सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा कोरोना संक्रमण : भरिए अस्पताल, सरकारी तयारी शून्य

शुक्रबार, २४ वैशाख २०७८, ०८ : ३२
शुक्रबार, २४ वैशाख २०७८

गण्डकी प्रदेशमा पछिल्लो समय कोभिड–१९ को संक्रमण तीव्र रुपमा वृद्धि भएको छ । प्रदेशका ११ जिल्लामध्ये कास्की ‘हटस्पट’का रुपमा देखापरेको छ । झण्डै दुई सातादेखि कास्कीको पोखरामा दैनिक सयौं संक्रमित थपिएका छन् । कास्कीका ग्रामीण भेगमा सामान्य प्रभाव देखिए पनि पोखरामा संक्रमण तीव्ररूपमा वृद्धि भएको छ ।

११ जिल्लामध्ये सबैभन्दा बढी संक्रमित कास्कीमा छन् । कास्कीमा ११ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । त्यसमध्ये २ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । पछिल्लो समय संक्रमित अधिकांश ब्यक्ति होम आइसोलेसनमै बसेका छन् । जटिल अवस्थाका संक्रमितबाहेक अन्यलाई अस्पतालमा बेडको ब्यवस्था नभएका कारण धेरै संक्रमितहरु घरमै जोखिम मोलेर बस्न बाध्य छन् । पछिल्लो समय संक्रमण वृद्धिसँगै जटिल अवस्थाका संक्रमितको संख्या पनि बढ्दै गएको छ । प्रदेशमा सीमित श्रोत र साधनको जोहो गरेर सञ्चालन गरिएका अस्पतालका बेडसमेत भरिएका छन् ।

गण्डकी प्रदेशमा जटिलखालका संक्रमितलाई उपचार गर्दै आएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सरुवा रोग तथा संक्रामक अस्पतालका सबै बेड भरिभराउ छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसन सञ्चालनमा आएको ५ दिनमै भरिएको छ ।

निजी क्षेत्रका डेढ दर्जनभन्दा बढी अस्पताल सञ्चालनमा रहे पनि आधादर्जन अस्पतालमा मात्र आइसियु सेवा छ । कोभिडका संक्रमितका लागि आवश्यक पर्ने आइसियु वार्ड भएका अस्पतालहरुले महँगो रकम असुल्ने गरेको बिरामीका आफन्तहरु बताउँछन् । अहिले चरक मेमोरियल अस्पताल, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज, मेडिप्लस अस्पताल लगायत निजी अस्पतालले संक्रमितको उपचार गरिरहेका छन् ।

करिब ५० सिट क्षमता भएको सरुवा रोग तथा संक्रामक अस्पतालमा अहिले ५५ जना संक्रमितको उपचार भईरहेको अस्पतालका कार्यकारी निर्देशक विकास गौचनले जानकारी दिए । संक्रमितको संख्यासँगै गम्भीर प्रकारको बिरामीको संख्या पनि बढेको उनले बताए । ५५ जना संक्रमितमध्ये ४० जनाको अवस्था जटिल रहेको उनको भनाइ छ ।

‘संक्रमणको दोस्रो लहर फैलिने दर उच्च रहेका कारण धेरैजना संक्रमित छन्,’ उनले भने, ‘एकै पटक धेरै संक्रमित भएको र अस्पतालमा स्रोत, साधन सीमित भएकाले धेरैजसो होम आइसोलेसनमा छन् । उनीहरु स्वास्थ्य अवस्था जटिल भएपछि मात्र अस्पताल भर्ना हुन आउने भएकाले धेरैजसो संक्रमित गम्भीर अवस्थाका छन् ।’

अस्पतालमा दैनिक ३०÷३५ वटा ठुला अक्सिजन सिलिन्डर खपत भईरहेको उनले बताए । ‘तर, अस्पतालमा अहिलेसम्म अक्सिजनको अभाव भएको छैन,’ डा.गौचनले भने, ‘अस्पतालमा तोकिएको सिट संख्याभन्दा बढी बिरामी भर्ना गरेर राखिएकाले अब भने कोरोनाको जटिल अवस्थाका बिरामी भर्ना गर्न सक्ने अवस्था छैन ।’

डा.गौचनका अनुसार बिरामीको उपचारमा ६ जना स्टाफ नर्स २४ घण्टा खटिँदै आएका छन् । थोरै जनशक्ति र स्रोतसाधनको परिचालन गरेर अस्पतालको नियमित सेवा सञ्चालन गर्दै आएको उनले बताए । दैनिक सेवा प्रवाहमा समस्या भएकाले थप केही स्वास्थ्यकर्मी र कर्मचारी करारमा माग गरेको उनले जानकारी दिए ।

गण्डकी प्रदेशकै सबैभन्दा ठुलो अस्पतालका रुपमा रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड उपचार केन्द्रसमेत भरिभराउ भएको छ । एक साता अघि पुरै खाली रहेको ४० बेडको आइसोलेसन अहिले भरिभराउ भएको छ ।

यहाँ १५ वैशाखदेखि संक्रमित राख्न सुरु गरिएको हो । सुरुमा ४० बेड भनिएकोमा बिरामी बढेपछि एक हप्तामै बेड संख्या ५० पु¥याइएको छ । त्यस वार्डमा कोरोनाका लक्षण भएका गम्भीर बिरामीलाई राख्ने गरी ५० बेडको बनाइएको हो । गम्भीर अवस्थाका बिरामीका लागि छुट्याइएको बेडमा ९ जना बिरामी भर्ना गरिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका अधिकांश बिरामीलाई अक्सिजन दिएर राखिएको छ । पछिल्लो समय आइसोलेसनमा भर्ना भएका बिरामीमा धेरैजसो अक्सिजन चाहिने खालका रहेको प्रतिष्ठानका कोभिड उपचार केन्द्रका फोकल पर्सन डा.शरदचन्द्र बरालले बताए ।

अधिकांशलाई अक्सिजन आवश्यक पर्ने भएकाले त्यसको व्यवस्थापनमा समेत कठिनाइ भएको उनले बताए । ‘प्रतिष्ठानमा अहिले दैनिक ६०÷६५ सिलिन्डरसम्म अक्सिजन खपत भइरहेको छ,’ उनले भने, ‘यसको नियमित व्यवस्थापनमा समेत कठिनाइ भइरहेको छ ।’ गण्डकी प्रदेशभन्दा बाहिरबाट समेत कोभिडका बिरामी अस्पतालमा आउने गरेको उनले बताए । डा.बरालले कोरोनाको पहिलो लहरमा अस्पताल भर्ना हुने अधिकांश संक्रमित दीर्घरोगी र ५० वर्ष उमेर माथिका भए पनि अहिले भने बच्चादेखि युवायुवतीसमेत संक्रमित भएको बताए ।

अस्पतालमा थप आइसोलेसन निर्माण र बेड व्यवस्थापन गनुपर्ने उनको भनाइ छ । ‘अहिलेको मुख्य चुनौती भनेकै कोभिडका बिरामीलाई सेवा दिनु हो,’ उनले भने, ‘सीमित स्रोत साधनको अधिकतम प्रयोग गरेर सेवा प्रवाह गर्नु अहिले हामी सवैको दायित्व हो ।’ प्रदेश सरकारले क्षेत्रीय अस्पतालमा कोरोना संक्रमितको उपचारलाई अझ प्रभावकारी बनाउन ६२ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । 

यस्तो छ गण्डकीमा संक्रमणको अवस्था

नयाँ वर्ष आगमनसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या उकालो लाग्न थालेको हो । पछिल्लो २२ दिनमा प्रदेशभर ३ हजार ४६१ जनामा कोरोना पोजिटिभ देखिएको छ । तीमध्ये तीन हजार ३१ जना सक्रिय संक्रमित छन् । 
सक्रिय संक्रमितमध्ये करिव २ हजार जना कास्कीका रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म प्रदेशमा २० हजार ४२७ जनामा संक्रमण पुष्टि भएकोमा १७ हजार १९५ जना निको भएका छन् । 

कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २४१ पुगेको छ । हालसम्म गण्डकी प्रदेशमा ३ हजार २०५ जना होम आइसोलेशनमा छन् । प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ४३२ छ । गण्डकीमा अहिलेसम्म १ लाख ५० हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ ।

त्यसमध्ये प्रदेशमा २० हजार ८२८ कोरोना संक्रमित भेटिएका छन् । त्यसैगरी अहिलेसम्म प्रदेशमा १७ हजार १५९ जना संक्रमण मुक्त भएका छन् । प्रदेशमा पछिल्लो २२ दिनमा ३१ संक्रमितले ज्यान गुमाएका छन् । 

प्रदेश र स्थानीय सरकारको तयारी शून्य

प्रदेशमा दिन प्रतिदिन कोरोना संक्रमण तीव्र रुपमा फैलिँदा समेत प्रदेश र स्थानीय सरकारले आवश्यक तयारी गर्न सकेका छैनन् । गत वर्ष संक्रमण फैलिएपछि निर्माण गरिएका क्वारेन्टिन र आइसोलेसन हटाइ सकिएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएको लामो समय भइसक्दा पनि स्थानीय सरकारहरुले क्वारेन्टिन र आइसोलेसन निर्माण थालेका छैनन् । तत्कालीन अवस्थामा संक्रमण पुष्टि भएकालाई सम्वन्धितकै घरमा होम आइसोलेसनमा राख्ने स्थानीय सरकारको योजना छ ।

पोखरा महानगरका स्वास्थ्य शाखाका प्रमुख हेमन्त शर्माले कोरोना संक्रमणको पहिलो लहर घटेसँगै आइसोलेसन हटाएको जानकारी दिँदै क्वारेन्टिन र आइसोलेसन निर्माण गर्ने निर्णय भइनसकेको बताए । उनले निजी अस्पतालमा पनि आइसोलेसनको व्यवस्था गर्न थालेपछि महानगरले आइसोलेसन र क्वारेन्टिन हटाएको बताए ।

कोरोना संक्रमण फैलिएको लामोसमय बिते पनि प्रदेश सरकारले समेत पर्याप्त तयारी गर्न सकेको छैन । प्रदेशका ११ जिल्लामा संक्रमितका लागि आवश्यक आइसियुसहितका वार्ड र जनशक्तिको व्यवस्थापन हुन सकेको छैन । प्रदेशका बागलुङ, कास्की र गोरखामा सीमित बेडबाहेक अन्य जिल्लामा आइसियू वार्ड र आवश्यक जनशक्तिको ब्यवस्था हुन सकेको छैन । 

उपकरण र जनशक्ति अभाव

सरकारी तथ्यांकअनुसार प्रदेशमा जम्मा २४३ वटा आईसीयु बेड छन् । तीमध्ये ४४ वटा आईसीयु बेड प्रयोग भइरहेका छन् । प्रदेशमा जम्मा ६७ वटामात्र भेन्टिलेटर उपलब्ध छ । अहिले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता भएकाले प्रदेश सरकार यतिबेला संसदकै अंकगणितको जोड घटाउमा लागेको छ ।

पछिल्लो समयमा प्रदेश सरकारले मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल, फिस्टेल हस्पिटल, गण्डकी मेडिकल कलेजलाई शूल्क लिएर उपचार गर्न दिए पनि ती अस्पताल समेत भरिएका छन् । संक्रमणको रफ्तार यसैगरी बढ्दै जाने हो भने बिरामीको उपचार कहाँ र कसरी गर्ने भन्नेबारे प्रदेश सरकार बेखबर छ ।

अर्कोतिर संक्रमणको पहिलो लहरभन्दा दोस्रो लहर बढी घातक र अत्यधिक संक्रामक देखिए पनि प्रदेश सरकार र स्थानीय तहले त्यसअनुसार उपकरण र जनशक्तिको जोहो गर्न सकेको देखिँदैन । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप