बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

डा.गोविन्द केसीद्वारा सत्याग्रह स्थगन

बिहीबार, १८ भदौ २०७७, १३ : ३४
बिहीबार, १८ भदौ २०७७

कर्णाली । वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीले  सत्याग्रह स्थगित गरेका छन् । उनले आज  प्रेश विज्ञप्ति जारी गरी जुम्लामा पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै पुनः सत्याग्रह स्थगित भएको जनाएका हुन् ।

उनले गत साउत ३२ गते पत्रकार सम्मेलन गरी यही भदौ ११ गतेदेखि जुम्लामा अनशन बस्ने घोषणा गरेका थिए ।  उक्त दिनसमेत सत्याग्रह बस्ने वातावरण नमिलेपछि स्थगित गरेका थिए । विज्ञप्तिमा भनिएको  छ, “कोराना महामारी फैलिँदै जाँदा जुम्लावासीको विशेष आग्रहलाई मध्यनजर गर्दै सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरेका छु । सरकारले आफूले राख्दै आएका माग पूरा नगरेको खण्डमा कुनै पनि बेलामा सत्याग्रह बस्ने जानकारी गर्दछु ।” 

उनले विज्ञप्तिमार्फत यस जोखिम अवधिमा निरन्तर खटेर स्वास्थ्य सेवा दिइरहेका सरकारी र निजी क्षेत्रका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नियमिति सेवा सुविधाका साथै जोखिम भत्ता दिलाउन सरकारलाई ध्यानाकर्षण समेत गराएका छन् ।

सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमडिजिपी इन जनरल प्राटिक्स, एमडी इन एनेष्थेसिया, एमडी इन पेडियाट्रिक्स गरी तीन विधामा स्नातकोत्तर तहको पठनपाठनको स्वीकृति प्रदान गरेको गरिसकेको छ  । प्रतिष्ठानका शिक्षाध्यक्ष डा.निरेश थापाले तीन विधाका पाँच सिटमा विशेषज्ञ चिकित्सा शिक्षा यही शैक्षिक वर्षभित्र अध्ययन अध्यापन हुने बताउँदै केही महिनापछि एमबिबिएस पढाइ हुने जानकारी दिए । 

यस्ता छन् डा केसीका पछिल्ला माग 

डा.केसीले पछिल्लो समय राख्नुभएको मागमा प्रतिष्ठान जुम्लामा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबिबिएस सञ्चालन, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पु¥याएर पठनपाठन र  सरकारले २०७५ साल साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन रहेका छन् ।  

यसैगरी शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउन, सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरिनुपर्नेलगायतका रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पूर्वाधारसहित डाक्टर पढाई हुनुपर्नेलगायतका माग राख्दै उनी सत्याग्रह बस्न गत साउन ११ गते जुम्ला पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप