आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रमुख जिल्ला अधिकारीहरुलाई मुख्यमन्त्री पोखरेलको निर्देशन

सोमबार, ०८ भदौ २०७७, १९ : ५४
सोमबार, ०८ भदौ २०७७

काठमाडौं । कोरोना रोकथाम तथा उपचारमा भइरहेका प्रयास र गर्नुपर्ने कामबारे  आज मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश नं ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग एकीकृत भिडियो सम्वाद गरेका छन् । मुख्यमन्त्री पोखरेललाई प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको समग्र अवस्थाको जानकारी दिँदै कोरोना नियन्त्रण र उपचारका लागि भइरहेका कामबारे जानकारी गराए ।  

मुख्यमन्त्री पोखरेलले जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्र आवश्यकता अनुसार बनाउन र पिसिआर परीक्षण तथा कन्ट्रयाक ट्रेसिङको काम प्रभावकारी बनाउन निर्देशन दिए । मुख्यमन्त्री पोखरेलले बन्दाबन्दी र निषेधाज्ञालाई आवश्यकता र औचित्यको आधारमा गर्न र बन्दाबन्दी र निषेधाज्ञा गरिएको जिल्ला र क्षेत्रमा कडाईका साथ पालना गराउन आग्रह गरे । उनले भारतबाट आउने नागरिकको व्यवस्थित अभिलेख राखी प्रवेश गराउन, क्वारेन्टाइनमा राखेर सम्बन्धित जिल्लामा पठाउन, सीमाबाट छोटो आवतजावतलाई रोक्न र सीमा नाकामा कडाई  गर्न समेत निर्देशन दिए ।

मुख्यमन्त्री पोखरेलले प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिडले सिर्जना गरेको मानवीय त्रासलाई न्युनिकरण गर्न सञ्चार माध्यममार्फत सूचना प्रवाह गर्न तथा कोभिड १९ को उपचार तथा शान्तिसुरक्षाको प्रबन्धलाई प्रभावकारी बनाउन आग्रह गरे । उनले प्रमुख जिल्ला अधिकारीहरुले अहिलेसम्म गरेको काम प्रशंसनीय रहेको बताउँदै काम गरेपछि त्यसको समीक्षा गरी जहाँ कमजोरी छ त्यहीबाट सुधार गरी अघि बढ्न निर्देशन दिए । प्रमुख जिल्ला अधिकारीहरुले जिल्लागतरुपमा भएका काम र समस्या प्रस्तुत गरे । साथै तत्काल प्रदेश र सङघीय सरकारले गर्नुपर्ने कामबारे प्रमुख जिल्ला अधिकारीहरुले मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप