आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

५० वर्ष पुगिन् मनिषा

आइतबार, ३२ साउन २०७७, १२ : ५०
आइतबार, ३२ साउन २०७७

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाको आज जन्मदिन परेको छ । १९७० अगस्ट १६मा काठमाडौंमा जन्मिएकी मनिषाले आज ५० औं जन्मदिन मनाउँदैछिन् । जन्मदिनको अवसरमा उनलाई विभिन्न माध्यमबाट शुभकामनाको ओइरो लागिरहेको छ । नेपाली र बलिउड दुबै फिल्ममा अभिनय गरेकी मनिषा अभिनयको माध्यमबाट करोडौँ  मानिसको ढुकढुकी समेत बन्न सफल छिन् ।

नेपालको राजनीतिक घरानामा जन्मिएकी मनिषाको सानोमा डाक्टर बन्ने सपना पनि थियो । तर करियरका लागि भने उनले मोडलिङ र फिल्म अभिनय रोजिन् । सन् १९८९ मा  नेपाली फिल्म ‘फेरी भेटौँला’ अभिनय गरेपछि बलिउड प्रवेश गरेकी उनले बलिउड ‘सौदागर’बाट डेब्यु गरेकी हुन् । उनले बलिउडमा लामै समय राज गरिन् ।

१९८९–२०१२ सम्म करिब २३ वर्ष फिल्मी क्षेत्रमा क्रियाशील मनिषा पाठेघर क्यान्सरको कारण झण्डै पाँच वर्ष अभिनयबाट टाढा रहिन् । 
क्यान्सर रोगलाई जितेर सन् २०१७ देखि पुनः फिल्मी क्षेत्रमै सक्रिय बनेकी मनिषाले अभिनय गरेको हिन्दी फिल्म ‘सञ्जु’ बलिउड बक्स अफिसमा ब्लक बस्टर सावित भएको छ । फिल्ममा उनले संजय दत्तकी आमा नरगिसको भूमिका निभाएकी थिइन् ।

सन् २०१० मा सम्राट दाहालसँग बिवाह गरेकी मनिषाको दुई वर्षपछि सम्बन्ध विच्छेद भएको थियो । हाल उनी आमाबाबु सुष्मा र प्रकाश कोइरालासँग बस्दै आएकी छन् ।
पछिल्लो समय नेपाल र भारतबीच सीमा विवादमा मनिषाको भनाइले चर्चा पायो । उनले सीमा विवादमा ट्वीटर गरेर देशभक्ति देखाइन् । त्यसप्रति भारतीय नागरिकहरुले उनको चर्को आलोचना गरे । नेपालको राजनीतिकवृत्तमा मनिषा फेरि चर्चामा रहिन् ।

उनी राजनीतिमा आउने चर्चा पनि चल्यो । तर, उनले राजनीतिमा नआउने बताइसकेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप