शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धार्मिक कार्यमा राजनीति नगर्न मन्त्री ढकालको सुझाव

आइतबार, ०१ चैत २०७७, १९ : २२
आइतबार, ०१ चैत २०७७

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले धार्मिक एवं पवित्र कार्यमा राजनीति नगर्न सुझाव दिएका छन् । हनुमानढोका दरबार संग्रहालय विकास समितिको १० औ वार्षिकोत्सवको अवसरमा आइतबार दरबार परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले राजनीतिक रुपमा गर्नुपर्ने आलोचना टिप्पणी विरोध राजनीतिक ढंगले नै गर्न र अनावश्यक रुपमा धार्मिक एवम् पवित्र कार्यमा राजनीति नगर्न सुझाव दिएका हुन् ।

पशुपतिमा सरकारले राखेको जलहरी र संग्राहलयले गरेको गहना प्रदर्शनीको विरोध गर्नेहरूप्रति लक्षित गर्दै उनले धार्मिक एवं पवित्र कार्यलाई सकारात्मक ढंगले सोच्न आग्रह गरेका हुन् । उनले पशुपतिमा जलहरी राख्ने काम तिव्र ढंगले सम्पन्न भएको र सो कार्यमा सरकार सफल भएको दाबी गरे । उनले जलहरी राखिसकेपछि सर्वोच्च अदालतबाट फैसला आएकोमा पनि खुसी व्यक्त गरे ।

उनले भने– ‘पशुपतिमा हामीले सुनको जलहरी लगाउने निर्णय गर्यौ । परापूर्वकालमा निर्माण भएको बेला त्यो तामाको रहेछ ।  शाहीकालमा आइसकेपछि त्यसलाई चाँदीको लगाउनुभएको रहेछ । त्यो चाँदीमा पनि अहिले थोरै सिपेज​ भएर अहिले पशुपतिको मन्दिरमा जुन जल चढाइन्छ त्यो जल निस्केर जहाँ जानुपर्ने हो त्यो त्यहाँबाट तल जाँदा पशुपतिको मन्दिर नै धरासायी हुने अवस्था भएपछि तामाको थियो, चाँदीको राखियो अब सुनकै राखिदिऊँ भनेर हामीले महाशिवरात्रिको दिनसम्म पारेर सुनको जलहरी लगाइसक्ने भनेर लाग्यौ । मुद्दा मामिला गर्नेहरुले पनि साईतै हेर्नुभएको रहेछ । तर हामीले काम यति युद्धस्तरमा गर्यौ । प्रधानमन्त्री ज्यू अघिल्लो महिनाको १२ गते जानुभएको थियो । हामीले महाशिवरात्रिको सन्ध्यामा यो काम सक्छौ भनेका थियौ । तर अर्को महिनाको १२ गते हामीले सम्माननीय राष्ट्रपति ज्यूलाई लगेर सुनको जलहरी लगाएको ठाउँमा पुजा अर्चना साढे ११ बजेबाट गरेर २ बजे हामीले पूजा सक्यौ । सम्मानित अदालतले ३ बजे त्यो जलहरी जस्तो अवस्थामा छ अब नगर्नु/नगराउनु भनेर आदेश जारी गर्यो । मलाई खुसी लागेको छ किनभने जलहरी लगाइसकियो अब नगर्ने÷नगराउनु भनिसकेपछि अनेक वहाना बनाएर त्यहाँबाट सुन झिक्न कसैले पाएन । तर २८ गते तिरको शुभसाईत हामीले हेरेका थियौ भने निर्माण नहुन पनि वा राख्न नपाउने स्थिति पनि हुन्थ्यो होला ।”

उनले आलोचना गर्ने मित्रहरु निशुल्क गुरुहरू भएको भन्दै व्यंग्य गरे । आलोचना गर्नेहरुलाई उनले ‘पैसा नतिरीकन शिक्षा प्राप्त गर्ने गुरु’ को संज्ञा दिए । संसद विघटन गरेर ताजा जनादेशमा जाँदा आफुहरुलाई प्रतिगमनकारीहरु भन्नेहरुले नै संसद सुरु भएपछि बहालवाला सांसदको निधनमा श्रद्धाञ्जली दिन पनि नदिएर नारा जुलुस गरेको आरोप लगाए । उनले संसद विघटनपछि होटलहरूमा बास पाउन छोडेका सांसदहरु अहिले सांसदहरु कै रेखदेखमा होटलहरूमा बसेको दाबी गरे ।

उनले भने– “बहालवाला सांसद मरेकोमा श्रद्धाञ्जली दिनका लागि पनि नाराजुलुश र तमासा, बैठक बहिष्कार गरेर श्रद्धाञ्जली दिन पनि ३ दिनपछिको बैठक कुर्नुपर्यो । अग्रगमन यही हो ? तपाईहरुले सुन्नुभएको होला कतिपय माननीयहरु यो बीचमा होटलहरूमा बास पाउन छोड्नुभएको थियो । अहिले संसद पुनःस्थापना भएपछि होटलहरूमा माननीयहरु माननीयहरुको रेखदेखमा बस्न थाल्नुभएको छ भन्ने सुनेको छु । अग्रगमन यस्तै यस्तै कुरा हो भने यो अग्रगमनले हामीलाई हिजोकै ठाउँमा पुर्याउने हो कि ? ”

गहना प्रदर्शनीमा राखिएका गरगहनाको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएकोमा खुसी व्यक्त गर्दै उनले सुरक्षाका बारेमा अविश्वासका टिकाटिप्पणी नगर्न सुझाव दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप