शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘एसएमजी’ हतियार चोरी प्रकरण : सैनिक अदालतमाथि प्रश्न

चोरी आरोपमा दुई सैनिक २८ महिनादेखि हिरासतमा, हतियारमा भने अर्कैको साथमा
मङ्गलबार, २६ साउन २०७८, १९ : २७
मङ्गलबार, २६ साउन २०७८


काठमाडौँ । चितवन स्थित सेनाको कालीबहादुर गणबाट दुई वर्षअघि स्वचालित सट मेशिन गन (एसएमजी) हरायो । ०७५ पुस ३ मा ‘एसएमजी’ चोरी भएको थियो । हतियार चोरेको आरोपमा कालीबहादुर गणका अमलदार लव कुमार गुरुङ र जवान सरोज तामाङ २८ महिनादेखि थुनामा छन् । 

२०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले उदयपुर घर भएका गुरुङ र मोरङ सुन्दरहरैँचा घर भएका तामाङलाई पुर्पक्षमा पठाउने फैसला गरेको थियो । उनीहरु अहिले कारागार कार्यालय भरतपुरमा छन् । जङ्गी अड्डाबाट खटिएका सैनिक अदालतका तत्कालीन अध्यक्ष (सहायक रथी) सहदेव खड्काले सैनिक ऐन–०६३ अनुसार लव कुमार गुरुङलाई १० वर्ष र सरोज तामाङलाई ७ वर्ष कैद सजाय गर्ने फैसला सुनाए । 

सेनाको आन्तरिक अनुसन्धान र समरी जनरल सैनिक अदालतले फैसला गरेको दुई वर्षपछि सैनिक जवान गंगाधर ढकालको साथमा सो हतियार भेटिएको छ । चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा साउन ७ मा  मृत फेला परेका सैनिक हुद्दा भरत गुरुङको हत्यामा सोही चोरी भनिएको हतियार प्रयोग भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । गुरुङलाई सैनिक जवान गंगाधर ढकालले गोली हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । 

महेन्द्रदल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखामा कार्यरत गंगाधर ढकालले हत्यामा स्वचालित सब मेशिन गन (एसएमजी) प्रयोग गरेको चितवनका एसपी ओम अधिकारीले रातोपाटीलाई बताए । गुरुङ पनि महेन्द्रदल गण राष्ट्रिय निकुञ्ज शिवपुरीमा कार्यरत थिए । 

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार हत्यामा बट नम्बर ‘केआर–१००७९२’ नम्बरको एसएमजी प्रयोग भएको छ । दुई वर्षअघि चोरी भएको हतियारको नम्बर पनि त्यही भएको एक जना सैनिक अधिकारीले दाबी गरेका छन् । 

दुई वर्षअघि एसएमजी फेला परेपछि सैनिक अदालतको आदेश र नेपाली सेनाले गरेको आन्तरिक अनुसन्धानमाथि प्रश्न उठेको छ । नेपाली सेनाले त्यसबारे छानबिन गर्न जङ्गी अड्डाबाट विशेष टोली चितवन पठाएको छ । ‘छानबिनका गर्न विशेष टोली चितवन पठाएका छौँ,’ सैनिक प्रवक्ता (सहायक रथी) सन्तोष वल्लभ पौड्यालले रातोपाटीसँग भने–‘छानबिनबाट आउने रिपोर्टका आधारमा निर्णय गर्छौँ ।’ 

सैनिक प्रवक्ता पौड्यालले ‘एसएमजी’ हतियार प्रकरणका धेरै प्रश्न अनुत्तरित भएको बताए । पौड्यालले भने–‘छानबिनबाट हामी सबै प्रश्नको उत्तर खोज्दै छौँ ।’ 

कसरी चोरियो ?

‘एसएमजी’ हतियारसहित पक्राउ परेका सैनिक जवान गंगाधर कालीबहादुर गणका होइनन् । महेन्द्रदल गणको पल्टन चितवनमा हुँदा उनी त्यहाँ कार्यरत थिए । झापाबाट कालीबहादुर गणको पल्टन चितवन सरेपछि महेन्द्रदल गण त्यहाँबाट शिवपुरीमा सरेको थियो । चितवनमा हुँदा ढकालले एरिया अध्ययन गरेर पछि हतियार चोरेको सैनिक अधिकारीहरू बताउँछन् । 

हत्या आरोपी सैनिक जवान चितवनको कालिका नगरपालिका–२१ पदमपुरका हुन् । झ्यालको जाली उधारेर अङ्कुसेले तानेर हतियार चोरेको सैनिक अनुसन्धानबाट थाहा भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका ढकालले प्रहरीसँग ‘अङ्कुशेले तानेर एसएमजी चोरेको’ बयान दिएका छन् । 

हतियार चोरी भएको साँझ कालीबहादुर गणका अमलदार लव कुमार गुरुङ र जवान सरोज तामाङ दोहोरी साँझमा गएका थिए ।  गण नजिकै रहेको ‘फेमिली दोहोरी साँझ’मा गएको पुष्टि भएपछि सोही ‘क्लू’मा टेकेर समरी जनरल सैनिक अदालतले उनीहरूलाई जेल सजाय हुने फैसला गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप