शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा मोटरसाइकल चोरीमा संग्लन गिरोहका ७ जना पक्राउ

बुधबार, ०५ फागुन २०७७, १५ : २०
बुधबार, ०५ फागुन २०७७

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले मोटरसाइकल चोरीमा संग्लन गिरोहका ७ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।  परिसरका सूचना अधिकारी डीएसपी दिपक गिरीका अनुसार ओखलंढुगा जिल्ला प्रहरीसँग समन्वय गरेर मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरिएको छ । 

पक्राउ पर्नेमा ओखलढुंगा लिखु गाउँपालिका–९ बस्ने वर्ष २२ का कुलबहादुर तामाङ, खिजी देम्बा गाउँपालिका–२ बस्ने वर्ष २८ कोपञ्चमान तामाङ र लिखु गाउँपालिका–९ बस्ने वर्ष २४ को गोविन्द गौतम रहेका छन् । उनीहरुले सुर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने किसन थापाले आफ्नै घर कम्पाउण्डमा राखेको प्रदेश नं ३–०२–०१० प ७१४१ नम्बरको मोटरसाइकल चोरी गरेको प्रहरीले जानकारी दिएको छ । 

त्यसैगरी सोही समूहले बाराही स्थानको उकालो बाटोस्थित गणेश स्कुल नजिक डेरा गरी बस्ने पेम्बा तामाङले डेरा कोठा अगाडिबाट प्रदेश २–०२० प ८८२७ नं. चोरी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।  फागुन ४ गते भक्तपुर नगरपालिका–७ स्थित आदर्शचोकमा चेकजाँचको क्रममा बा. ९८ प. ८९६४ नं. हरि गोविन्द शिल्पकारको नाममा रहेको मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

‘दोलखा शैलुङ गाउँपालिका–४ घर भई हाल ललितपुर धोबिघाट बस्ने वर्ष २७ का अभिषेक योञ्जन र शैलुङ गाउँपालिका–६ घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक बस्ने वर्ष १९ का सुमन नेपालीलाई पक्राउ गरिएको छ,’ डीएसपी गिरीले भने । 

४ गतेनै मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ स्थित अरनिको राजमार्गमा प्रदेश ३–०२–०१७ प. ७०४८ नं. को २२० सि.सि.को कुमार श्रेष्ठको नाममा रहेको मोटरसाइकल चोरी गरेर लादै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

प्रहरी निरिक्षक सुदन केसीको कमाण्डको प्रहरी टोलीले दोलखा शैलुङ गाउँपालिका–२ घर भई सूर्यविनायकमा बस्ने वर्ष २३ का फुर्वा तामाङ र उसको साथी वर्ष २१ का राजु तामाङलाई पक्राउ गरेको हो ।  उल्लेखित चारवटै मोटरसाइकलहरु जिल्लाका भिन्न भिन्न स्थान र समयमा माथि उल्लेखित अभियुक्तहरुले चोरी गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको डीएसपी गिरीले बताए ।  सम्बन्धित मोटरसाइकल धनीहरु समेतबाट किटानी जाहेरी दरखास्त प्राप्त हुन आएको हुँदा कानून बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप