शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नागरिक अगुवाहरुको एउटै स्वरः ‘प्रधानमन्त्री ओलीले खेलाँचीको रुपमा संविधान प्रयोग गर्न पाउँदैनन्’

मङ्गलबार, २८ पुस २०७७, १९ : ०१
मङ्गलबार, २८ पुस २०७७

काठमाडौं । काठमाडौंमा नागरिक अगुवाहरुले प्रधानमन्त्री केपी शर्माओलीले असंवैधानिक रुपमा गरेको प्रतिनिधिसभा विघटनको विरोध गरेका छन् ।  नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानमन्त्री ओलीले संविधानलाई खेलाँचीको रुपमा प्रयोग गर्न नपाउने बताए । मंगलबार प्रतिगमन विरुद्ध नागरिक आन्दोलनले काठमाडौंको कमलादीस्थित प्रज्ञा भवन डबलीमा गरेको विरोध कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले आफूखुसी प्रतिनिधिसभा विघटन गर्न नपाउने उल्लेख गरे । 

उनले प्रतिनिधिसभा विघटनको अवस्थामा मात्र नभएर जनताका समस्या समाधानका लागि निरन्तर रुपमा नागरिक आन्दोलनलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।  उनले संविधानअनुसार प्रतिनिधिसभा भंग हुन नसक्ने भन्दै प्रधानमन्त्रीले चालेको कदम गैरसंवैधानिक रहेको उल्लेख गरे । उनले संविधानको धारा ७६ अनुसार बाहेक अन्य अवस्थामा प्रतिनिनधिसभा विघटन हुन नसक्ने बताए । प्रधानमन्त्री धारा ७६ को ५ मा भएको व्यवस्थाअनुसार प्रधानमन्त्री भएको र विश्वासको मत नलिएको बताए । 

उनले आफूलाई दुई तिहाई सांसदको समर्थन रहेको दावी गर्दै गैरसंवैधानिक रुपमा संसद विघटन गर्ने उल्लेख गरे । संविधानको धारा ८५ मा ५ वर्षमा मात्र चुनाव गर्नुपर्ने व्यवस्था रहेको भन्दै मन्त्रिपरिषद गठन हुन नसकेको अवस्थामा मात्रै प्रतिनिधिसभा विघटन हुुने र त्यस्तो अवस्थामा मात्रै निर्वाचनको घोषणा गर्न सकिने बताए ।

उनले भने– ‘संविधानवादमाथि प्रहार भएको छ । प्रतिनिधिसभाले प्रधानमन्त्री बनाउने व्यवस्था छ । उहाँ अब प्रतिनिधिसभा नै छैन भन्नुहुन्छ भने कसरी आफूलाई प्रधानमन्त्री भनिरहनुभएको छ ? प्रतिनिधिसभा नरहेको अवस्थामा उहाँ पनि प्रधानमन्त्री रहन सक्नुहुन्न् ।’ 

उनले अलिखित संविधान भएको बेलायतमा पनि प्रधानमन्त्रीले आफूखुसी संसद भंग गर्न नसक्ने गरी सन् २०११ मा कानुन ल्याइसकेकोे बताए । उनले नेपालमा अहिलेको संविधानमा स्पष्ट व्यवस्था हुँदा हुँदै पनि पहिलेको संविधानको आधारमा संसद विघटन गरेको हो भनेर उनले प्रश्न गरे । 

उनले अहिले प्रतिनिधिसभा विघटनको पक्षमा संघीयता, गणतन्त्र नचाहनेहरु रमाइरहेको टिप्पणी गरे । उनले भने– ‘अहिले प्रतिनिधिसभा विघटनको खुसीमा को लागेको छ भन्दा संघीयता नचाहनेहरु रमाइरहेका छन् । जसले लोकतन्त्र चाहेको छैन, जसले धर्मनिरपेक्षता चाहेको छैन । जनताबाट पतित भइसकेका व्यक्तिहरु, राजावादीहरु अहिले प्रधानमन्त्रीको समर्थनमा लागेको देखिन्छ । जो आन्दोलनमा लागेका छन्,संविधानसभाको माग गर्नेहरु अहिले प्रतिनिधिसभा विघटनको विरोधमा छन् ।’

अध्यक्ष श्रेष्ठले पार्टीभित्र काम दिइएन भन्दै प्रतिनिधिसभा विघटन गर्नु अनैतिक काम भएको उल्लेख गर्दै घरझगडा भयो भने झगडा मिलाउने कि घरमै आगो लगाउने भन्दै प्रश्न गरे । उनले सरकारले गरेको प्रतिगमनविरुद्ध निरन्तर खबरदारी गर्न पनि आग्रह गरे । 

विरोध सभामा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिलिप थापामगरले नेपाल पत्रकार महासंघको स्थापना नै प्रतिगमन विरुद्ध लड्नका लागि स्थापना भएको उल्लेख गरे । उनले २००७ सालमा राणा शासन अन्त्य गर्न लडेका पत्रकारहरुले २००८ सालमा पत्रकार महासंघ स्थापना गरेको उल्लेख गर्दै २०६२ ६३ को आन्दोलनमा लागेका पत्रकारको ढाडमा हानेको लठ्ठीको सुम्लो अझै निको नभएको उल्लेख गरे ।

उनले जनआन्दोलनका बेला सडकमा शाही सेनाको कफ्र्यू तोडेर पत्रकारले राजनीतिक दललाई सहयोग गरेको बताए । उनले अब पत्रकारले आन्दोलन गर्नुपर्दैैन भन्ने लागे पनि फेरि आन्दोलनमा उत्रिनुपर्ने बेला आएको बताए । उनले जब–जब नागरिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता हनन् हुन्छ, जनताका पक्षमा हुने आन्दोलन र प्रतिगमनका बेला नेपाल पत्रकार महासंघ नागरिकसँग सहकार्य गर्दै आन्दोलनमा होमिने उल्लेख गरे ।  

विरोध कार्यक्रममा नागरिक समाजका प्रतिनिधि मुक्तिसिंह तामाङले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको कदम प्रतिगामी मात्र नभई संविधान विरोधी काम भएको टिप्पणी गरे । उनले लामो संघर्षबाट प्राप्त भएको गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेसी, समानुपातिक जस्ता उपलब्धी गुम्ने खतरा रहेको औंल्याए । 

कार्यक्रममा वरिष्ठ पत्रकार नारायण वाग्लेले राज्यले नागरिक अधिकार हनन् गरेका बेला प्रेस जनतासँगै हुने र जनताको आवाज उठाउने आन्दोलनमा सहभागी हुने बताए ।  सडक विस्तार विरोधी अभियन्ता विद्या श्रेष्ठले सरकारले सडक विस्तारका नाममा सडक छेउ रहेका घर भत्काउँदा नागरिक समाज किन चुप लागेको भने प्रश्न गरिन् । यस्तै सिएन थारुले पनि कैलालीमा अधिकार मागिरहेका थारुमाथि दमन हुँदा नागरिक समाज कहाँ सुतिहेको थियो भन्दै प्रश्न गरे । 

विरोधसभामा धिमे बाजाका साथमा युवतीहरुको समूहले कलात्मक रुपमा विरोध प्रस्तुति राखेका थिए भने नाट्य निर्देशक घिमिरे युवराजको निर्देशनमा कविता नाटक मञ्चन गरिएको थियो । यस्तै बरिष्ठ कवि दुर्गालाल श्रेष्ठले भिडियोमार्फत कविता बाचन गरेका थिए भने नागरिक अगुवा देवेन्द्रराज पाण्डेले भिडियो सन्देश मार्फत असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनको विरोध गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप