आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोनाभाइरसको रोकथाममा रेडक्रसः जटील परिस्थितिमा थप सहयोग गर्न तयार

सोमबार, १० चैत २०७६, १२ : ४४
सोमबार, १० चैत २०७६

काठमाडौं– कोरोनाभाइरसको महामारी रोकथाममा रेडक्रसले विशेष तयारी गर्दै जटील परिस्थितिमा थप सहयोग गर्न तयार रहेको बताएको छ ।

रेडक्रसले परिस्थिति जटिल बनेको खण्डमा कोरोना भाइरस संक्रमित र सम्भावित जोखिम भएका व्यक्तिहरूलाई घर वा सामुदायिक स्थलहरूमा क्वारेन्टाइनमा राख्नु पर्ने अवस्था आएमा रेडक्रसले स्थानको सहयोगका साथै आइसोलेसन वा क्वारेन्टाइनमा रहेका व्यक्तिहरूका लागि सहयोग गर्ने रणनीति बनाएको छ ।  

सामग्रीहरू खरिद, स्वास्थ्य अवस्थाको अभिलेखन, पारिवारिक सम्पर्क स्थापना, कैदीबन्दीहरुलाई सहयोग,  मनोसामाजिक परामर्श तथा सहयोग जस्ता क्षेत्रमा काम गरी जीवन सहज बनाउन रेडक्रसकर्मीहरु खटिने योजना रेडक्रसले बनाएको छ ।

साथै, योजनाअनुसार उपचार गर्ने अस्पतालहरूलाई आवश्यक सहयोग व्यवस्था मिलाइने पनि रेडक्रसले जनाएको छ । कोभिड–१९ भएको व्यक्ति पाइएको पुष्टि भएमा ऊसँग सो अघि सम्पर्कमा आएका व्यक्तिहरूको पनि खोजी गरी उपचार गर्नुपर्ने अवस्थामा खोजी गर्न रेडक्रसले तालिम प्राप्त टोलीको तयारी गरिसकेको छ ।  

प्रतिकार्यका क्रममा रेडक्रस मूल्य, मान्यताका साथै बाल संरक्षण, दुर्व्यवहार, लैङ्गिक तथा यौन हिंसा रोकथामका विषयलाई विशेष ख्याल गर्न निकायहरुलाई निर्देशन दिएको छ ।    
  
७७ वटै जिल्लामा सक्रियताः

कोरोना भाइरस (कोभिड–१९) रोकथाम र प्रतिकार्यको लागि नेपाल रेडक्रस सोसाइटीले संस्थाका ७७ वटै जिल्लामा स्वयंसेवक र कर्मचारीहरुको सक्रियता बढाएको जनाएको छ ।

मुलुकका सवै जिल्लास्तरमा रेडक्रसका शाखाले सामुदायिक परिचालक÷स्वयंसेवकको व्यवस्था गरेका छन् । संस्थाका विभिन्न विभागहरुले एकिकृत योजना बनाई  क्षमता विकास गरी स्वयंसेवक परिचालन,  सामुदायिक आवश्यकता र संलग्नताको अवधारणा बमोजिम जनचेतनामूलक कार्यक्रमहरु केन्द्रदेखि जिल्लास्तरमा सञ्चालन भइरहेका नेरेसो स्वास्थ्य विभागका निर्देशक विपुल न्यौपानेले बताए ।

विद्यालय तथा समुदायमा छलफल कार्यक्रम, अभिमुखीकरण÷तालिम सञ्चालन, स्थानीय संघ सस्थाहरूसँग बैठक, सूचना, शिक्षा तथा सञ्चार सामग्रीको वितरण,  सडक नाटक तथा एफ एम रेडियो मार्फत् समुदायलाई आवश्यक सही सूचनाहरू प्रचारप्रसार गतिविधिहरुमा नेरेसोका युवा स्वयंसेवकहरु परिचालित भएका हुन् ।

कोरोनाका कारण हुनसक्ने जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, रेडक्रसका अन्तर्राष्ट्रिय महासंघ यूएन, लगायतका निकायसँग आवश्यक समन्वय गरी समग्रमा त्यसवाट हुनसक्ने क्षतिको रोकथाम तथा नियन्त्रण गर्न मद्दत पु¥याउने गरी कार्यविधि र कार्ययोजना नै तयार गरी काम भइरहेको नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले बताए।

नेपाल सरकारको स्वास्थ्य मन्त्रालयसंग निकटमा रही सन् २०२० को जनवरीदेखि कोरोना भाइरसको प्रतिकार्य र रोकथाममा नेरेसोले काम गर्दै आएको हो । आपत्कालीन केन्द्र पनि सञ्चालनमा आइसकेको छ ।

रेडक्रसले भाइरसभन्दा कैयौंगुणा छिटो फैलिएको अफवाह वा भ्रम कम गराई मानसिक दवाव, पीडा, डरका साथै समुदायमा हुनसक्ने हेयभाव कोरोनाभाइरस कम गराउन कार्य गरिरहेको नेरेसोका सञ्चार विभाग निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

सहयोगका साथै व्यक्तिगत सुरक्षाको प्रवन्धः

शुक्रराज सरुवारोग अस्पताल स्वास्थ्य डेस्कमा नेपाल रेडक्रसका स्वयंसेवकहरु दैनिक खटिइरहेको रेडक्रसले जनाएको छ । यस अलावा रेडक्रस स्वयंसेवक र कर्मचारीहरुले देश भित्रिने नाका, एयरपोर्ट तथा मानिसहरूको बढी चहलपहल हुने स्थानमा हेल्प डेक्समा सहयोग गरिरहेका छन् ।

यसैवीच थप सजगता अपनाऊन केन्द्रीय कार्यालयमा प्रवेश गर्ने कर्मचारी तथा स्वयंसेवकको तापक्रम नाप गर्ने, गेटबाट पस्ने वित्तिकै हात धुने, बैठक बस्न परेमा दुरी कायम गर्ने उपायहरु अवलम्बन गरिएको छ । रक्तसञ्चार केन्द्रमा रगतको मागको लागि आऊने विरामीका आफन्तहरुलाई पनि यस्तै शुरक्षाका उपायहरु अपनाइएकाले रगतको कमि हुन नदिन रक्तदानका लागि अपिल समेत गरेको छ ।

रक्तदानमा सहयोग गर्न अनुरोध:

नेपाल सरकारले भिडभाड नगर्न निर्देश गरेअनुरुप मानिसहरुको सामुहिक भेला हुने क्रम घट्दै गइरहेकोले रक्तदान कार्यक्रममा समेत प्रभाव पर्न गई काठमाडौं लगायत देशका सबै जसो जिल्लाहरुमा रक्तदानका कार्यक्रमहरुमा कमी आएको रक्तसञ्चार केन्द्रकी निर्देशक डा. मनिता राजकर्णिकारले बताइन् ।

‘रगतको आपूर्तिमा कमि हुन नदिन र रगत आवश्यक पर्ने विरामीहरुको जीवन बचाउन पायक पर्ने रक्तसञ्चार केन्द्रहरुमा गई रक्तदान गर्न नेरेसोले  अनुरोध गरेको छ  । डा. राजकर्णिकारले असहज परिस्थितिमा रक्तसञ्चार निरन्तर गर्न थप सतर्कता र तयारी गरिएको र सहयोगको लागि स्वास्थ्य मन्त्रालयसँग कुराकानी भैरहेको बताइन् ।

अत्यावश्यक सेवाबाहेक अन्य सवै गतिविधि स्थगन, महाधिवेशन पनि सर्यो

अहिलेको सन्दर्भलाई दृष्टिगत गर्दै कोरोना भाइरस तथा डेंगु रोकथाम र नियन्त्रण लगायत रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा, प्राथमिक उपचार तथा विपद् प्रतिकार्य जस्ता अत्यावश्यक र आपत्कालीन सेवा गतिविधिहरु बाहेक अन्य तालिम, गोष्ठी, भ्रमण, भेला जस्ता कार्यक्रम अर्को सूचना जारी नभएसम्म नगर्न नगराउन नेरेसो केन्द्रीय कार्यालयले सवै निकायहरुलाई सूचना जारी गरेको संस्थाका कार्यबाहक महामन्त्री हरिप्रसाद न्यौपानेले जानकारी दिए। 

कोरोना भाइरसको प्रकोपको परिस्थिति मूल्यांकन गरी चैत्र तेस्रो साता हुने संस्थाको महाधिवेशनलाई २०७७ जेठ अन्तिम सातालाई सारिएको नेरेसोका अध्यक्ष संजीव थापाले बताए । यसअघि चैत्रको २३ देखि २५ गतेदेखि काठमाडौँमा महाधिवेशन तोकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप