शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आचार्य नेतृत्वको सरकार कार्तिक १५ मै बिदा होला त ?

बिहीबार, ११ कात्तिक २०७८, १८ : २०
बिहीबार, ११ कात्तिक २०७८

 बागमती प्रदेशमा बिहीबार गठबन्धन सरकार गठन भए पनि प्रदेश १ मा नेपाली काँग्रेसको लफडाका कारण मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारको आयु लम्बिएको छ । केन्द्रमा पाँच दलीय गठबन्धनबीचको सहमति अनुसार काँग्रेस अघि बढेको भए प्रदेश १ मा तीन दिन अघि नै सरकार परिवर्तन भइसक्थ्यो । काँग्रेसभित्र शेखर कोइराला पक्षले प्रदेश १ सरकारको नेतृत्व आलोपालो गर्ने अडान राखेका कारण कात्तिक ७ गतेका लागि बोलाइएको प्रदेशसभा बैठक कात्तिक १५ गतेका लागि सारिएको छ ।

प्रदेशसभा बैठक सार्नुमा काँग्रेसकै भूमिका देखिएको थियो । काँग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणलाई देखाउँदै कात्तिक ७ का लागि तय भएको प्रदेशसभा बैठक रोक्न प्रदेशसभा सचिवालयमा निवेदन दिएको थियो । लगत्तै सत्तारुढ नेकपा एमालेले पनि पालिका अधिवेशन लगायतको कारण देखाउँदै कात्तिक ७ गतेको बैठक रोक्न प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएको थियो ।

गत शुक्रबार प्रदेशसभामा पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफलसहित मत विभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले गत आइतबार साढे १२ बजेको समय तोकेका थिए । मतदानका लागि प्रदेशसभा सचिवालयले पनि तयारी गरेको थियो । तर अन्तिम समयमा नेपाली काँग्रेसले र सत्तारुढ दल एमालेले प्रदेशसभा बैठक सार्न निवेदन दिएपछि भीम आचार्य नेतृत्वको सरकारले कात्तिक १५ गतेमात्रै विश्वासको मत लिनुपर्ने भएको छ । सभामुख भण्डारीले विश्वासको मतको छिनोफानोका लागि कात्तिक १५ गते प्रदेशसभा बैठक डाकेका छन् ।

काँग्रेसभित्रको आन्तरिक किचलोका कारण एक साता आयु थपिएको सरकारले अझै केही दिन आफ्नो आयु लम्ब्याउन सक्ने आशंका गरिएको छ । काँग्रेसभित्रको विवाद समाधान नभएका कारण कात्तिक १५ गते पनि विश्वासको मतसम्बन्धी छिनोफानो हुने निश्चित नभएको हो । 

काँग्रेसले सरकारको नेतृत्व आलोपालो हुनुपर्ने माग गरिरहेको छ । नयाँ सरकारमा जाने मन्त्रीका लागि पनि हानथाप छ । हानथापका बीच आइतबार काँग्रेस नेता डा. शेखर कोइराला निकट नेताहरूले फ्लोरक्रसको हल्ला चलाएका थिए ।

सत्ता परिवर्तन अघि बागमती प्रदेशसमा जस्तै प्रदेश १ मा पनि आलोपालो नेतृत्व हुने गरी निर्णय गर्नुपर्ने काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाको माग छ । कोइरालाको मागप्रति काँग्रेस नेतृत्वले भने चासो देखाएको छैन ।

काँग्रेस संसदीय दलका नेता कोइरालाले अब बस्ने प्रदेशसभा बैठकमा पार्टी एक ढिक्का भएर उभिने बताए । रातोपाटीसँग उनले भने, ‘सरकार सञ्चालनमा आलोपालोको विषय उठ्नु स्वाभाविक छ ।’ यस विषयमा दबाब सिर्जना गर्ने काम पनि भइरहेको उनले बताए । यद्यपि केन्द्रमा भएको सहमति पूर्ण कार्यान्वयन गर्नेमा काँग्रेसमा एकमत रहेको उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो कात्तिक १५ गते सरकारको छिनोफानो हुने बताउँछन् । उनले आइतबारको बैठक सरेपछि गठबन्धनका घटकहरुबीच छलफल भएको र काँग्रेसले अबको बैठक नसार्ने प्रतिबद्धता जनाएको बताए ।

‘कात्तिक १५ गतेको प्रदेशसभा बैठकपछि गठबन्धनबाट नयाँ सरकार गठन हुनेछ,’ आङ्बोले भने, ‘केन्द्रको सहमति अनुसार स्वाभाविक रुपमा सरकारको नेतृत्व नेकपा एकीकृत समाजबादी पार्टीले गर्ने छ ।’

आङ्बोले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने विषय गठबन्धनभित्रको लफडाभन्दा पनि काँग्रेसभित्रको लफडा भएकोले आन्तरिक समस्यालाई काँग्रेसले नै सुल्झयाउने बताए ।

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले मुख्यमन्त्री आचार्य अल्पमतमा रहेकाले कात्तिक १५ गते बस्ने प्रदेशसभाको बैठकपछि आचार्य नेतृत्वको सरकारको बहिर्गमन निश्चित रहेको बताए ।

राईले एमाले नेतृत्वको सरकारको बहिर्गमनपछि प्रदेश १ मा गठबन्धनभित्रको दल नेकपा एकीकृत समाजवादीको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरे ।

‘केन्द्रको सहमतिमा पूरा कार्यकाल समाजवादीले प्रदेश सरकारको नेतृत्व लिनेमा कुनै आशंका गर्ने ठाँउ छैन,’ राईले भने, ‘केन्द्रको सहमति काँग्रेसले प्रदेशमा पनि पूरा कार्यान्वयन गर्नेछ ।’

कतैबाट कुनै जालसाजी नभएको खण्डमा यही हप्ताभित्र प्रदेश १ ले नयाँ सरकार पाउने उनले बताए । केन्द्रमा भएको सहमति बिथोलिने गरी काँग्रेसले प्रदेशमा आलोपालोको बखेडा निकाल्न नहुने राईको भनाइ छ ।

९२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेसँग ४१ सांसद छन् । प्रदेशमा बहुमतका लागि कम्तीमा ४७ मत आवश्यक पर्छ । विपक्षी गठबन्धनसँग ५० जना सांसद भएका कारण मुख्यमन्त्री आचार्य अल्पमतमा छन् ।

प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई गठबन्धनले अघि सारेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप