आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा बल पुगेको छ:  मुख्यमन्त्री पोखरेल

सोमबार, ०१ असार २०७७, १३ : १८
सोमबार, ०१ असार २०७७

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा बल पुगेको बताएका छन् । भूमे पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले खाम संस्कृति समुदाय र क्षेत्र विशेषको मात्रै नभएर नेपाली समाजको महत्वपूर्ण संस्कृतिको रुपमा पहिचान स्थापित भएको बताए ।

‘रोल्पा र रुकुमका खामभाषी मगर समुदायले मनाउने भूमे पर्व हाम्रो प्रदेशको विशेष सांस्कृतिक पर्व हो । विविधतायुक्त नेपाली समाजमा जाति र समुदायले मनाउने पर्वले समाजमा एकता, सद्भाव र मेलमिलापको वातावरण बनाउन भूमिका खेलेका छन्’, मुख्यमन्त्री पोखरेलले भने ।

भूमे पर्व प्रकृतिसँग सम्बन्धित रहेकाले यसले प्रकृति र मान्छेबीचको गहिरो सम्बन्ध उजागर गरेको बताए । उनले भने– ‘प्रकृतिले हामीलाई दिएका अमूल्य उपहार माटो, पानी, जीवजन्तु र रुखबिरुवाको संरक्षण र सही उपयोग गर्न सक्दा मात्रै हाम्रो जीवन सरल र सहज रुपमा अघि बढ्न सम्भव छ ।’

संविधानले सबै जाति र समुदायको उत्थान र विकासमा जोड दिएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री पोखरेलले अल्पसङ्ख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि संवैधानिक रुपमै आयोग गठन गर्ने व्यवस्था गरेर सबैप्रति सम्मान व्यक्त गरेको जनाए । ‘प्रदेश सरकारले भूमे पर्वको सांस्कृतिक महत्वलाई सम्मान गर्दै आज रोल्पा र रुकुममा स्थानीय बिदा दिने निर्णय गरेको छ ।

लोकतन्त्रलाई सबै समुदाय र वर्गका नागरिकको जीवनपद्धति बनाउन खोजिएको छ’, सन्देशमा भनिएको छ । मुख्यमन्त्री पोखरेलले भने, ‘संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातीले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने वातावरण बन्ने छ । संविधान कार्यान्वयन गर्दै सरकार समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा अघि बढेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप