आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

आईसीसीद्वारा दुई बलसम्बन्धी नियम र कन्कसन प्रोटोकल परिवर्तन

शनिबार, ३१ जेठ २०८२, २१ : १०
शनिबार, ३१ जेठ २०८२

समाचार सारांश

  • आईसीसीले एकदिवसीय खेलमा दुई बल प्रयोगसम्बन्धी नियम परिवर्तन गरेको छ, जसअनुसार ३४ ओभरसम्म दुई र त्यसपछि एउटा बल प्रयोग हुनेछ।
  • कन्कसन सब्स्टिच्युटसम्बन्धी नयाँ प्रोटोकलमा पाँच भूमिकाका खेलाडीको सूची बनाउनुपर्ने र प्रतिस्थापन खेलाडीलाई पनि चोट लागेमा म्याच रेफ्रीले खेलाडी छनोट गर्न सक्ने व्यवस्था छ।
  • एमसीसीले बाउन्ड्री बाहिरबाट बल समात्ने ‘बन्नी हप’ प्रविधिलाई अमान्य गर्दै क्याचसम्बन्धी नियम परिवर्तन गरेको छ, र यी नियमहरू जुन १७ देखि लागू हुनेछन्।

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष अन्तर्राष्ट्रिय क्रिकेटका लागि एकदिवसीय खेलमा दुई बल प्रयोगसम्बन्धी नियममा परिवर्तन गर्नुका साथै  कन्कसन सब्स्टिच्युट (चोटका कारण खेलाडी परिवर्तन) सम्बन्धी नयाँ प्रोटोकललाई स्वीकृति दिएको छ। यी नियमहरू आईसीसीको पुरुष क्रिकेट समिति द्वारा सिफारिस गरिएको र प्रमुख कार्यकारी समितिले पारित गरेको हो।

हाल एकदिवसीय खेलमा प्रति इनिङ्स दुई नयाँ बल प्रयोग गरिन्छ, दुई छेउबाट एउटा। तर नयाँ नियम अनुसार अब एकदिवसीय खेलको सुरुवातदेखि ३४ औँ ओभरसम्म दुई नयाँ बल प्रयोग गरिनेछ। ३५ औँ ओभरदेखि ५० औँ ओभरसम्म भने बलिङ गर्ने टोलीले ती दुईमध्ये एउटा बल छान्नेछ र त्यसै बललाई दुवै छेउबाट प्रयोग गरिनेछ। आईसीसीका अनुसार यो नियम ‘ब्याट र बलबिचको सन्तुलन पुनर्स्थापना’ गर्ने उद्देश्यले गरिएको हो।

यदि पहिलो इनिङ्स सुरु हुनुअघि नै खेल २५ ओभर वा कममा झारिन्छ भने त्यस अवस्थामा एक मात्र नयाँ बल सम्पूर्ण इनिङ्समा प्रयोग गरिनेछ।

नयाँ कन्कसन सब्स्टिच्युट प्रोटोकल

नयाँ नियमअनुसार, खेल सुरु हुनु अघि टिमहरूले पाँच भूमिका अनुसार सब्स्टिच्युट खेलाडीहरू नाम दिनुपर्नेछ, जुन यस प्रकार छ :
–एक विकेटकिपर
–एक ब्याटर
–एक सीम बलर
–एक स्पिन बलर
–एक अलराउन्डर
यसबाट भविष्यमा विवादास्पद निर्णयहरूबाट बच्न सकिने अनुमान गरिएको छ। उदाहरणका लागि, सन् २०२५ को जनवरीमा भारतले इङ्ल्यान्डविरुद्ध चौथो टी२० अन्तर्राष्ट्रियमा ब्याटिङ अलराउन्डर शिवम दुबेको सट्टा बलिङ अलराउन्डर हर्षित रानालाई कन्कसन सब्स्टिच्युटको रूपमा ल्याएको थियो। उनले खेलमा ३ विकेट लिए पछि यो निर्णय निकै बहसको विषय बनेको थियो।

यदि प्रतिस्थापन गरिएको खेलाडीलाई पनि कन्कसन हुन्छ भने, त्यस अवस्थामा म्याच रेफ्रीले पाँच जनाको सूची बाहिरबाट पनि ‘जस्ताको त्यस्तै’ नियम अनुसार खेलाडी चयन गर्न सक्नेछन्।

क्याचसम्बन्धी नयाँ नियम

एमसीसीले ‘बन्नी हप’ प्रविधिबाट बाउन्ड्रीको बाहिरबाट गरिएको क्याचलाई अमान्य ठहर गर्दै नियम परिवर्तन गरेको छ। यसअनुसार, अब खेलाडीले सीमा रेखा पार गरी हावामा उफ्रेर बललाई फ्याँक्ने वा समात्ने शैलीलाई अनुमति दिइने छैन।

यी सबै नयाँ नियमहरू क्रमशः टेस्ट, एकदिवसीय र टी–२० मा आगामी जुन १७, जुलाई २ र जुलाई १० देखि लागू हुनेछन्।

ICC CWC League 2, 2023-27 ICC CWC League 2, 2023-27

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप