बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

राजेन्द्र महतोले अबिलम्ब जनतासमक्ष क्षमा याचना गर्नुपर्छ : नेकपा माले

सोमबार, २४ जेठ २०७८, १७ : ११
सोमबार, २४ जेठ २०७८

नेकपा मालेले उपप्रधानमन्त्री राजेन्द्र महतोले अबिलम्ब जनतासमक्ष क्षमा याचना गर्नुपर्ने बताएको छ । उपप्रधानमन्त्री महतोले नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै सो पार्टीले त्यसले जनताको भावनामा चोट पुर्याएको जनाएको छ ।

उक्त पार्टीको हालै सम्पन्न चौधौं केन्द्रीय बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव सीपी मैनालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ : ‘हालै ओली सरकारका उपप्रधानमन्त्री बनेका राजेन्द्र महतोले नेपालको संविधानको धारा ३ विपरित तथा समस्त नेपाली जनताको भावनालाई चोट पुर्याउँदै ‘नेपाललाई बहु–राष्ट्रिय राज्य’ बनाउने अभिव्यक्तिका साथ नेपालको राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामा ठाडो हमला गरेका छन् । नेकपा (माले) निज मन्त्रीको त्यस्तो अभिव्यक्ति र त्यसपछि रहेको उनको नियतको घोर विरोध गर्दछ । साथै पार्टी माग गर्दछ : ‘राजेन्द्र महतोले अविलम्ब नेपाली जनता समक्ष क्षमा याचना गरुन् ।’  

उपप्रधानमन्त्री महतोले पदभार ग्रहण गरेकै दिन नेपाललाई बहु–राष्ट्रिय राज्य बनाउने विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिको चौतर्फी आलोचना हुँदै आएको छ । यद्यपि, महतोले एक विज्ञप्ति जारी गर्दै आफुले त्यस्तो अभिव्यक्ति दिन नखोजेको प्रतिक्रिया दिइसकेका छन् ।

सो पार्टीले सरकारले ल्याएको नागरिकता अध्यादेशलाई तुरुन्त फिर्ता लिन र अविलम्ब ‘उच्चस्तरीय नागरिकता छानविन न्यायिक आयोग’ गठन गरी जन्मसिद्ध र अन्य अवैधानिक नागरिकता– प्रमाणपत्रहरूलाई खारेज गरेर मात्र वैधानिक जन्मसिद्ध नागरिकका सन्तानलाई संविधान बमोजिम नागरिकता दिन माग गरेको छ ।

त्यस्तै चुरे क्षेत्रका ढुंगा, गिटी र बालुवा निकालेर भारततर्फ निकासी गर्ने सरकारको निर्णयको पनि उक्त पार्टीले विरोध गरेको छ । बैठकले कोभिड १९ विरुद्ध भारतीय खोपको पहिलो डोज लिइसकेका लाखभन्दा बढी नागरिकहरुलाई समयमै दोश्रो खोप उपलव्ध गराउन समेत माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप