सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

आमाको शव नजिकै भोकले छट्पटाइन् बालिका, छिमेकीले छुन पनि मानेनन्

शनिबार, १८ वैशाख २०७८, २२ : १५
शनिबार, १८ वैशाख २०७८

एजेन्सी । भारतमा कोरोना संक्रमित र मृतकको संख्या दिनहुँ बढ्दो छ । अभाव र त्रासको यस घडीमा धेरै व्यक्तिहरु मानविय सेवामा दिनरात तल्लीन छन् । तर, केही त्यस्ता घटना पनि  छन्, जहाँ मानवता हराएको छ ।  महाराष्ट्रको पिन्परी चिन्चवाडमा यस्तै दुःखद् घटना देखियो ।

यहाँ एक महिलाको मृत्युपछि उनकी एक वर्षकी छोरी भोक–प्यासले केही दिनसम्म छट्पट्टाइरहेकी थिइन् । छिमेकीहरूले यी बालिकालाई उद्धार गर्नु त टाढाको कुरा छुन पनि चाहेनन् ।  अन्त्यमा, शुक्रबार दुई जना महिला प्रहरीले ढोका फोडेर  बालिकाको उद्धार गरे । 

भाडाको फ्ल्याटमा बस्थे दम्पती 
घटना पिन्परी चिन्चवाडस्थित दिघी इलाकाको हो । उत्तर प्रदेश (युपी) स्थायी घर भएको एक दम्पती आफ्नी एक वर्षीया छोरीसँगै यहाँ एउटा फ्ल्याटमा भाडामा बस्थे । केही दिन पहिले कामले युपी गएका श्रीमान् बिरामी भएपछि उतै बसे ।
छोरीसँगै एक्लै कोठामा बसेकी महिला बिरामी भइन् । उनको निधन मंगलबार भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ, यसको दुई दिनसम्म कसैलाई पनि महिलाको अवस्थाबारे थाहा भएन । बिहीबार छिमेकमा शवको दुर्गन्ध फैलन थाल्यो । तर, कसैले मतलब राखेनन् । कोरोनाको डरका कारण कोही पनि घरभित्र छिर्न तयार भएनन् । 

शुक्रबार एक व्यक्तिले पुलिस स्टेशनमा फोन गरेर यस घटनाको जानकारी दिएपछि महिला प्रहरी अधिकृत सुशीला गाभले र रेखा बाजे घटनास्थल पुगे, ढोका फोडेर भित्र छिरेपछि उनीहरु स्तब्ध भए । एक वर्षकी शिशु शव नजिकै लडिरहेकी थिइन् र भोक–प्यासले तड्पिएकी थिइन् । यसपछि दुबै प्रहरीले बच्चालाई पुलिस स्टेशन लिएर गए र अस्पताल पठाए । 

सुशीला गाभलेका अनुसार बच्चाको हालत निकै गम्भिर थियो र केही घण्टा मात्रै ढिला भएको भएपनि दुःखद् घटना निम्तिने थियो ।  ‘हामीले बच्चालाई सबैभन्दा पहिले दुध र बिस्कुट खुवायौँ र डाक्टरको सल्लाहमा केही सिरप दियौँ । अहिले उनका पितालाई यसबारे जानकारी भइसकेको छ । उनी आइपुगेपछि हामी बच्चालाई उनको जिम्मा लगाउनेछौं’ गाभलेले भनिन् । 

दिघी पुलिस स्टेशनका वरिष्ठ निरीक्षक मोहन सिन्देका अनुसार बालकल्याण समितिको निर्देशनअनुसार यी शिशुलाई अहिले सरकारी चाइल्ड केयर होममा पठाइएको छ । बच्चाकी आमाको नाम सरस्वती राजेश कुमार हो, उनको उमेर २९ वर्षको थियो । प्रहरीले उनको मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ ।  सिन्देका अनुसार प्रहरीले शिशुको उद्धारका क्रममा महिलाका छिमेकीहरूसँग सहयोग मागेको थियो, तर उनीहरुले सहयोग गर्न अस्वीकार गरे । ‘कोरोनाको डरका कारण उनीहरुले शिशुलाई छुन पनि मानेनन्’ सिन्देले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप