शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको दोस्रो लहरमा फ्रन्टलाइनर स्वास्थ्यकर्मी कम संक्रमित

सोमबार, १७ जेठ २०७८, १० : ३०
सोमबार, १७ जेठ २०७८



कोरोनाभाइरस (कोभिड—१९) को दोस्रो लहरमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी कम प्रभावित भएका छन् । अर्थात्, कोरोना संक्रमितको पहिचान, उपचारमा खटिने स्वास्थ्यकर्मीमा संक्रमण दर कम पाइएको छ ।

कोरोना संक्रमणको पहिलो लहरमा संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स स्वयं संक्रमित भएपछि उपचार कक्ष नै सिलसमेत गरिएको थियो । विगतमा कोभिड उपचारमा संलग्न ठुलो संख्यामा चिकित्सक, नर्स संक्रमित भएपछि कोभिड उपचार कक्षमा जनशक्तिको अभाव हुँदा उपचार व्यवस्थापन गर्न समस्या भएको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फोक्सो रोग विशेषज्ञ तथा कोभिड संयोजक डा.सन्तकुमार दास सम्झन्छन् ।

डा. दासका अनुसार कोरोना संक्रमणको पहिलो लहरमा टिचिङ अस्पतालमा ८ सय जना चिकित्सक नर्स, स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित थिए । संक्रमणको दोस्रो लहर फैलिएको साढे दुई महिना बितिसक्दा पनि करिब ५० जना चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी तथा कर्मचारीमात्र संक्रमित भएको उनले बताए ।

कोभिड उपचार गर्ने हब अस्पतालको रुपमा घोषणा गरिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अन्य अस्पतालको तुलनामा स्वास्थ्यकर्मीमा संक्रमणको दृष्टिले पहिलो लहरमै सुरक्षित पाइएको थियो । अन्य अस्पतालको तुलनामा कम संख्यामा उक्त अस्पतालका स्वास्थ्यकर्मी एवं चिकित्सकमा संक्रमण पाइएको थियो ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार कोरोना संक्रमणको महामारीमा चिकित्सक, नर्स  तथा अन्य स्वास्थ्यकर्मी संक्रमित हुँदासमेत संक्रमितको उपचार जारी राखिएको थियो । उनी भन्छन्, ‘उपचारमा संलग्न चिकित्सक, नर्स संक्रमित भए पनि बिरामीको उपचार व्यवस्थापनमा लागिरह्यौँ ।’

डा. राजभण्डारीका अनुसार, कोरोनाको पहिलो लहरमा शुक्रराज अस्पतालमा कोभिड उपचारमा संलग्न चिकित्सक, नर्ससँगै अन्य स्वास्थ्यकर्मी गरी ५२ जना कोरोना संक्रमित भएका थिए । कोरोना संक्रमणको दोस्रो लहर यता कोभिड बिरामीको उपचारमा संलग्न ५÷६ जना चिकित्सक एवं स्वास्थ्यकर्मी संक्रमित भएको उनले सुनाए ।

यता ग्राण्डी अस्पतालमा पनि महामारीको पहिलो लहरमा ४० देखि ४५ प्रतिशत चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी संक्रमित भएको अस्पतालका सरुवारोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । कोरोनाको दोस्रो लहरमा अस्पतालमा विगतको तुलना कममात्र स्वास्थ्यकर्मी संक्रमित भएको उनी सुनाउँछन् । यद्यपि दोस्रो लहरमा कोभिड, ननकोभिड बिरामीको उपचारमा संलग्न चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी कति संक्रमित भए भन्नेमा अध्ययन हुने क्रम जारी रहेको उनको भनाइ छ ।

यस्तै पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार, कोरोनाको पहिलो लहरमा  ५ सय स्वास्थ्यकर्मी संक्रमित थिए । दोस्रो लहर यता भने एक सयजना स्वास्थ्यकर्मी संक्रमित भएको उनले बताए ।

फ्रन्टलाइनर किन कम संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाको दोस्रो लहरमा संक्रमित बिरामी भर्ना हुने आकार ठूलो छ । अघिल्लो लहरमा भन्दा दोस्रो लहरमा संक्रमण दर तीव्र हुनका साथै नयाँ भेरियन्ट देखा परिरहेका छन् ।

तर, कोभिड उपचारमा संलग्न चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको संक्रमण दर तुलनात्मक रुपमा कम भएको पाइएको छ ।

कोभिड, ननकोभिड उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको संक्रमण दर कम हुनुमा कोरोनाविरुद्धको खोप नै मुख्य कारण भएको डा. दास बताउँछन् । अपवादमा बाहेक फ्रन्टलाइनर सम्पूर्ण स्वास्थ्यकर्मीले खोप लगाएकाले संक्रमण दर कम भएको हुन सक्ने उनी ठान्छन् ।

‘कोभिडको पहिलो लहरमा कसरी संक्रमितको उपचार गर्ने ? कति दुरी कायम राखेर उपचार गर्ने, कति समय बिरामीसँग बस्ने जस्ता कुरामा पूर्ण जानकारी थिएन,’ उनी भन्छन्, ‘दोस्रो लहर फैलिसक्दा यस्ता कुराका बारेमा धेरै जानकारी भयो, यसले पनि  स्वास्थ्यकर्मीमा संक्रमण दर कम भएको हो ।’

सबै अस्पतालमा सुरक्षा सामग्री अर्थात् पीपीई, ग्लोब्स, मास्क, पीसीआर परीक्षण आदि आवश्यकताका आधारमा उपलब्ध नहुँदा त्यतिबेला धेरै फ्रन्टलाइनर संक्रमित भएको निर्देशक डा. शाक्य बताउँछन् । तर दोस्रो लहरमा सुरक्षा सामग्रीको उपलब्धताका कारण पनि धेरै फ्रन्टलाइनर संक्रमण हुनबाट जोगिएको उनको भनाइ छ ।

शुक्रराज अस्पतालका निर्देशक डा. राजभण्डारी पनि खोपकै कारण फ्रन्टलाइनरलाई कोरोना संक्रमणको दोस्रो लहरले कम प्रभावित तुल्याएको बताउँछन् । ‘सबै स्वास्थ्यकर्मीले दुई डोज कोरोनाविरुद्धको खोप लगाएकाले संक्रमण दर कम हुनुका साथै संक्रमित भए पनि चाँडै कोरोनामुक्त भएका छन्,’ उनले भने, ‘संक्रमित स्वास्थ्यकर्मीमध्ये धेरैमा सामान्य खालको लक्षण मात्र देखिएको छ ।’ 

पहिलो र दोस्रो लहरमा स्वास्थ्य अवस्थामा के फरक ?

डा. राजभण्डारीका अनुसार, अस्पतालमा कार्यरत फ्रन्टलाइनर तथा स्वास्थ्यकर्मी संक्रमित भएको अवस्थामा पनि उनीहरुको स्वास्थ्यमा ठूलो समस्या देखिएको छैन । उनी भन्छन्, ‘पोजेटिभ आएकाहरुमा चार÷पाँच दिनमै नेगेटिभ रिपोर्ट आइरहेको छ, पहिलो लहरको जस्तो समस्या छैन ।’

अघिल्लो लहरमा संक्रमितमध्ये धेरै चिकित्सक, नर्स र स्वास्थ्यकर्मीमा लक्षण देखिँदा स्वास्थ्यमा समस्या देखिएको त्रिवि अस्पतालका कोभिड संयोजक डा.दासको अनुभव छ । तर, दोस्रो लहरमा संक्रमित स्वास्थ्यकर्मीमा विगतको तुलनामा कम लक्षण देखिनुका साथै स्वास्थ्यमा समस्या पनि कम देखिएको उनले बताए ।

यता ग्राण्डी अस्पतालका सरुवारोग विशेषज्ञ डा. अधिकारी पनि दोस्रो लहरमा अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढे पनि उपचारमा संलग्न संक्रमित स्वास्थ्यकर्मीमा स्वास्थ्य समस्या कम देखिएको सुनाउँछन् ।

कोरोना संक्रमणको पहिलो लहरमा भन्दा दोस्रो लहरमा कोभिड, ननकोभिड बिरामीको उपचारमा संलग्न चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी कम संक्रमित भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेल बताउँछन् । किन र कति संख्या कम भए, साथै हाल संक्रमित स्वास्थ्यकर्मी किन छिटो कोरोनामुक्त भए भन्नेबारे विस्तृत अध्ययन गरिने उनको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप