतनामूलक कार्यक्रम पनि गरिरहेको बताए । 

प्रमुख भट्टले सवारीसाधन खरिदबापत राज्यलाई कर तिरेको भन्दैमा सडकमा जथाभावी पार्किङ गर्ने जो कोहीलाई छुट नभएको बताए ।

पार्किङ क्षेत्र अभावको कारण देखाएर सवारी चालकले मनपरि ढंगले फुटपाथमा पार्किङ गर्दै आएकाले ह्विल लक समेत लगाउँदै आएको ट्राफिक प्रहरी जवान जिवराज भट्टराईले बताए । 

उनले भने, ‘चितवनमा पैदलयात्री हिंड्ने बाटो नै छेकिने गरी सवारीसाधन पार्किङ गर्ने प्रवृत्ति बढ्दो छ । यसलाई कम गर्न ह्विल लकको व्यवस्था गरका हौँ । पछिल्लो एक हप्तामा २०० भन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् ।’

जिल्लाको बढी दुर्घटना हुने ८ वटा ठाउंँमा प्रहरी र ट्राफिक प्रहरीसहित ७ जनासम्मको टोलीले २४ सै घण्टा निगरानी गर्ने कार्यको सुरुवात सोमबारदेखि भएको भट्टले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप