सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेल पक्षीय बैठक : रामचन्द्र र शशांकबीच सवाल जवाफ

सोमबार, २५ साउन २०७८, २० : ३०
सोमबार, २५ साउन २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्नुपर्ने निचोड निकालेको छ ।  सोमबार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसेको पौडेल पक्षीय बैठकले भदौ १६- १९ मा महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउन सकिने निचोड निकालेको हो । बैठकपछि वरिष्ठ नेता पौडेलले भने, ‘अझैं पनि महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउन सकिन्छ भन्ने हाम्रो निचोड हो । त्यसका लागि हामी सबैले इमान्दारितापूर्वक प्रयास गर्नुपर्छ ।’ 

यद्यपि निर्धारित कार्यतालिकामा केही व्यवधान आएर अड्की राखेका उनको भनाइ छ ।  महाधिवेशनको मुखमा छौं । हाम्रो निर्धारित कार्यतालिकामा केही व्यवधान आएर अड्की राखेको अवस्था छ । तैपनि अझै एक महिनाको समय छ । संविधानले हामीलाई ५ वर्ष ६ महिना बढी ठाउँ दिएको छैन, उनी भन्छन्, ‘संविधानले ५ वर्ष ६ महिनाभित्रै महाधिवेशन गर्न भनेको प्रसंगमा आज हामीले के हुन्छ कसो हुन्छ भनेर आपसमा छलफल गरेका हौं । हामी महाधिवेशन गर्न सकिने निष्कर्षमा पुगेका छौं ।

पार्टीका क्रियाशील सदस्यका हकमा विवाद समाधान भइसकेका ठाउँमा नयाँ र विवाद टुंगिन बाँकी रहेका ठाउँमा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट अधिवेशन गर्नुपर्ने पौडेलले बताए । उनले भने, ‘एक दुई दिनमा मिलाउन सकिन्छ भने मिलाउने र मिलाउन नसकिनेलाई अहिले थन्क्याउनुपर्छ । १३ औं महाधिवेशन कै क्रियाशील सदस्यबाट त्यही वडा, जिल्ला क्षेत्र र जिल्लाहरुमा अधिवेशन गर्न सकिन्छ भन्ने हाम्रो धारणा छ ।’

पार्टीलाई जसरी भए पनि संवैधानिक संकटबाट सबै मिलेर बचाउनुपर्नेमा पौडेलको जोड छ । त्यसका लागि साउन २८ गते बस्ने बैठकमा आफ्नो धारणा राख्ने पौडेलले बताए । काँग्रेसले २८ गतेको महाधिवेशनको नयाँ कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्ताव पेस गर्ने भएको छ ।

पौडेल र शशांकबीच सवाल जवाफ

पौडेलले नयाँ कार्यतालिका भन्दा विशेष महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउनुपर्ने प्रस्ताव राखेका छन् । सोमबारबाट काठमाडौं सुरु भएको संस्थापन इत्तर पक्षका जिल्ला सभापतिहरूको बैठकमा जिल्ला सभापतिहरूले पौडेलको प्रस्तावमाथि समर्थन जनाउने संकेत दिएका छन् ।  

बैठकका योजनाकार नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिं केसीले विशेष महाधिवेशन अहिलेको आवश्यकता भएको बताए ।

उनले १३ औं महाधिवेशनकै प्रतिनिधिबाट प्रदेश र केन्द्रीय पदाधिकारी निर्वाचित गराएर भएपनि पार्टीको वैधानिकता जोगाउनुपर्ने बताए । तर पौडेलले पक्षका महामन्त्री शशांक कोइराला भने विशेष महाधिवेशनको विपक्षमा छन् । आजको बैठकमा पनि पौडेलले र शशांकले महाधिवेशनका विषयमा फरक मत राखेका थिए ।

पौडेलले विशेष महाधिवेशनमा जोड दिँदा शशांकले मंसिरमा महाधिवेशन गर्नु उपयुक्त हुने तर्क राखेका थिए । पौडेलले कुन आधारमा मंसिरमा महाधिवेशन सार्नुपर्ने धारणा राखेको भनेर शशांकलाई प्रश्न गरेका थिए । 
जवाफमा उनले समय अभाव, कोरोना महामारी, बर्षा याम र आसन्न चाड पर्वलाई मध्यनजर गरी मंसिरमा महाधिवेशन गर्न उपयुक्त हुने आफ्नो राय रहेको सुनाएका थिए । तर पौडेलले भदौ २३ उता महाधिवेशन सार्ने कुराले पार्टीमाथि संवैधानिक संकट खडा हुने चेतावनी दिए ।

पौडेलले पार्टीको संवैधानिक संकटको विषय उठाइरहँदा शशांकले व्यवहारिक र वास्तविकता बुझेर अगाडि जानुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप