शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रानी नाकाबाट दुई महिनामा साढे ३ अर्बको कृषिजन्य वस्तु भित्रियो

कृषिमा आत्मनिर्भर हुने नारा सस्तो लोकप्रियतामै सीमित
आइतबार, २३ जेठ २०७८, १२ : १३
आइतबार, २३ जेठ २०७८

विराटनगर । विराटनगरको रानी भन्सार नाकाबाट पछिल्लो दुई महिना अवधिमा साढे तीन अर्बभन्दा बढी मूल्यको खाद्यान्न, तरकारी, फलफुल लगायत कृषिजन्य वस्तु आयात भएको छ ।

गत चैत र वैशाख महिनामा भारत तथा तेश्रो मुलुकबाट सो नाका हुँदै ३ अर्ब ५७ करोड २८ लाख ९२ हजार १०२ रुपैयाँ बराबरको ९ करोड ३३ लाख ८७ हजार ६२८ केजी कृषिजन्य वस्तु भित्रिएको हो ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञामा यी बस्तुको आयात अझ उच्च भएको छ । रानी भन्सार कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा मूल्य लागतको दृष्टिमा सबैभन्दा बढी खाद्यान्न भित्रिएको छ ।

सो अवधिमा २ अर्ब ७५ करोड ७ लाख ९८ हजार ९ रुपैयाँ बराबरको ८ करोड ५२ लाख ५९० केजी खाध्यान्न भित्रिएको छ ।

समीक्षा अवधिमा भारत र तेश्रो मुलुकबाट सो नाका हुँदै ६१ करोड ३८ लाख ७३ हजार ५८२ रुपैयाँ बराबरको ६५ लाख ९६ हजार ३५३ केजी फलफूल भित्रिएको छ ।

सो अवधिमा २० करोड ८२ लाख २० हजार ५११ रुपैयाँ बराबरको ६२ लाख ७० हजार ६८५ केजी तरकारी भित्रिएको भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताए ।

यादवका अनुसार निषेधाज्ञा जारीपछिको अवधिमा खाध्यान्न, तरकारी र फलफुल बढी मात्रामा भित्रिएको पाइन्छ ।

रानी भन्सार कार्यालयको तथ्याङ्क अनुसार चैत महिनामा सो नाका हुँदै ३४ करोड २१ लाख ४३ हजार ७५५ रुपैयाँ बराबरको ३७ लाख ५७ हजार १९३ केजी फलफूल नेपाल भित्रिएको छ ।

यस्तै, वैशाख महिनामा २७ करोड १७ लाख २९ हजार ८२७ रुपैयाँ बराबरको २८ लाख ३९ हजार १६० केजी फलफूल नेपाल भित्रिएको छ ।

भन्सार कार्यालयका अनुसार सो अवधिमा काजु, ओखर, अमला, बदाम, अम्बा, आँप, सुन्तला, अंगुर, तरबुजा, मेवा लगायतका ताजा फलफूल भित्रिएको हो ।

सो नाकाबाट खाद्यान्न भने चैत महिनाको तुलनामा वैशाखमा बढी भित्रिएको छ । चैत महिनामा ७३ करोड ८ लाख ७५ हजार ५०३ रुपैयाँ बराबरको कुल २ करोड १९ लाख ३१ हजार ३११ केजी खाध्यान्न भित्रिएको छ ।

यस्तै वैशाखमा ५ करोड ८५ लाख ८९ हजार २७९ रुपैयाँ बराबरको २ अर्ब १ करोड ९९ लाख २२ हजार ५०६ केजी खाध्यान्न नेपाल भित्रिएको छ ।

रानी भन्सार कार्यालयका अनुसार समीक्षा अवधिमा खाद्यान्नतर्फ सबैभन्दा बढी धान भित्रिएको छ । सो अवधिमा १ अर्ब १४ करोड ६० लाख ७४ हजार ९९२ रुपैयाँ मूल्य बराबरको ३ करोड १४ लाख २१ हजार ६९ केजी धान भित्रिएको हो ।

चैत महिनामा ३६ करोड २४ लाख ४५ हजार ६६६ रुपैयाँ बराबरको १ करोड ५ लाख ८५ हजार ९८६ केजी र वैशाखमा ७८ करोड ३६ लाख २९ हजार ३२६ रुपैयाँ बराबरको २ करोड ८ लाख ३५ हजार ८३ केजी धान सो नाकाबाट भित्रिएको छ ।

सोही अवधिमा ४० करोड २ लाख ८२ हजार ३१२ रुपैयाँ बराबरको ८४ लाख ३८ हजार १५५ केजी चामल पनि उक्त नाकाबाट भित्रिएको छ ।

सो अवधिमा गहुँ, मकै, कनिका, फापर, कोदो, जौ, जुनेलो लगायतका खाध्यान्न पनि भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।

चैत र वैशाख महिनामा सो नाकाबाट  २० करोड ८२ लाख २० हजार ५११ रुपैयाँको ६२ लाख ७० हजार ६८५ केजी तरकारी नेपाल भित्रिएको छ ।

चैत महिनामा ८ करोड ९ लाख ४६ हजार २९७ रुपैयाँ मूल्यको २५ लाख ५९ हजार २९९ केजी तरकारी उक्त नाकाबाट नेपाल भित्रिएको छ । त्यसैगरी वैशाख महिनामा १२ करोड ७२ लाख ७४ हजार २१४ रुपैयाँ मूल्य बराबरको ३७ लाख ११ हजार ३८६ केजी तरकारी भित्रिएको छ ।

यी दुई महिनामा आयात भएका तरकारीमध्ये सबैभन्दा बढी आलु १० करोड ५ लाख ९० हजार ६०१ रुपैयाँ मूल्य बराबरको ३८ लाख ७५ हजार ६५० केजी छ ।

पूर्वी नेपालमा खाद्यान्न, फलफूल तथा तरकारी खासगरी भारत तथा तेश्रो मुलुकबाट आयात हुने गरेको छ । प्याज भारतको इन्दौर, नासिक र पटना तथा आलु भुटान, बङ्गलादेश र भारतको उत्तर प्रदेशबाट आयात हुने गरेको छ ।

मासिँदै खेतीयोग्य जमिन

प्रदेश १ अन्न भण्डारका रुपमा परिचित छ । तर, पछिल्ला समयमा यो प्रदेशमा मुख्य खाद्यान्नका रुपमा रहेको धानको उत्पादन घट्दो क्रममा छ ।

प्रदेश १ मा उत्पादन भएको धानले यस प्रदेशको माग धान्नेमात्र नभई अन्य प्रदेशमा पनि निर्यात हुँदै आएको थियो । तर पछिल्लो समय धान खेती हुँदै आएको जमिन मासिँदै जाँदा धानको खेती घट्दै गएको हो ।

प्रदेश १ अन्तर्गतका १४ जिल्लामा १५ वर्ष यता ५४ हजार हेक्टर धान खेतीको क्षेत्रफल गुमेको छ । सन् २००३ मा प्रदेश १ अन्तर्गतका १४ जिल्लामा ३ लाख ६६ हजार हेक्टरमा धान खेती हुँदै आएको थियो ।

१५ वर्ष अघि १४ जिल्लामा धानको वार्षिक उत्पादन पनि १६ लाख ४७ हजार मेट्रिकटन  थियो । तर, हाल धानको वार्षिक उत्पादन १४ लाख १५ हजार ८ सय मेट्रिक टन छ ।

धान खेती हुने जग्गा ३ लाख १२ हजार हेक्टरमा सीमित बनेको छ ।

मन्त्रालयका अनुसार प्रदेशमा धान खेतीको प्रमुख पकेट क्षेत्र सुनसरी, मोरङ र झापा मानिन्छ । १५ वर्षअघि सुनसरीमा ६१ हजार हेक्टरमा धान खेती हुँदै आएकोमा हाल घटेर ४५ हजार हेक्टरमा सीमित भएको छ ।

मोरङ जिल्लामा ९८ हजार हेक्टरमा हुँदै आएको धान खेती अहिले ८२ हजार हेक्टरमा सीमित भएको छ भने झापामा ९२ हजार हेक्टरमा हुँदै आएको धान खेती घटेर ८३ हजार हेक्टरमा खुम्चिएको छ ।

प्रदेश १ का १४ वटै जिल्लामा धान खेती हुने गरेको छ । प्रदेश १ ले कुल धानको उत्पादनमध्ये आफ्नो प्रदेशमा खपत गरेर वार्षिक ३ हजार मेट्रिक टन धान अन्यत्र निर्यात हुँदै आएका तथ्यांक सरकारीस्तरमा रहे पनि भन्सार नाकाबाट ठुलो परिमाणमा धान, चामल लगायतका खाद्यवस्तु भित्रिएको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप