शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा नेपालमा ‘पावर सेयरिङ्ग’ मै विवाद

बुधबार, ०७ जेठ २०७७, १२ : २१
बुधबार, ०७ जेठ २०७७

काठमाडौं । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बीच एकीकरण भए पनि कार्यविभाजनमा कुरा नमिल्दा पार्टी दर्ता प्रक्रिया नै प्रभावित भएको छ ।

दल दर्ता प्रयोजनका लागि जिल्ला जिल्लाबाट दुवै दलका केन्द्रीय सदस्यहरुको हस्ताक्षर आइसकेको छ तर पार्टी कसको अध्यक्षतामा दर्ता हुने, कुन नेताको पदीय दायित्व के हुने भन्ने टुगों नलागेका कारण दर्ता प्रक्रिया प्रभावित भएको हो ।

तत्कालीन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पावर सेयरिङ्ग गर्न नचाहेका कारण पार्टी एकीकरणको टुङ्गो लाग्न समय लागेको तत्कालीन राजपा नेपालका एक पदाधिकारीको आरोप छ ।

‘यादवजी आफ्नो पार्टी फुट्न लाग्दा जे जुन अवस्थामा छ, पार्टी एकता गरौं भनेर सादा कागजमा हस्ताक्षर गर्न पनि त्यतिबेला तयार थिए,’ उनले भने । तर अहिले विभिन्न बहाना बनाउँदै पार्टी एकीकरणबाट उपेन्द्र यादव पन्छिने गरेको तत्कालीन राजपा नेपालका नेताहरुको आरोप छ ।

उपेन्द्र यादवले राजपा नेपालका कुनै पनि नेतालाई कार्यकारी पद दिन चाहेका छैनन् । पार्टी एकीकरणको समयमा उपेन्द्र यादवले आफूलाई जे पद दिए पनि आफू लिन तयार रहेको बताएका थिए ।

त्यतिबेला महन्थ ठाकुरलाई वरियताक्रमको पहिलो नम्बरमा राख्ने, डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने, केन्द्रीय समितिको अध्यक्ष उपेन्द्र यादव र कार्यकारीणी समितिको अध्यक्ष राजेन्द्र महतोलाई दिने भद्र सहमति भएको नेताहरुको दावी छ । तर अहिले आएर उपेन्द्र यादवले केन्द्रीय समिति र कार्यकारिणी समिति पनि आफैसँग राख्ने भनेका छन् । यहाँसम्म कि राजनीतिक समिति पनि आफैसँग राख्ने अडान लिएपछि एकीकृत पार्टीमा विवाद उत्पन्न भएको छ ।

जसपा नेपालका नेता महेन्द्रराय यादव भने पार्टीमा कुनै प्रकारको विवाद नरहेको दावी गर्छन् । उनी भन्छन्, ‘पार्टीमा कुनै विवाद छैन, नेताहरुको बीचमा छलफल चलिरहेको छ, चाँडै नै पार्टी दर्ताका प्रकृयामा जान्छ ।’

वैशाख ३० गते एकीकरण टुङ्गो लगाउनका लागि बैठक बसेको थियो, त्यसपछि कुनै बैठक बसेको छैन । एकीकृत पार्टीको कार्यविभाजन लगायतका विषयमा टुगों लगाउन नौजनाको निर्देशन समिति बने पनि पछिल्लो समय तत्कालीन समाजवादी पार्टीको तर्फबाट डा.बाबुराम भट्टराई, उपेन्द्र यादव र तत्कालीन राजपा नेपालको तर्फबाट महन्थ ठाकुर र राजेन्द्र महतोले मात्र छलफल शुरु गरेका थिए । अहिले उनीहरुको बीचमा पनि छलफल रोकिएको स्रोतको दावी छ ।

तत्कालीन राजपा नेपालका नेता राजेन्द्र महतोले पनि आफूलाई कार्यकारी पद नै चाहिने अडान राखेका छन् । महन्थ ठाकुरलाई सेरेमोनियल भए पनि वरियताक्रमको पहिलो नम्बरमा राख्ने, डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष तथा कार्यकारिणीमा आफू र उपेन्द्र यादव रहने अथवा केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव रहने हो भने कार्यकारिणी समितिको अध्यक्षमा आफू रहने अडान उनको रहेको स्रोतले दावी गरेको छ ।

राजपा नेपालका एक नेताले भने, ‘उपेन्द्र यादव संगठनमा फेलियर अध्यक्षको रुपमा दर्ज भइसकेका छन्, उनकै नेतृत्व हुँदा पटक पटक पार्टी विभाजन भएका छन्, यसबाट पुष्टि हुन्छ कि उनी पार्टी चलाउनमा सक्षम छैनन् ।’

बरु राजपा नेपाल यतिका भद्रगोल हुँदा पनि फुट्ने प्रयास नभएको उनको भनाइ छ । ‘समाजवादी पार्टी झण्डै फुटिसकेको थियो,’ उनले भने, ‘राजपा नेपालले नै त्यो पार्टी जोगाईदिएको हो । अहिले आएर राजपा नेपाललाई किनारा लगाउने प्रयास भइरहेको छ ।’

उपेन्द्र यादवले राजपा नेपाललाई समाजवादी पार्टीमा मिसाएजस्तो व्यवहार गर्न खोजेको आरोप राजपा नेपालका नेताहरुको छ । ‘राजपा नेपाल र समाजवादी पार्टीबीच समान हैसियतमा एकीकरण भएको हो, त्यो पार्टीमा समावेश भएको होइन,’ राजपा नेपालका नेताहरु भन्छन् ।

यद्यपि उपेन्द्र यादव नै पार्टीको कार्यकारी अध्यक्ष हुने अडान तत्कालीन समाजवादी पार्टी नेताहरुको छ । तत्कालीन समाजवादी पार्टी केन्द्रीय सदस्य एवं प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्रराय यादवले मधेश मुद्दा केन्द्रित संसदीय राजनीतिका नेतृत्वकर्ता स्व. गजेन्द्र नारायण सिंहपछि ऐतिहासिक मधेश विद्रोहका सर्वोच्च कमाण्डर उपेन्द्र यादव रहेकाले नवगठित जनता समाजवादी पार्टीका निर्विकल्प कार्यकारी अध्यक्ष उपेन्द्र यादव हुनु नै मधेशवाद स्थापित हुने बताए ।

यता तत्कालीन राजपा नेपालका नेताहरुले महन्थ ठाकुरलाई अध्यक्ष बनाउने सहमति भइसकेका हुनाले ठाकुर नै निर्विकल्प रहेको बताइरहेका छन् । तत्कालीन राजपा नेपालका सहमहामन्त्री डा.सुरेन्द्र झाले दुई पार्टी बीच एकीकरण हुँदा नै ठाकुरलाई अध्यक्ष बनाउने सहमति भइसकेको र राजपा नेपालको बैठकले पनि महन्थ ठाकुरलाई नेतृत्व गर्न भनिसकेको बताए ।

एकीकृत पार्टीका लागि तयार पारेको घोषणापत्र र अन्तरिम विधानमा पनि विवाद उत्पन्न भएको छ । विधान पार्टीका नेताहरुको मुख हेरेर बनाएको गुनासो अधिकांश नेताले गरेका छन् । दुवै पार्टीमा रहेका नेताहरुलाई कसरी व्यवस्थापन गर्ने त्यसको आधारमा अन्तरिम विधान बनाएको छ

राष्ट्रिय महाधिवेशन, संघीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय सल्लाहकार समिति, संघीय संसदीय दल, केन्द्रीय विज्ञ परिषद्, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोगसहित विभिन्न ११ वटा केन्द्रीय संरचना बनाएका छन् । यसैमा सबै नेताहरुलाई व्यवस्थापन गर्ने नेताहरुको रहेको छ । 

समाजवादी पार्टी र राजपा नेपाल एकीकरण हुँदा शीर्ष नेताहरुलाई व्यवस्थापन यिनै संरचनाहरुबाट गरिने बताइएको छ । त्यसमा संघीय परिषद्को अध्यक्षमा डा.बाबुराम भट्टराई रहने लगभग पक्का पक्की नै छ । केन्द्रीय समितिलाई कार्यकारीको रुपमा लिएको छ । त्यसमा महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतको दावी छ । तर यसबारे हालसम्म टुङ्गो लगाइएको छैन ।

जसपा नेपालको विधानमा नौ पदाधिकारीको व्यवस्था गरिएको छ । संघीय परिषद् अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था गरिएको छ । तर, उपाध्यक्ष कति जना, अध्यक्षबाहेक अन्य पदाधिकारीको संख्या कति हुन्छ भन्ने विधानमा उल्लेख छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप