सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षण अस्पताल : कोरोनाका बिरामीलाई बेड छैन, बेञ्चमै उपचार !

मङ्गलबार, १४ वैशाख २०७८, १९ : ०८
मङ्गलबार, १४ वैशाख २०७८

त्रिवि शिक्षण अस्पताल महाराजगन्जको गणेशमान स्मृति भवनको ठीक अगाडि रहेको मंगलादेवी बर्थिङ्ग सेन्टरमा मंगलबार देखिएको दृश्य कारुणिक छ । कोरोना संक्रमण फैलिएयता सो बर्थिङ्ग सेन्टरको भवनलाई कोभिड वार्डका रुपमा विकास गरिएको छ । तर, यहाँ राखिएको सूचनाले भने सबैलाई झस्काउँछ ।

मंगलबार दिउँसो ३ बजे सोही भवनको प्रवेशद्वारभित्र मुखमा अक्सिजन मास्क लगाएका एक ब्यक्ति बेन्चमा बसिरहेका थिए । उनका आफन्त वा कुरुवा वरिपरि कतै देखिँदैनथे । बोल्न नसक्ने अवस्थामा रहेका उनलाई राख्ने बेड खाली नभएपछि बेन्चमै बसाएर अक्सिजनको माक्स लगाएर राखिएको थियो ।

उनीसँगै कोरोना संक्रमण भएका अन्य केही बिरामीहरु बेडको प्रतिक्षा गर्दै कोभिड वार्डको वरिपरि बसिरहेका थिए । अस्पतालका कर्मचारी केही खाली बेडहरु बाहिरबाट भित्र सारिरहेका पनि थिए । तर, भित्र बेड राख्ने ठाउँ साँघुरो भइसकेको एक कर्मचारीले जानकारी दिइन् ।

केही बिरामीहरुलाई गेटबाट प्रवेश गर्नेबित्तिकै दायाँ–बायाँ प्यासेजमै बेड राखेर अक्सिजनको मास्क लगाई उपचार थालिएको थियो । कोभिड वार्ड प्रवेश गर्ने मूल गेटमै ‘कोरोना बिरामीका लागि बेड खाली नभएको जानकारी गराउँछौँ, धन्यवाद’ लेखिएको सूचना टाँसिएको थियो । यो सूचना हेर्दै धेरै बिरामीहरु उपचार नगराई घर फर्किने गरेको अन्य बिरामीका कुरुवाहरूले बताए ।

बेडको प्रतिक्षामा रहेका बिरामीमध्ये एक थिइन् काठमाडौंको महाराजगन्जकी ६९ बर्षीया रमा (नाम परिवर्तन) ।  प्रहरी अस्पतालमा उपचारका क्रममा कोरोना पोजिटिभ देखिएपछि सो अस्पतालमा उपचारका लागि बेड नभएकाले उनलाई त्रिवि शिक्षण अस्पताल पठाइएको रहेछ ।

नातिनीसँग आएकी उनको शिक्षण अस्पतालका कर्मचारीसँग चिनजान भएका कारण छिट्टै भर्ना त गरिएको थियो । तर, बेड अभावका कारण भर्ना भएको ३ घण्टासम्म पनि उनी बेन्चमै बसिरहेकी थिइन् । उनको हेरचाह गर्न आएकी नातिनीले भनिन्, ‘यहाँ हाम्रो चिनेको मान्छे भएकाले भर्ना गर्न त गाह्रो भएन तर अहिलेसम्म बेड पाइएको छैन । अहिले साँझ ५ बजेबाट पाइन्छ भनेका छन्, त्यसैले कुरेर बसेका छौँ ।’

रमालाई कोरोनाका साथै शरीरमा रगतको कमी भएको उनकी नातिनीले बताइन् । शरीरमा रगतको कमी भएका कारण ९० पाउन्डसम्म रगत चाहिन सक्ने भनेर डाक्टरले बताएको उनले सुनाइन् ।

रमालाई २ दिन पहिले कोरोना पोजिटिभ देखिएको थियो । घरमै राखेर उपचार गर्न खोजे पनि शरीरमा रगतको धेरै नै कमी देखिएकाले डाक्टरको सल्लाह अनुसार अस्पतालमा भर्ना भएर उपचार गर्न लागेको उनले सुनाइन् ।

बुवालाई कोरोना पोजिटिभ भएपछि ६ दिनदेखि उपचार गराइरहेका दिनेश (नाम परिवर्तन) ले शिक्षण अस्पतालमा उपचारको व्यवस्थापन चित्त नबुझेको रातोपाटीलाई बताए । बिरामीका लागि आफैंले खाना लगेर खुवाउनुपर्ने, हेरचाह, बाथरुम बिरामीका आफन्तले लैजानुपर्ने, बिरामी भर्ना गरेको वार्डमा जसलाई पनि जान दिने गर्दा संक्रमण झन् फैलिने भन्दै उनको चिन्ता थियो ।

पूरै अस्पताल नै कोभिड अस्पताल बन्न सक्छ : शिक्षण अस्पताल

त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले हिजो अस्ति बेड खाली रहे पनि आजबाट बेडको संख्या थप गरेको जानकारी दिए । कोरोनाका बिरामीलाई बेड उपलब्ध गराउन अन्य रोगको उपचार गराइरहेका बेड जति खाली हुँदै जान्छ, त्यसलाई कोभिड बेडमा रुपान्तर गर्दै जाने डा. दासले रातोपाटीलाई जानकारी दिए ।

उनले भने, ‘३ हप्ता अगाडि ९ बेडमा रहेका हामीले अहिले १ सय २७ बेड पु¥याएका छौँ । अहिले कोभिडको बिरामी बढिरहेको छ । अन्य रोगको उपचारमा भर्ना भएका बिरामी जति डिस्चार्ज हुँदै जान्छन्, त्यति बेड हामी कोरोनाका बिरामीलाई दिँदै जान्छौँ ।’

उनले आइसीयुमा राख्नुपर्ने बिरामी फर्कनुपर्ने अवस्था नरहेको उल्लेख गरे । उनले भने, ‘हिजोसम्म फर्किनुपरेको अवस्था थियो । आजसम्म ३० बेड तयार पारेको थियौँ । त्यसमा पनि २० जना बिरामी भर्ना भइसकेका छन् ।’

अस्पतालमा अहिले ११७ जना भर्ना भएकामा सबैको अवस्था अक्सिजन दिनुपर्ने गम्भीर प्रकृतिको रहेको डा.दासले जानकारी दिए । अक्सिजन नचाहिने अवस्थाको कोरोना संक्रमितलाई अस्पतालमा भर्ना नगरिने उनले बताए ।

बितेको एक सातादेखि अस्पतालमा उपचारका लागि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । कोरोना संक्रमितको संख्या बढे अनुसार अस्पतालले बेड संख्या बिस्तार गर्र्दै जाने आवश्यकताअनुसार पूरै अस्पताल नै कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्न सकिने उनले बताए । उनले भने, ‘नेपालगञ्जको जस्तै स्थिति आयो भने साधारण उपचार, ओपीडी सबै बन्द गरेर कोभिडको मात्र उपचार गर्नुपर्ने अवस्था आउन सक्छ । तर, अहिलेसम्म त्यस्तो अवस्था आइसकेको छैन ।’

मंगलबार काठमाडौं उपत्यकामा मात्रै स्वास्थ्य परीक्षणमा सहभागीबाट झन्डै २ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने देशभरि ४ हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा कोरोना संक्रमणको ग्राफ बढ्न थालेसँगै अस्पतालहरुमा उपचारका लागि बेड अभाव हुन थालेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप