सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकीका विपक्षी सांसद भन्छन– ‘मुख्यमन्त्री पोखरेललाई कुनै पनि हालतमा समर्थन गर्न सक्दैनौं’

शुक्रबार, ०४ असार २०७८, १४ : ५१
शुक्रबार, ०४ असार २०७८

गण्डकी प्रदेशसभाका प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारलाई कुनै पनि हालतमा समर्थन गर्न नसक्ने बताएका छन् ।  मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन राखेको प्रस्ताव माथिको छलफलमा भाग लिदै एमालेका सांसद मनबहादुर गुरुङले जनमत परास्त गर्न बनेको प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने बताएका छन् । 

सांसद गुरुङले जनताले ५ वर्षका लागि कम्युनिष्टलाई सरकार चलाउन दिएपनि जनमत परास्त गर्न अपवित्र गठबन्धनमार्फत बनेको सरकारलाई विश्वासको मत दिन नसकिने बताएका हुन् । उनले सरकारले ल्याएको बजेट महत्वाकांक्षी र निरन्तरता दुबै नभई बकम्फुसे खालको भएको आरोप समेत लगाए । उनले यस्तो बजेटले जनआकांक्षा पूरा नगर्ने भएकाले विश्वासको मत दिन नसकिने तर्क गरे ।

त्यसैगरी एमालेकै सांसद धनञ्जय दवाडीले प्रदेशको अहिलेको सरकार दिगो नभएकाले विश्वासको मत दिन नसक्ने बताएका छन् । उनले मुख्यमन्त्रीले सत्ताका लागि जे जस्ता कार्य गर्न पनि उपयुक्त हुन्छ भन्ने अहमता देखाएको टिप्पणी गरे । उनले गठबन्धनमा संघीयता खारेज गर्ने माग गर्ने दलहरु समेत रहेको बताउँदै अहिलेको यस गठबन्धन सत्ताका लागि मात्रै भएको र जनता प्रति जवाफदेही हुनै नसक्ने जिकिर समेत गरे ।

 सांसद दवाडीले विपी कोइरालाले दुई तिहाईको सरकार चलाइ रहँदाको प्रवृत्तिको ध्यान दिन आग्रह गर्दै गिरिजाप्रसादका पालामा पनि नेपाली काँग्रेसबाटै विद्रोह भएको आरोप लगाउँदै सचेत हुने बेला भएको बताए । उनले तथ्यहरूको निर्मम समीक्षा हुन जरुरी रहेको बताउँदै लोकतन्त्रका लागि नसुहाउने र न्युनतम पनि सम्मान गर्न नसक्ने सरकारको विश्वास गर्नुको कुनै अर्थ नरहेको टिप्पणी गरे ।

सांसद दवाडीले संसद मुलुकका जटिल राजनीतिक समस्याको छिनोफानो गर्नका लागि मात्र भएको बताए । उनले बाढी पहिरोका कारण धेरै धनजनको क्षति भएकोले तत्काल राहत र उद्धारका काममा लाग्न प्रदेश सरकारलाई आग्रह गरे । त्यसैगरी नेकपा एमालेका सांसद कृष्ण थापाले दिपक मनाङेप्रति कटाक्ष प्रहार गर्दै गुण्डागर्दीलाई प्रसय दिने सरकारलाई कुनै पनि हालतमा समर्थन नगर्ने बताए । उनले भारतको बिहारको राजनीतिको उदाहरण प्रस्तुत गर्दै गण्डकी प्रदेश सरकार पनि त्यस्तै पथमा अगाडि बढेको आरोप लगाए । 

उनले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल वृद्धभत्ताका लागि सक्षम भएको भन्दै टिप्पणी गरे । सांसद थापाले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको हिजोको सरकारको बसाएको जगलाई अहिलेको सरकारले हल्लाउन नसक्ने बताए । ‘गण्डकीका योग्य सक्षम र क्षमतावान नेता पृथ्वी सुब्बा गुरुङ नेतृत्वले प्रदेशमा बसालेको जगलाई कसैले हल्लाउन सक्ने अवस्था नै छैन’ उनले भने ।

सांसद थापाले अहिलेको सरकार खिचडी सरकार भएको बताउँदै बजेट नीति तथा कार्यक्रम सबै खिचडीको रुपमा आएको समेत आरोप लगाए । उनले यस्तो खिचडी सरकारलाई आफ्नो पार्टीले विश्वासको मत दिनै नसक्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप