शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरले सञ्चालनमा ल्यायो ३ सय ९ बेडको आइसोलेसन र विषेश अस्पताल

शुक्रबार, १४ जेठ २०७८, २० : ३७
शुक्रबार, १४ जेठ २०७८

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ९ अस्पतालहरुलाई ४५ थान भेन्टिलेटर  उपलब्ध गराइएको जानकारी दिएको छ । कोभिड–१९ को संक्रमण बढेसँगै अस्पतालहरूको क्षमता अभिवृद्धि गर्ने र सेवा विस्तार गरी संक्रमित नागरिकलाई बचाउने उदेश्यले ती भेन्टिलेटर विभिन्न अस्पताललाई उपलब्ध गराएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, त्रिवि शिक्षण अस्पताललाई १०, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ५, क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई ४, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ३, महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २, हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताललाई २, जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौं मोडल अस्पताललाई २ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २ थान भेन्टिलेटर सहयोग गरेको छ । ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई वीर ५० वटा मनिटर उपलब्ध गराएका छौ भने आजै मात्र पनि हामीले महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २ थान भेन्टिलेटर उपलब्ध गराएका छौँ ।

महानगरपालिका मार्फत गरेको यो सहयोगले राजधानीवासी मात्र नभई ७७ वटै जिल्लाका कोभिड संक्रमित नागरिकहरुको सघन उपचारमा सहयोग पुग्ने अपेक्षा लिएका छौँ,’ उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका प्रमुख शाक्यले भने, ‘सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र कान्ति बाल अस्पताललाई महानगरपालिकाले उपलब्ध गराएको ५ करोड बराबरको सहयोग रकमले निर्माण गरिएको अक्सिजन प्लान्टमध्ये गंगालालले प्लान्ट सञ्चालनमा ल्याइसकेको छ । कान्ति अस्पतालमा प्लान्ट असार महिनादेखि सञ्चालन हुनेछ ।’  विभिन्न अस्पताललाई उपलब्ध गराएका मध्ये केही भेन्टिलेटर, पीसीआर मेसिनलगायतका सामग्री भगिनी सम्वन्ध स्थापित गरेका चीनका विभिन्न नगरले महानगरपालिकालाई सहयोग स्वरुप उपलब्ध गराएका हुन् । 

‘कोभिड संक्रमित बिरामी तथा आफन्तहरूलाई उपचारमा सहज होस भन्ने हेतुले नागरिक हट लाइन ११८० बाट २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाइएका छौँ,’ उनले भने, ‘बिरामीहरुलाई अस्पतालमा पुग्न सहज होस भनी कोभिड १९ का बिरामीका लागि फोन नं १०२ मार्फत १० वटा र नन् कोभिड बिरामीका लागि १० वटा गरी कूल २० वटा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएका छौँ । जसबाट हालसम्म २२ हजार कोभिड संक्रमित बिरामी र १२ हजार नन् कोभिड बिरामीहरुले सेवा प्राप्त गरिसकेका छन् ।’ हालसम्म महानगरपालिका क्षेत्रभित्र ४४ हजार बढीले निःशुल्क पीसीआर जाँचको सुविधा लिइसकेको महानगरपालिकाले जानकारी दिएको छ ।
महानगरपालिकाले अहिलेसम्म महानगरपालिका क्षेत्रभित्र ६५ वर्ष माथि उमेरका ६७ हजारलाई कोभिशिल्ड खोपका साथै भेरोसेल पहिलो चरणमा १ लाख ३० हजार र दोस्रो चरणमा १ लाख बढीलाई लगाएको पनि जानकारी दिएको छ । 
 
३ सय ९ बेडको आइसोलेसन र विषेश अस्पताल सञ्चालनमा 

त्यसैगरी  महानगरपालिकाले अस्पतालमा अक्सिजनको चरम अभावको कारण उत्पन्न असहज अवस्थालाई ध्यानमा राखेर अक्सिजनकै कारण अस्पतालमा हुने बिरामीको चापलाई कम गर्न ३ सय ९ बेडको आइसोलेसन र विषेश अस्पताल सञ्चालनमा ल्याएको पनि जानकारी दिएको छ ।

 ‘महानगरपालिकाको आर्थिक सहयोगमा सामाखुसी स्थित राधा स्वामी सत्संग भवनमा नेपाली सेनाको व्यवस्थापनमा ८८ अक्सिजन सहित १ सय ७४ बेडको कोभिड–१९ आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएका छौँ,’ शाक्यले भने, ‘नरदेवी आयुर्वेद अस्पतालमा ५० अक्सिजन सहित १ सय बेडको कोभिड–१९ आइसोलेन केन्द्र र छेत्रपाटी निःशुल्क चिकित्सालयमा आइसीयु र भेन्टिलेटर सहितको ३५ बेडको कोभिड–१९ विशेष अस्पताल संचालनमा ल्याइसकेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप