मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बहुप्रतिक्षित नेकपा स्थायी समिति बैठक आज : के-के विषयमा हुँदैछ छलफल ?

बुधबार, १० असार २०७७, ०७ : ३८
बुधबार, १० असार २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बुधबार बस्दैछ । प्रत्येक ३ महिनामा बस्नुपर्ने स्थायी समिति बैठक गत पुष महिनायता बस्न सकेको थिएन । त्यसयता मुलुलकमा महत्त्वपूर्ण घट्नाक्रम भएपनि नेकपाले पार्टी कमिटिमा छलफल गर्न सकेको थिएन । जसले गर्दा नेकपामा असन्तुष्टि बढ्दै गएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बिहान ११ बजे बस्ने बैठकमा एमसीसी, कोरोना, सरकार र पार्टी संचालनको समिक्षा, नागरिकता विधेयक लगायतका विषय मोटामोटी  छलफलका विषय बन्ने सदस्यहरुको भनाइ छ ।

पार्टीमा निकै विवादित बनेको विषय अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको कम्प्याक्ट सम्झौता संसदवाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा नेताहरुबीच सहमति हुन सकेको छैन ।

नेताहरुले अहिलेका जल्दाबल्दा विषय नै बैठकका एजेण्डा बन्ने र छलफल हुने बताएका छन् । पार्टीका बहुमत नेताहरु एमसीसीसँगको सम्झौता संशोधन नगरी अनुमोदन गर्न नहुने पक्षमा छन् । सोही कारण बैठकका एजेण्डा तय गर्न नै नेताहरुलाई सकस परेको बुझिएको छ ।

‘प्रायः स्थायी कमिटी बैठकमा त्यहीँ छलफल गरेर एजेण्डाहरु तय गर्ने गरिन्छ । यसपटक पनि त्यहीँ हुन्छ’, स्थायी समिति सदस्य बेदुराम भुषालले रातोपाटीसँग भने, ‘विगत बैठकदेखि अहिलेसम्मको कामको समीक्षा, आगामी कार्ययोजना,समसामयिक राजनीतिक विषय भन्ने हुन्छ । समसामयीक विषयभित्र एमसीसी पर्नेनै हुन्छ । किनभने कार्यदलले नै प्रतिवेदन बुझाइसकेको छ ।’

त्यसबाहेक कोरोना र नागरिकता विधेयक पनि छलफलका विषय बन्ने भुषालले जानकारी दिए । नागरिकता विधेयकबारे यसअघि बसेको सचिवालय बैठकले विदेशी बुहारीलाई सात वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय गरिसकेको छ ।

भुषालले एमसीसीबारे कस्तो निर्णय हुन्छ भन्ने कुरा छलफल नभइ यसै भन्न नसकिने भन्दै विकल्पका रुपमा म्याद थप हुनसक्ने संकेत गरे ।

‘अहिले केही भन्न सकिन्न, एमसीसीमा पार्टीभित्र अलि गम्भिर खालकै विवाद छ । त्यो विवाद कसरी टुङ्ग्याउने भनेर छलफल नगरी यतिकै संसदमा लग्यो भने झन् विवाद चर्किन्छ,’ भुषालले रातोपाटीसँग भने ।

म्याद थप्न सुझाव दिने

एमसीसीको वजेट कार्यान्वयन इकाई मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए नेपाल) ले सरकारलाई संसदवाट सम्झौता अनुमोदन गर्न दिएको म्याद अबको ६ दिन अर्थात असार १६ मा सकिँदैछ । तर सभामुख अग्नि सापकोटाले मंगलबारपछि एकैचोटी असार १७ गतेलाई प्रतिनिधि सभा बैठक राखेका छन् ।

मंगलबार दिनभर प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम लगायतका नेताहरुबीच एमसीसीबारे के गर्ने भनेर छलफल भएपनि कुनै निर्णय गर्न सकेनन् । त्यसक्रममा समय थप गर्न प्रस्ताव गर्ने विषयमा नेताहरुबीच कुराकानी भएपनि भएपनि कुनै निर्णय हुन नसकेको एक नेताले बताए । एमसीसी कार्यान्वयनको समयसीमा घर्कदै गएको र पार्टीभित्र एकमत बन्न नसकेकाले एमसीसीबारे नेकपाले के गर्ला भन्ने आम चासो बढ्दै गएको छ ।

संसदमा एक वर्षदेखि विचराधिन एमसीसी विवादमा परेपछि अध्ययनका लागि गत माघ १५ देखि १९ सम्म वसेको केन्द्रीय समिति वैठकले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन कार्यदल बनाएको थियो । कार्यदलले सम्झौता परिमार्जनबिना संसदवाट अनुमोदन गर्न नहुने सुझाव दिएपछि सरकार दबाबमा पर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप