ओलीकै प्रस्तावमा गौतम राष्ट्रियसभा सदस्य, अर्थमन्त्री खतिवडाको पद धरापमा
काठमाडौं – ‘हुन्छ र हुँदैन’को लामै फन्को मारेर अन्ततः नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनयन हुने भएका छन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डा. युवराज खतिवडालाई राष्ट्रियसभामा लगेर अर्थमन्त्रीमा निरन्तरता दिने अडान राख्दै आएका थिए। अर्का अध्यक्ष पुष्पकमल दाहाल र सचिवालयका बहुमत नेता गौतमका पक्षमा लबिङ गरिरहेका थिए। त्यसैले बिहीबारको बैठकमा गतिलै वैचारिक झडप हुने आकलन गरिएको थियो। तर, स्वयं प्रधानमन्त्री ओलीले गौतमको नाम घोषणा गरिदिए।
गौतमलाई राष्ट्रिय सभा लैजान यसअघि गत फागुन १४ गते पार्टी बैठकले सरकारलाई सिफारिस गर्ने निर्णय लिएको थियो। लगत्तै प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गरेका थिए। त्यसले सत्तारूढ दलभित्रको विवाद उत्कर्षमा पुगेको थियो। प्रधानमन्त्रीले खतिवडालाई मन्त्रीमा निरन्तरता दिन अन्तिमसम्म अध्यक्ष दाहाल, उपाध्यक्ष गौतमलगायत नेताहरूलाई मनाउने प्रयास गरेका थिए। उनीहरू नमानेपछि आफैंले गौतमको प्रस्ताव ल्याएका थिए।
‘केन्द्रीय उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिवाट मनोनीत गरिने राष्ट्रिय सभा को रिक्त एक पदमा मन्त्रिपरिषद्ले मनोनयनका लागि सिफारिस गर्ने क्रममा सरकार पुगेको जानकारी प्रधानमन्त्रीले गराउनुभयो’, बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। ओलीको संकट टार्न गौतमले बेलाबेला यसबीच महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसैले पनि उनलाई चिढ्याउने पक्षमा प्रधानमन्त्री थिएनन्।
गौतम प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएका थिए। नेकपाको ९ सदस्यीय सचिवालयमा उनी एक्लै सांसद थिएनन्। अब सबै हुने भएका छन्। प्रतिनिधिसभा चुनावमा पराजित श्रेष्ठ भने यस अगाडि नै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भइसकेका छन्।
गौतमको राष्ट्रिय सभा प्रवेशसँगै अर्थमन्त्री डा. खतिवडाको पद भने धरापमा परेको छ। अब उनको पद २१ भदौको मध्यरात १२ बजेसम्मका लागि मात्र छ। स्रोतका अनुसार शुक्रबार ११ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकले गौतमको नाम सिफारिस गर्नेछ। त्यहीँ खतिवडाको बिदाइ हुने सम्भावना छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण