बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

आज इङल्यान्ड र न्युजिल्यान्ड भिड्दै

बुधबार, २४ कात्तिक २०७८, ११ : २९
बुधबार, २४ कात्तिक २०७८

टी २० विश्वकप २०२१ को पहिलो सेमिफाइनलमा आज इङल्यान्ड र न्युजिल्यान्ड भिड्दैछन् । क्रिकेट कमेन्टेटर सुशिल दोषीका अनुसार यी दुबै टिम फाइनल खेल्नका लागि हकदार छन् । त्यसैले सेमिफाइनल खेलमा पावर प्लेको खेल निर्णायक साबित हुनसक्छ । 

इंग्लिस टिमको ब्याटिङ केही उत्कृष्ट रहेको उनले बताए । ‘यो टिम एक अलग अप्रोचबाट खेल्छ र पहिलोदेखि अन्तिम बलसम्म हिटिङ गर्छ । तर न्युजिल्यान्डलाई पनि कम आँक्न सकिन्न । उसँग त्यस्ता बलर छन्, जो योजनाबद्ध रुपमा बलिङ गर्छन् र इंग्लिस ब्याट्सम्यानहरुलाई दबाबमा राख्न सक्षम छन् ।’ न्युजिल्यान्डका टेन्ट बोल्ट, टिम साउथी र इस सोधी निकै घातक बलर हुन् । त्यस्तै, मार्टिन गुप्टिल र केन विलियमसनजस्ता सदाबहार ब्याट्सम्यान पनि न्युजिल्यान्डमा छन् । 

यता, इङल्यान्डसँग जोस बट्लर, कप्तान इयोन मोर्गान, मोइन अलीसहित एक से एक उत्कृष्ट ब्याट्सम्यान छन् । बट्लर जारी प्रतियोगितामा निकै फर्ममा छन् । उनले जारी प्रतियोगिताका ५ खेलमा सर्वाधिक १३ छक्का लगाएका छन् । सर्वाधिक रन बनाउनेको सूचीमा २ सय ४० रनसहित पाकिस्तानका बाबर आजमपछि दोस्रो स्थानमा छन् । उनले श्रीलंकाविरुद्ध शतक समेत लगाएका थिए । \

चोट

विश्वकपअघि नै इङल्यान्डका केही महत्वपूर्ण खेलाडी घाइते भए । बेन स्टोक्स र जोफ्रा आर्चर यस सूचीमा परेर विश्वकप गुमाउन बाध्य खेलाडी हुन् । औँलामा चोट लागेका स्टोक्सले मानसिक आराम आवश्यक परेको भन्दै केही समय क्रिकेटबाट विश्राम लिएका छन् । यता, आर्चरको कुर्कुच्चामा चोट लागेको थियो । 

तर यी दुई स्टार खेलाडीको अनुपस्थितिमा पनि इङ्ग्ल्यान्डले अस्ट्रेलियालाई पछि पारेर समूह समूहबाट विजेताका रुपमा सेमिफाइनल यात्रा गर्यो । तर, अझै पनि इङ्ग्ल्यान्डले चैनको सास फेर्न पाएको छैन । किनकि, दक्षिण अफ्रिका विरुद्धको समूह चरणको अन्तिम खेलमा जासोन रोय घाइते भए । निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका रोय आफ्नो टिममा निर्विकल्पजस्तै थिए । उनको अभाव सायद, अब जोन्नी वारिष्टोले पूर्ति गर्ने प्रयास गर्नेछन् । 

२०१९ को त्यो फाइनल भिडन्त 

दुई टिम विश्वकपमा भिड्दा पक्कै पनि २०१९ को एकदिवसीय विश्वकपको फाइनल भिडन्तको याद आउनेछ ।  यतिबेला खेल दुबै टिमले समान २ सय ४१ रन बनाएपछि बाउन्ड्री काउन्ट अर्थात् धेरै छक्का–चौका लगाएको आधारमा विजेता चयन गरिएको थियो । 

इङल्यान्डले २ छक्का र २२ चौका लगाएको थियो । न्युजिल्यान्डले २ छक्का र १४ चौका लगाएको थियो ।  त्यसैले इङ्ल्यान्ड विजेता चुनियो । यतिबेला इङ्ग्ल्यान्डका लागि वेन स्टोक्सले सर्वाधिक ८४ रन बनाएका थिए । 
कोरोना भाइरस महामारीका कारण केही समय क्रिकेट ठप्प भएपछि अहिले दुबै टोलीमा धेरथोर परिवर्तन आएको छ । 

तत्कालीन समयको लर्डस् र अहिलेको युएईको मैदान पनि फरक छ । एकदिवसीय विश्वकप र टी २० विश्वकप भएकाले फरम्याट फरक छ र यस खेल जित्ने टोलीले फाइनलमा फेरि अर्को टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । 

हेड टु हेड 
टी २० क्रिकेटमा दुई देशबीच खेलिएका २१ खेलमध्ये इङ्ग्ल्यान्डले १२ खेल जितेको छ । त्यस्तै, न्युजिल्यान्डले ७ खेल जितेको छ । एक खेल बराबरीमै सकिएको छ भने एक खेल नतिजाविहीन भएको थियो । 

पछिल्लो फर्म 

पछिल्ला पाँच खेलमध्ये इङ्ग्ल्यान्डले चार खेल जितेको छ । समूह चरणमा अस्ट्रेलिया, वेस्ट इन्डिज, श्रीलंका र बंगलादेशलाई हराएको इङ्ल्यान्ड अन्तिम खेलमा भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो । न्युजिल्यान्डले पनि समूह चरणका पाँचमध्ये चार खेल जित्यो । सुरुवाती खेलमा पाकिस्तानसँग पराजित भएको न्युजिल्यान्डले त्यसपछि लगातार चार खेल जित्यो । उसले भारत, अफगानिस्तान, स्कटल्यान्ड र नामिबियाविरुद्ध जित हासिल गर्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप