शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

वामदेवको सचिवालयले भन्योः नेता र कार्यकर्ताबीच फाटो ल्याउने नियत देखियो

मङ्गलबार, २५ कात्तिक २०७७, १८ : २७
मङ्गलबार, २५ कात्तिक २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता वामदेव गौतमले आफुले केही गैरआवसीय नेपाली नेताहरुसँग भेटेको भन्ने समाचारको खण्डन गरेका छन् । गौतमको निजी सचिवालयले एक अनलाइनले बिना प्रमाण र आधार सो समाचार प्रकाशित गरेको भन्दै खण्डन गरेको हो । गौतमको सचिवालयले नेकपा प्रचार फाँटका एक सदस्यले सम्पादन गर्ने अनलाइनले उक्त समाचार प्रकाशित गरेको आरोप लगाउँदै सो कार्य निन्दनीय रहेको जनाएको छ ।

कोभिड–१९ संक्रमण बढेसँगै नेता गौतमले पार्टीका शीर्ष नेताहरुबाहेक समाचारमा उल्लेख भएका वा नभएका अन्य कोही व्यक्ति र समूहसँग भेट नगरेको दाबी सचिवालयले गरेको छ । खण्डनमा भनिएको छः ‘कुनै सभा, सम्मेलन र अन्य छलफलमा उहाँको उपस्थिति छैन ।’ 

सचिवालयले पार्टीभित्र चल्ने बहस र छलफललाई पार्टी बाहिर ल्याएर गरिने अनुचित टिप्पणी तथा बहस सर्वथा अस्वीकार्य रहेको जनाउँदै भनेको छः ‘पार्टीका नेता र कार्यकर्ताबीच फाटो ल्याउने नियतबाट प्रेरित उक्त समाचार पार्टीको प्रचार फाँटकै जिम्मेवार साथीले सम्पादन गर्ने अनलाइनबाट प्रकाशित गरिनु अझ बढी निन्दनीय विषय हो ।’ उक्त समाचारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई इंगित गर्दै उल्लेख भएको ‘अब कसैका कुनै कुरा सुनिन्न, उनलाई सकाइन्छ...’ जस्ता अशिष्ट, अमर्यादित शब्दावली नेता गौतमबाट आजसम्म कहीँ, कतै व्यक्त नभएको समेत सचिवालयको दाबी छ ।

सचिवालयले उक्त समाचारको प्रमाण प्रस्तुत गर्न चूनौति दिँदै यसप्रकारका समाचार तथा प्रचारवाजीको भ्रममा कोही पनि नपर्न अनुरोध गरेको छ । केही दिनअघि केही अनलाइनले नेता गौतमको भेट र बोलेको विषयलाई लिएर समाचार प्रकाशित गरेपछि उनको सचिवालयले खण्डन गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप