बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घरबेटीलाई सम्झाउन जाँदा मेयरलाई कोरोना, १८ दिनदेखि अस्पतालको आइसोलेसनमा

शुक्रबार, १६ असोज २०७७, ११ : ४२
शुक्रबार, १६ असोज २०७७

ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ १८ दिनदेखि ललितपुरको किष्ट अस्पतालको आइसोलेसनमा छन् । कोरोना रोकथाम तथा नियन्त्रण लगायत नगरपालिकाका विविध काममा बिहानदेखि बेलुकासम्म खटिँदै आएका श्रेष्ठलाई गत भदौ २८ गते बेलुकादेखि ज्वरो आउन थाल्यो । अर्को दिन उनले पीसीआर परीक्षणका लागि स्वाब दिएर आइसोलेसनमा बसे । नभन्दै परीक्षणमा कोरोना पोजेटिभ देखियो । उनलाई मात्र हैन उनकी श्रीमतीमा पनि सङ्क्रमण देखिएपछि उनी पनि सँगै आइसोलेसनमा रहेकी छिन् ।

उनलाई लक्षणसहितको कोरोना सङ्क्रमण भएको थियो । १ सय ५ डिग्रीसम्म ज्वरो पुगेको उनले बताए । सुरुमा उनको अक्सिजनको तह पनि निकै घटेको थियो ।

मेयर श्रेष्ठलाई आफू कसरी सङ्क्रमित हुन पुगेँ भन्ने थाहा छैन । नगरपालिकाभित्र घरबेटीले डेरावालहरुलाई दुःख दिएपछि सम्झाउँन जाने क्रममा सङ्क्रमण भएको हो कि भन्ने उनको आशङ्का छ ।

उनले भने– ‘मेरो नगरपालिका भित्रको समाजमा धेरै समस्या प¥यो । घरबेटीहरुले भाडामा बस्नेहरुलाई निकै मानसिक समस्या दिनथाले । जहाँ जहाँ मान्छेहरु निराश हुनुभएको थियो, ती ती ठाउँमा पुगेर उहाँहरुलाई सम्झाउने, मनोबल बढाउने, घरबेटीहरुलाई पनि सम्झाउने लगायतका काम गर्दै आइरहेको थिएँ । बिहानदेखि बेलुकासम्म नगरको काममा नै खटिँदै आएको थिएँ । त्यहीबाट स¥यो कि ।’

सुरुमा उनलाई १ सय २ डिग्रीसम्म ज्वरो आएको थियो । कोरोना पोजेटिभ पुष्टि भएपछि अस्पताल गएर अन्य स्वास्थ्य परीक्षण गरेर आइसोलेसनमा बसेका थिए । 

मेयर श्रेष्ठले आफू सुगर र प्रेसरको बिरामी भएको बताउँदै सुगर  लगायतका अन्य स्वास्थ्य समस्या भएका बिरामीलाई बढी समस्या पार्ने उल्लेख गरे । अरू दीर्घरोग लागेकाहरुलाई पनि कोरोनाले सास फेर्न कठिन बनाउने उनले अनुभव गरे ।

उनले भने– ‘लक्षण सहितको कोरोना सङ्क्रमणले समस्या हुने रहेछ । कसैले पनि कोरोनालाई हलुका ढङ्गले नलिनुहोला । यो जटिल पनि हुन सक्छ । मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, भीडभाडमा नजाने, साबुनपानीले नियमित हात धुने ग-यो भने कोरोनालाई जित्न सकिने रहेछ । यसलाई हेलचेक्र्याइँ कसैले पनि नसम्झिदिनुहुन आग्रह गर्दछु ।’

अहिले ज्वरो हटिसेकेको छ भने स्वास्थ्य अवस्था पनि राम्रो हुँदै गइरहेको छ । अहिले अक्सिजन तह पनि ठीक हुँदैछ । १४ दिनको परीक्षण पनि पोजेटिभ नै आएपछि अब २० गते फेरि अर्को परीक्षण हुन्छ । त्यो परीक्षण नेगेटिभ आउँछ भन्ने आशामा रहेको उनले बताए ।

उनले भने– ‘स्वस्थ भएर छिट्टै काममा फर्कन हतार भइरहेको छ । आइसोलेसनमा बसेर पनि फोनबाट कार्यालयको काममा सहयोग गरेको छु । मेरो अभावमा नगरपालिकाको कुनै पनि काम नरोकिनेगरी काम गरिहेको छु ।’

अन्य रोगको समेत सामना गरिरहेका मेयर श्रेष्ठले चिकित्सकले सिफारिस गरेका खानेकुरा मात्र खाइरहेका छन् ।  

‘सुगरको रोगी भएका कारण मैले जे पायो त्यही खान हुँदैन । किष्ट अस्पतालका डाक्टरहरुले खानेकुराको लिस्ट बनाइदिएका छन् । सोही अनुसारको खाना खाइरहेको उनले बताए । सुगर प्रेसर दुवैको औषधि चलिरहेको छ ।’

अहिले महालक्ष्मी नगरपालिकामा २ सय १० जना कोरोना सङ्क्रमित छन् । नगरपालिका अन्य सङ्क्रमितसँग पनि फोनमा कुरा गरिहेको उनले बताए । छिट्टै सङ्क्रमणलाई जितेर पहिलेको काममा फर्कन हतार भइरहेको उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप