आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कतारमा कामदार पठाउन १६ वटा म्यानपावर सर्टलिस्टमा !

बिहीबार, २० कात्तिक २०७७, १९ : १५
बिहीबार, २० कात्तिक २०७७

काठमाडौं । आफ्नो देशमा कामदार पठाउन अनुमति दिनेगरी कतारले सीमित म्यानपावरलाई मात्रै सर्टलिस्ट गरेको हल्ला बजारमा फैलिएको छ । कतारले छनौट गरेका म्यानपावरको नाम भन्दै १६ वटा कम्पनीको लिस्ट सार्वजनिक भएको हो । यो खबरपछि म्यानपावर क्षेत्रमा हंगामा मच्चिएको छ । 

कतारको भिसा स्वीकृत गर्ने निकाय कतार भिसा सेन्टर (क्युभिसी) ले ती म्यानपावर कम्पनीको नाम सर्टलिस्ट गरेको भनिएको छ । नेपालस्थित कतारी दुतावास र नेपालस्थित कतार भिसा सेन्टर (क्युभीसी) ले पठाएको नामलाई कतार भिसा सेन्टरको मुख्यालयले स्वीकृत पठाएको भनिएको छ । 

सार्वजनिक भएको म्यानपावर कम्पनीको सूचीमा होप इन्टरनेशनल, अल–थाक्वेत ओभरसिज, एसओएस म्यानपावर, डीडी ह्युमन रिसोर्स म्यानेजमेन्ट राज ओभरसिज, अल–रायन इन्टरप्राइजेज, गोर्खा इन्काउन्टर्स, सुपर्भ फर अल्टिमेट म्यानपावर सोलुसन, कैलास इन्टरनेशनल म्यानपावर, न्यू पाथीभरा प्लेसमेन्ट सर्भिसेज प्रा.लि., डेभिड फरेन रिक्विमेन्ट एजेन्सी, धर्म ओभरसिज प्रा.लि. साउण्डलिनेस रिक्रुमेन्ट प्रा. लि., कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट र इन्टरनेशनल म्यानपावर रिक्रुमेन्ट प्रा.लि रहेका छन् । 

व्यवसायीहरुको आशंका दुईजनामा

यसरी सिन्डिकेट कायम गर्नमा २ जना म्यानपावर व्यवसायी सक्रिय भएको अरु व्यवसायीहरुले आरोप लगाएका छन् । व्यवसायीे हेमबहादुर गुरुङ र महेन्द्र चौलागाइँमाथि यस्तो आशंका गरेका हुन् । उनीहरुकै पहलमा यसरी सिन्डिकेट गर्ने प्रयास गरिएको स्रोतको दाबी छ । 

गुरुङ नेपालस्थित कतार भिसा सेन्टर (क्युभिसी) सञ्चालक तथा एसओएस म्यानपावरका अध्यक्ष हुन् । क्युभीसीले कतार जाने नेपाली कामदारको फिङ्गरप्रिन्ट लिने र भिसाको प्रोसेसिङमा सहजीकरण गर्ने काम गर्छ । 

महेन्द्र चौलागाइँ भने हाल कतारमा बस्छन् । उनी पनि म्यानपावर व्यवसायी भएको जनाइएको छ । उनका भाइ प्रेम चौलागाइँले हाल न्यू पाथीभरा प्लेसमेन्ट सर्भिसेज प्रा.लि. सञ्चालन गर्दै आएका छन् जुन सर्टलिस्टमा परेका १६ वटा म्यानपावरमध्ये एक हो । यो सिन्डिकेटलाई सार्थक बनाउने कतारमा बसेर छलफल र बैठकमा चौलागाइँल भूमिका निर्वाह गरेको स्रोतको दाबी छ । 

तर, क्युभिसी नेपालका सञ्चालक समेत रहेका हेमबहादुर गुरुङले आफूले यो लिस्ट प्राप्त गरेको भन्दै यसमा आफैं अचम्ममा परेको बताए । ‘साथीहरुले मलाई पनि यो लिस्ट पठाउनुभयो । म त आफैं अचम्ममा परेँ । यो लिस्ट कसले बनायो ? कसले पठायो । मलाई त केही थाहा छैन’ गुरुङले भने, ‘क्युभीसीले त भीसाको सहजीकरण गर्ने मात्रै हो । यस्तो हल्ला कसले चलायो भनेर खोज्नुपर्ने भएको छ ।’

पाथीभरा प्लेसमेन्ट सर्भिसेज प्रा.लि.का अध्यक्ष एवं प्रेम चौलागाइँले पनि यसबारे आफूलाई कुनै जानकारी नभएको बताए । ‘नेपालस्थित कतारी दुतावास र क्युभीसीले नाम पठाएको हुनसक्छ, यसबारे मलाई केही थाहा भएन’ अध्यक्ष चौलागाइँले भने ।

व्यवसायीहरु आकस्मिक छलफलमा

कतारको रोजगारीमा सीमित म्यानपावरको सिन्डिकेटको प्रयास भएको हल्लापछि वैदेशिक रोजगार व्यवसायीहरु सशंकित बनेका छन् । यही विषयमा छलफल गर्न व्यवसायीहरुको आकस्मिक बैठक बसेको थियो । नेपाल बैदेशिक रोजगार लोकतान्त्रिक व्यवसायी संघको कार्यालयमा बसेको बैठकमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरे लगायत सहभागी थिए । 

बैठकले बजारमा आएका हल्लाको आधिकारिकता पत्ता लगाउने र सही रहेछ भने यसको प्रतिरोध गर्ने निर्णय गरेको अध्यक्ष गैरेले बताए । 

‘कोभिड महामारीको बेलामा कसैले यस्तो गर्छ भने त्यो हामीलाई सैह्य हुँदैन । मेरो कार्यकालमा वैदेशिक रोजगारीमा कुनै पनि प्रकारको सिन्डिकेट हुन दिन्नँ भनेर मैले भनेको छु’ अध्यक्ष गैरेले भने, ‘मैले हिजो परराष्ट्रमन्त्रीज्यूसँग भेटेर पनि यही कुरा भनिसकेको छु ।’

गैरेले यसबारे सर्टलिष्टमा नाम आएका म्यानपावर व्यवसायीसँग पनि आफूले कुरा गर्ने बताए । ‘मैले हेमदाइ (क्युभीसीका सञ्चालक) सँग कुरा गरिसकेको छु, उहाँले यो हल्ला मात्रै हो, म कुनै पनि सिन्डिकेट गर्दिन भन्नुभएको छ । अरुसँग पनि कुरा हुन्छ । सिन्डिकेट हुन कुनै पनि हालतमा दिइँदैन ।’

फ्रि भिसाको विवादका कारण मलेसियाको रोजगारी चौपट भएपछि कतार अहिले नेपालको प्रमुख श्रम गन्तव्य बनेको छ । हाल नेपाल सरकारबाट स्वीकृति प्राप्त सबै म्यानपावर व्यवसायीले कतारमा कामदार पठाउनसक्ने व्यवस्था छ ।

हाल ८ सय ५४ वटा म्यानपावर व्यवसायीले यस्तो स्वीकृति पाएका छन् । प्रमुख रोजगार गन्तव्यमा नै सिन्डिकेट हुन लागेको हल्लाले उनीहरु आतंकित बनेका हुन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप