संयुक्त आन्दोलन गर्न काँग्रेसको ‘ग्रिन सिग्नल’ कुर्दै प्रचण्ड–माधव पक्ष

काठमाडौँ । संसद् विघटन घोषणाविरुद्ध नेकपाको (प्रचण्ड माधव)पक्षले मङ्गलबार भृकुटीमण्डपमा गरेको विरोध सभाको अन्तिममा नेता योगेश भट्टराईले भनेका थिए, ‘भोलि पुस १५ गते बिहान १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उपत्यकामा उपलब्ध स्थायी समितिका कमरेडहरुलाई आन्दोलनको भावी कार्यक्रम घोषणाका लागि छलफलका गर्न उपस्थितिका लागि अनुरोध गर्दछु ।’
नेता भट्टराईले सोही क्रममा पुस १५ गते ३ बजे पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने जानकारी गराएका थिए ।
संसद् विघटनविरुद्ध मङ्गलबार देशभर विरोध सभा गरेको नेकपा माधव–प्रचण्ड पक्षको काठमाडौँमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड, माधव नेपाललगायतका नेताहरुले प्रधानमन्त्री ओलीको प्रतिगामी कदम नसच्चिएसम्म आन्दोलन नरोकिने दाबी गरेका थिए ।
सम्बोधनको अन्तिमतिर अध्यक्ष प्रचण्डले संसद् विघटन गर्ने कदम सच्चिएन भने शान्ति, संविधान र देश नै धरापमा जाने भएकाले सबै राजनीतिक दलहरुले यसका विरुद्ध आन्दोलन गर्नुपर्ने बताएका थिए ।
प्रचण्डले भनेका थिए, ‘सबै राजनीतिक दलहरुको जिम्मेवारी एक ढिक्का भएर यो असंवैधानिक, अलोकतान्त्रिक निरङ्कुश र प्रतिगमनकारी कदम सच्याउने नै हामी सबैको, आम जनताको र नेपाल राष्ट्रको भाग्य भविष्य सुनिश्चितताको आधार हो । त्यसकारण उहाँहरुसँग हातेमालो गर्न सहकार्य गर्न र यसलाई सच्याएर मिलेर जान अपिल गर्दछु ।’ प्रचण्डले एकाध महिना आन्दोलन गरेपछि प्रतिगमन सच्चिने आफूलाई आत्मविश्वास रहेको समेत बताएका थिए ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते संसद् विघटन गरेपछि नेकपाको माधव–प्रचण्ड पक्षसहित जनता समाजवादी, नेपाली काँग्रेस, नागरिक समाजलगायतले विरोध गरिरहेका छन् । सो क्रममा प्रचण्ड–माधव समूहले पुस १४ गते पहिलो चरणको कार्यक्रम समापन गरेर १५ गते दोस्रो चरणको सशक्त कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको थियो । तर बुधबार प्रचण्ड समूहले संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणाको कार्यक्रम अन्तिम समयमा पुगेर स्थगित गर्यो ।
बैठक र पत्रकार सम्मेलनका लागि नेताहरु पार्टी कार्यालय पेरिसडाँडामा पुगे पनि न त बैठक नै बस्यो, न पत्रकार सम्मेलन नै भयो ।
बरु अपरान्ह चार बजेतिर नेकपा सङ्घर्ष समितिका सचिव डा. विजय पौडेलको नामबाट एउटा विज्ञप्ति जारी भयो र भनियो, ‘हिजो पुस १४ गते हाम्रो पार्टीको आयोजनामा गरिएको विरोध प्रदर्शन देशव्यापी रूपमा जनसमुदायको व्यापक सहभागितासहित भव्य रूपमा सम्पन्न भएको छ । सब्ै राजनीतिक पार्टीसँग संवाद र समन्वय गर्दै पार्टीका तर्फबाट सशक्त केन्द्रीकृत कार्यक्रमहरु छिट्टै सार्वजनिक गरिनेछ । आज अपरान्ह ३ बजेका लागि गरिएको पत्रकार सम्मेलन स्थगित गरिएको छ ।’
यो विज्ञप्तिका अनुसार संसद् विघटनको विरोधमा रहेको नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दलहरुसँग छलफल गर्नुपर्ने भएकाले तत्काल कार्यक्रम सार्वजनिक सम्भव नभएको हो । तर कहिलेसम्म सबै राजनीतिक पार्टीसँग संवाद गर्ने र अरू पार्टीहरु संवादमा नआए के गर्ने भन्ने विज्ञप्तिमा खुलाइएको छैन ।
नेताहरुले एकीकृत आन्दोलनका लागि दलहरुसँग संवादको प्रक्रिया जारी रहेको बताएका छन् ।
‘हामी सकेसम्म संयुक्त सङ्घर्ष समिति बनाएर जाऊँ भन्नेमा पुगेका छौँ’, सङ्घर्ष समितिका सचिव डा. पौडेलले रातोपाटीसँग भने, ‘त्यो भएन भने हामी अघि बढ्ने त छँदैछ । तर सकेसम्म यो लोकतन्त्रमाथिकै प्रहार हो भन्ने निष्कर्ष निकालेर यदि अदालतले यो घोषणा अवैधानिक भनेर खारेज गरेन भने संविधन सकिन्छ ।’
पौडेलले संयुक्त सङ्घर्ष गर्न काँग्रेस र जनता समाजवादी पार्टीलगायतसँग कुरा भइरहेको पनि बताए । तर नेकपा उच्च स्रोतका अनुसार संयुक्त सङ्घर्ष समिति बनाएर अघि बढ्न जसपा लगभग तयार भए पनि काँग्रेसले ग्रिन सिग्नल दिएको छैन । ‘जसपा तयार जस्तै छ । काँग्रेसले ग्रिन सिग्नल दिएको छैन । त्यसकारण एक दुई दिन वार्ताका लागि पहल गर्ने बढीमा एक हप्ता काँग्रेसलाई कुन सकिन्छ’, स्रोतको दाबी छ ।
संसद् विघटनलाई असंवैधानिक भनेको काँग्रेस अहिलेसम्म आफैँमा अस्पष्ट छ । आन्दोलन वा चुनावमा जाने भन्नेमा एकमत छैन । पार्टी सभापति शेरबहादुर देउवा पक्षको भित्री चाहाना चुनावमा जानुपर्ने देखिएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षआन्दोलनका लागि जोड गरिरहेको छ ।
आन्दोलन नै गर्नुपरे काँग्रेस छुट्टैले किन नगर्ने भन्ने मत पनि काँग्रेसमा उठेको छ ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि तत्काल काँग्रेस संयुक्त सङ्घर्षमा जाने सम्भावना देख्दैनन् । ‘अहिले तत्काल संयुक्त सङ्घर्षमा काँग्रेस जाने देखेको छैन । किनभने संयुक्त सङ्घर्षको मानसिकतामा हाम्रो पार्टीको नेतृत्व तयार देखिँदैन । तर प्रतिनिधि सभा पुनस्र्थापना हुन नसक्ने र चुनाव पनि हुन नसक्ने भयो भने भिषण सङ्घर्ष हुन्छ’, पौडेलले रातोपाटीसँग भने ।
काँग्रेस नेता बालकृष्ण खाँण प्रधानमन्त्रीले संविधानको जुन धारा कोण गरेर संसद् भङ्ग गरेको हो त्यो संविधान विपरीत भएकाले काँग्रेसले त्यसलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको बताउँछन् । नेता खाँण ओलीको कदमविरुद्ध काँग्रेसले विरोध गरिरहेको भन्दै आगामी दिनमा थप कार्यक्रम गर्दै जाने बताउँछन् ।
‘प्रारम्भिक चरणमा सबैले आआफ्नै ढङ्गले आन्दोलन गरिरहेका छौँ । नेपालमा जहिले पनि प्रारम्भवमा आफ्नो सङ्गठनलाई पुनर्जागरण गर्न आफूआफू र पछि संयुक्त आन्दोलन गर्ने गरिएको छ । यस पटक पनि सोहीअनुसार अघि बढ्नुपर्नेमा दुई मत नहोला’, नेता खाँणको भनाइ छ । तर काँग्रेस ओलीको असंवैधानिक कदम रोक्न विरोध गर्दा काँग्रेस कसरी अघि बढ्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउनुलाई अस्वाभाविक भन्न नमिल्ने बताउँछन् ।
जनता समाजवादी पार्टी (जसपा)ले पनि एकल रूपमा आन्दोलनको घोषणा गरिसकेको छ । जसपाका नेता लक्ष्मणलाल कर्ण संयुक्त आन्दोलनमा जानेबारे ठोस छलफल भई नसकेको बताउँछन् । उनी आफ्नो पार्टीले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिसकेकाले संयुक्त आन्दोलनमा जाने नजाने छलफलको विषय बन्न सक्ने धारणा राख्छन् । ‘हामीले पुस २५ देखि दोस्रो चरणको कार्यक्रम घोषणा गरेका छौँ, अब कुराकानी हुन्छ भने अगाडि बढौँला’, कर्णको भनाइ छ ।
उनले संयुक्त आन्दोलनका लागि ठोस प्रस्ताव आए छलफल गरेर टुङ्गोमा पुग्न सकिने बताए । ‘त्यो छलफलको विषय हो । संयुक्त आन्दोलनका लागि केही न केही सहमति हुनुपर्छ । आन्दोलनको स्वरूप हुनुपर्छ, अन्त्य कहाँ गएर गर्ने भन्ने पनि सहमति गर्न जरुरी छ’, कर्णको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलिब्रिज भाँचिदा ६ कामदार घाइते, चारको अवस्था गम्भीर
-
व्यक्तिगत भिडियो सार्वजनिक गर्छु भन्दै पैसा माग्ने दुई जना पक्राउ
-
११ बुँदे घोषणापत्र जारी गर्दै प्रहरी र सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न
-
अमेरिका र युके पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी
-
इजरायली आक्रमणपछि अमेरिकासँगको आणविक वार्ता ‘अर्थहीन’ : इरान
-
आईसीसीद्वारा दुई बलसम्बन्धी नियम र कन्कसन प्रोटोकल परिवर्तन