आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सेयर कारोबारका लागि प्यान नम्बर लिन ब्रोकरको ताकेता

आइतबार, ३२ साउन २०७७, ११ : ४४
आइतबार, ३२ साउन २०७७

काठमाडौं । आइतबार क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज (ब्रोकर नम्बर ५०) ले आफ्नो ब्रोकरमार्फत् सेयर कारोबार गर्ने लगानीकर्तालाई सेयर बिक्रीको लागि स्थायी लेखा नम्बर उपलब्ध गराउन सूचना जारी गर्यो । 
नेपाल स्टक ब्रोकर एशोसिएसनका पूर्वअध्यक्ष समेत रहेका क्रिष्टलका सञ्चालक प्रियराज रेग्मीले सीडीएस एण्ड क्लियरिङ हाउसले ग्राहकहरुको स्थायी लेखा नम्बर प्रविष्ट गर्न भनेकाले यसरी ग्राहकहरुलाई सूचना नै जारी गरिएको बताए । 
उनले धितोपत्रको बिक्री कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर तथा अन्य करसम्बन्धी विवरण सम्बन्धित व्यक्ति वा संस्थाको स्थायी लेखा नम्बरमा इफाइलिङ गर्ने प्रयोजनको लागि स्थायी लेखा नम्बर राफसाफ प्रणाली (सीएनएस सिस्टम) र हितग्राही खाता (डिम्याट खाता) मा प्यान नम्बर अपडेट गर्न सीडीएसीले ब्रोकरहरुलाई भनेको बताए । 

क्रिष्टलमात्रै होइन, सञ्चालनमा रहेका ५९ वटै ब्रोकरहरुले केन्द्रीय कार्यालय र शाखा कार्यालयमार्फत् देशभर कारोबार सञ्चालन गर्दै आएका लगानीकर्तासँग यतिबेला स्थायी लेखा नम्बर अध्यावधि गर्न ताकेता गरिरहेका छन् । उनीहरुले केही समयभित्रै यो अनिवार्य हुने भएकोले अद्यावधि गरिराख्न दवाव दिँदै आएका छन् । उनीहरुले धितोपत्र बोर्ड र सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को निर्देशन भन्दै सेयर बिक्री गर्नेहरुलाई प्यान नम्बर उपलब्ध गराउन ताकेता गर्न थालेका हुन् ।

सेयर कारोबारमा प्यान किन ?  
अहिले सीडीएससीले पुँजीगत लाभकर प्रयोजनको लागि सेयर बिक्री गर्नेको प्यान नम्बर अद्यावधिक राख्न ब्रोकरहरुलाई भन्दै आएको छ । तर यो निर्देशन नभएर अनुरोध मात्रै भएको सीडीएससीले जनाएको छ । 
‘हामीले निर्देशन दिएका होइनौं, अनुरोध मात्रै गरेका हौं । प्यान नम्बर अद्यावधिक भयो भने सेयर कारोबारको पुँजीगत लाभकर सम्बन्धित व्यक्तिकै नाममा कर कार्यालयमा दाखिला हुन्छ, यसले उहाँहरुको आम्दानी पारदर्शि पनि देखिन्छ, भोलिका दिनमा आयस्रोतको प्रमाणका लागि पनि काम लाग्छ भनेर हामीले त्यसो गरेका हौं’ सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौप्यानेले भने, ‘प्यान अनिवार्य गर्ने वा कारोबारको सीमा थपघट गर्ने सरकारले वा धितोपत्र बोर्डले गर्ने हो ।’ 

प्यान नम्बर लिएर कारोबार गर्दा कुनै पनि व्यक्तिलाई कुनै पनि अतिरिक्त भार भने व्यहोर्नु पर्दैन । आफ्नो नाममा भएका कारोबार र आफूले तिरेको कर समेत आफ्नै नाममा दाखिला हुने भएकोले यसले अझै धेरै लाभ प्राप्त हुन्छ । 
अहिले देशभर करिब लाख भन्दा बढी डिम्याट खाताहरु सञ्चालनमा रहेको सीडीएससीको तथ्यांक छ । त्यसमध्ये करिब ३ लाख ६० हजारले मात्रै दोस्रो बजारमा कारोबार खाता खोलेको नेप्सेले जनाएको छ । बाँकी १५ लाख लगानीकर्ता समेत विस्तारै दोस्रो बजारको दायरामा आउनु पर्नेछ । अहिले नै प्यान अनिवार्य गर्दा चाहिँ फेरि पनि प्राथमिक बजारमार्फत् लगानी गरेका लगानीकर्ताहरुले दोस्रो बजारमा सेयर बिक्री गर्नै नसक्ने अवस्था आउन सक्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप