शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भारतका २४ राज्यमा कोरोनाभाइरसको सङ्क्रमण घट्दो

बिहीबार, १३ जेठ २०७८, २३ : ४३
बिहीबार, १३ जेठ २०७८

भारतका २४ राज्यमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा कमी हुँदै आएको छ ।  केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सङ्क्रमितहरुको विवरणमा २४ राज्यमा सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको उल्लेख गरिएको छ ।  पछिल्लो एक हप्तामा यसरी सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।  उनीहरुले भाइरसबाट सङ्क्रमित भएर अहिले निको हुनेहरुको सङ्ख्या पनि झण्डै ९० प्रतिशत पुगेको बताएका छन् । 

स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले पत्रकार सम्मेलनमा भने, “देशभरका २४ ओटा राज्यमा पछिल्लो समय सङ्क्रमितहरुको संख्यामा कमी हुदै आएको देखिएको छ ।”  ती मध्ये १५ राज्यमा दैनिक एक हजारदेखि पाँच हजारसम्म सङ्क्रमित हुने गरेका छन् ।

देशका १३ राज्यमा एक हजारभन्दा कम सङ्क्रमित हुने गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।   दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या पनि ८५.६ प्रतिशतदेखि ९० प्रतिशतसम्म हुने गरेको छ ।  दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या घट्दै जानु र सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै जानुले महामारी कम हुदै गएको सकारात्मक संकेत देखिएको अधिकारीहरुको भनाई छ । 

भारतमा हाल कोभिड–१९ का २४ लाख १९ हजार ९०७ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा ७५ हजार ६८४ व्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो ।

तर दैनिक मृत्यु दरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार ८४७ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको उल्लेख छ । यो सहित भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ३ लाख १५ हजार २३५ जनाको ज्यान गएको छ । 

पछिल्लो २४ घण्टामा २ लाख  ११ हजार २९८ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँगै देशभर हालसम्म कूल २ करोड ७३ लाख ६९ हजार व्यक्ति कोरोना संक्रमित भएका छन् ।  भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार ३३ करोड ६९ लाख ६९ हजार भन्दा बढी नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड २६ लाख भन्दा बढी डोज खोप लगाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप