शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सावधान, ब्ल्याक फङ्गसबाट संक्रमितमध्ये ५० प्रतिशतको ज्यानै जान सक्छ !

नेपालमा १० जनामा ब्ल्याक फङ्गस देखियो
मङ्गलबार, १८ जेठ २०७८, १६ : २४
मङ्गलबार, १८ जेठ २०७८


भारतसँगै नेपालमा पनि म्युकोरमाइकोसिस अर्थात् ब्ल्याक फङ्गस (कालो ढुसी)का बिरामी देखिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा १० भन्दा बढीमा ब्ल्याक फङ्गस अर्थात् कालो ढुसी देखिएको हो । भारतका कतिपय राज्यमा ब्ल्याक फङ्गसलाई महामारीको रुपमा घोषणा गरिसकेको छ ।

नेपालमा कोरोना संक्रमितमा क्रमशः ब्ल्याक फङ्गस देखिन थालेको  आईओएमका सहप्राध्यापक तथा छाती रोग विशेषज्ञ डा. निरज बम बताउँछन् । त्रिवि शिक्षण अस्पतालमा कालो ढुसी सक्रमण भएका ४० वर्षका एक  पुरुषको शल्यक्रिया गरिएको डा.बमले बताए । कालो ढुसी देखिएका ति व्यक्तिको आँखा र नाकको शल्यक्रिया गरिएको हो । शल्यक्रिया गरिएका ती बिरामीलाई एम्फोटेरिसिन बी औषधिको प्रयोगबाट उपचार गरिरहेको डा.बमले जानकारी दिए । ‘फङ्गस अर्थात (कालो ढुसी) अर्का एक जनाको शल्यक्रियाको तयारी भइरहेको छ,’ उनी भन्छन्, ‘कोरोना मुक्त भएर अस्पतालबाट फर्किसकेपछि ललितपुरका एक जनामा कालो ढुसी देखिएको उपचारको लागि टिचिङ अस्पताल आउनुभएको छ ।’

यस्तै वीर अस्पतालपनि ३१ वर्षीय पुरुषमा कोरोना संक्रमणपछि कालो ढुसीको समस्या देखिएपछि सोमबार शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । ती ३१ वर्षीय पुरुषको नाक तथा आँखामा फैलिसकेको फङ्गस शल्यक्रिया गरेर निकालिएको अस्पतालले जनाएको छ । सर्जरी पछि कोभिड आईसीयूमा उपचार भइरहेको अस्पताल पूर्व निमित्त निर्देशक डा.शान्ता सापकोटाले बताइन् । नेपालमा पनि कोरोनामुक्त भइसकेपछि म्युकोरमाइकोसिसको समस्या देखिएको डा. बम बताउँछन् ।  

कस्ता व्यक्तिलाई ब्ल्याक फङ्गस लाग्छ  ?

म्यूकोर्माइकोसीस (Mucormycosis) नामक फंगाइका कारण हुन्छ । दीर्घरोगी तथा पुनः बिरामी भएका, शरीरको प्रतिरोधी प्रणालीलाई कमजोर बनाउने औषधीहरु सेवन गरिरहेका, प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई म्यूकोर्माइकोसीस तथा कालो ढुसी संक्रमण हुने डा. बम बताउँछन् ।

कालो ढुसी शरीरको कुनै पनि हिस्सामा लाग्न सक्छ । कोरोना संक्रमितहरुले स्टेरोइड र टोसिलिजुमाव इन्जेक्सनको अत्याधिक मात्रा प्रयोग गर्दा रोग प्रतिरोधात्मक क्षमता घट्ने भएकाले संक्रमितमा कालो ढुसीपनि देखिएको उनले बताए । कोरोना संक्रमित त्यसमाथि मधुमेह भएका व्यक्तिलाई विशेष ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

‘संक्रमितमा सुगरको लेभल बढ्दा शरीर कमजोर हुन्छ,’ उनी भन्छन्, ‘अस्पतालमा मधुमेह भएका व्यक्ति, संक्रमित भएर होम आइसोलेशनमा बसेका थप समस्या आउनसक्छ, त्यसैले कालो ढुसीबाट जोगाउनका लागि दीर्घरोगी तथा मधुमेहका बिरामीलाई निगरानीमा राख्नुपर्छ ।’

कोभिड बिरामीसँगै दीर्घरोगी जस्तै क्यान्सर, मृगौला, मुटु, अंग प्रत्यारोपण गर्ने, क्यान्सरको उपचार गराइरहेकाहरुमा फङ्गस अर्थात (कालो ढुसी) उच्च जोखिम रहेको डा. बम बताउँछन् । यो रोग कुनै पनि उमेर समूहका व्यक्तिका लागि जोखिम रहेको उनले सुनाए ।

कसरी सर्छ कालो ढुसी

शरीरमा कालो ढुसीको संक्रमण भएपछि पहिचान गर्न नसकेको खण्डमा ५० प्रतिशतको ज्यान जाने खतरा उच्च रहेको अध्ययनले देखाएको डा. बमको भनाइ छ । वातावरणमा फङ्गस अर्थात (कालो ढुसी जहाँ सुकै हुन सक्छ । जस्तै जमिन र सढेका कुनै वस्तुमा, पात–पतिङ्गर, कुहिएका सडेका दाउरा, कम्पोस्ट खादमा हुन सक्छ । हावाको माध्यमबाट ब्ल्याक फङ्गस सर्छ ।  श्वासको माध्यमबाट वातावरणमा रहेको ब्ल्याक फङ्गस शरीरमा पुग्छ ।

स्वास्थ्यमा गम्भीर असर

फोक्सोमा पनि ब्ल्याक फङ्गसले श्वासप्रश्वासको माध्यमबाट क्षति पु¥याउन सक्छ । शरीरमा कुनै घाउ वा जलेको भए त्यहाँबाट संक्रमण शरीरका विभिन्न भागमा सक्रमण फैलन सक्छ । कालो ढुसी शरीरको जुन क्षेत्रमा पनि लाग्न सक्छ । जहाँ कालो ढुसी लाग्छ त्यहाँको भाग काम नलाग्ने बनाउन सक्छ । जस्तै अहिलेसम्म नाक, मुख, आँखाको वरिपरिको भागमा कालो ढुसी लागेको देखिएको छ । भारतमा कालो ढुसी आँखा वरिपरि लाग्दा आँखा नै निकाल्नुपर्ने अवस्था सिर्जना भएको उनीले सुनाए । आँखाको ज्योति समेत गुम्नसक्छ ।  यो टाउकोमा भयो भने ब्रेन ट्युमर लगायतका रोग लाग्छ । समयमै उपचार भएन भने दिमागसम्म पुगेको कालो ढुसीले मृत्युको संख्या उच्च रहेको उनी बताउँछन् ।

यो शरीरमा संक्रमण हुँदा कस्तो लक्षण देखिन्छ

ब्ल्याक फङ्गस शरीरको जुन हिस्सामा संक्रमण हुन सक्छ । संक्रमणको आधारमा लक्षण देखिने गर्छ । जस्तै ज्वरो आउने, टाउको दुख्ने, नाक बन्द हुने, बान्ता तथा उल्टी आउने, छाती दुख्ने, अनुहारको एकपट्टिको भाग फुलिने, नाकमा कालोकालो घाउ देखिने हुन्छ । सामान्यतया कोरोना संक्रमणको लक्षण देखिएको २ देखि ४ हप्तासम्म कालो ढुसीको समस्या देखिन्छ । कोलो ढुसीको संक्रमण भएको १० देखि ६० दिनसम्म पनि समस्या देखिरहन सक्ने वरिष्ठ रोग विषेशज्ञ डा. बम बताउँछन् । 

ब्ल्याक फङ्गसबाट यसरी बच्ने   

कोरोना संक्रमण भएका व्यक्तिलाई ब्ल्याक फङ्गस संक्रमण भएको छ । कोरोना मुक्त भएपनि स्वास्थ चेकजाँच गराइरहन डा. बमको आग्रह छ ।  ब्ल्याक फङ्गसको लक्षण देखिएमा तत्काल अस्पताल पुग्ने तथा चिकित्सकसँग सल्लाह लिनुपर्छ । ब्ल्याक फङ्गस भएको सुरुवाती अवस्थामै थाहा पाएको खण्डमा उपचार सम्भव हुने उनको भनाइ छ ।

कोभिड, ननकोभिड दुवै खाल बिरामी तथा अन्य सामान्य स्वास्थ्य अवस्था भएका व्यक्तिमा पनि सावधानी नअपनाएको खण्डमा यो लाग्न सक्छ । त्यसैले निर्माण क्षेत्र, अत्याधिक फोहोर तथा धुलो हुने क्षेत्रमा नजान उनको आग्रह छ । बगैँचामा जाँदा, खेती गर्दा लामो बाहुला भएका कपडा, पञ्जा लगाउने गर्नुपर्छ ।

कोभिडसँगै मधुमेह तथा अन्य दीर्घरोगीलाई घर तथा अस्पतालमा विशेष ख्याल गर्न अतिआवश्यक भएको उनको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कालो ढुसी संक्रमित बिरामी नेपालमा पनि देखिन थालेपछि निदानका लागि अस्पताल भर्ना भएका बिरामीबारे सचेत हुन निर्देशन दिइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप