शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सांसदको उपचार खर्च : ८ सय रुपैयाँदेखि साढे ४ लाखसम्म भुक्तानी

उपचारमै ३५ लाख २३ हजार ५७४ सकियो, कसले कति लिए ?
सोमबार, २९ कात्तिक २०७८, ०७ : ०६
सोमबार, २९ कात्तिक २०७८

संघीय संसद्अन्तरगत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले १६ महिनामा ३५ लाख २३ हजार ५ सय ७४ रूपमा औषधी उपचार खर्च भुक्तानी लिएका छन् । २०७७ साल साउनदेखि २०७८ साल कार्तिक १५ गतेसम्म प्रतिनिधि सभाका ४४ सांसदले कूल २७ लाख ४३ हजार २ सय ६७ रुपैयाँ र राष्ट्रिय सभाका १५ सांसदले ७ लाख ८० हजार ३ सय ७ रुपैयाँ संघीय संसद् सचिवालयबाट औषधी उपचार बापतको खर्च लिएका छन् ।

संसद् सचिवालयबाट रातोपाटीले प्राप्त गरेको विवरण अनुसार आर्थिक वर्ष २०७७/०७८ अर्थात् २०७७ साउनदेखि २०७८ असार मसान्तसम्म प्रतिनिधि सभाका सांसदहरूले २१ लाख ९४ हजार ८ सय २५ रुपैयाँ उपचार खर्च लिएका छन् । सोही अवधिमा राष्ट्रिय सभाका सांसदहरूले ७ लाख ३० हजार १ सय १७ रुपैयाँ गरी कूल २९ लाख २४ हजार ९ सय ४२ रुपैयाँ उपचार खर्च भुक्तानी लिएका छन् ।

यस्तै यही आर्थिक वर्षको साउनदेखि गत कार्तिक १५ गतेसम्म साढे ३ महिनामा प्रतिनिधि सभाका सांसदहरूले ५ लाख ४८ हजार ४ सय ४२ रुपैयाँ र राष्ट्रिय सभाका सांसदहरूले ५० हजार १ सय ९० रुपैयाँ गरी कूल ५ लाख ९८ हजार ६ सय ३२ रुपैयाँ औषधी उपचार खर्च भुक्तानी लिएका छन् ।

१६ महिनाभित्र सांसदहरूले लिएको औषधी उपचार खर्च हेर्दा ८ सय रुपैयाँदेखि साढे ४ लाख रुपैयाँसम्म खर्च भुक्तानी भएको हो ।

क–कसले कति लिए ?

प्रतिनिधि सभा मोरङ १ का सांसद घनश्याम खतिवडाले १८ हजार १ सय ३९ रुपैयाँ, बर्दियाकी सांसद विमला विकले २४ हजार ६ सय ४६ रुपैयाँ, खोटाङका सांसद हिरा गुरुङले ७ हजार १ सय ८३ रुपैयाँ, चितवनकी सांसद उमा रेग्मीले विभिन्न ३ वटा मितिमा गरेर ५० हजार २ सय १३ रुपैयाँ, धनुषाका सांसद स्मृतिनारायण चौधरीले विभिन्न ५ वटा मितिमा ६० हजार ५ सय २० रुपैयाँ लिएका छन् ।

यस्तै बागलुङकी स्व.सांसद ज्ञानकुमारी छन्त्यालको उपचार खर्चबाट ४ लाख ५७ हजार २ सय ४१ रुपैयाँ निकासा भएको छ भने इलामकी स्व. सांसद सानु सिवालाई २ फरक मितिमा गरेर ९८ हजार ६ सय ७१ रुपैयाँ भुक्तानी भएको छ । सर्लाहीकी सांसद मीना पाण्डेले दुई फरक मितिमा गरेर २ लाख ४१ हजार ६ सय ६७ रुपैयाँ उपचार खर्च भुक्तानी लिएकी छिन् ।

कैलालीकी सांसद कलुदेवी विश्वकर्माले १३ हजार ३ सय १४ रुपैयाँ, धनुषाकी सांसद मिनाक्षी झाले १ लाख ५८ हजार ३ सय ९७ रुपैयाँ, काभ्रेपलाञ्चोककी सांसद नवीना लामाले १ लाख २७ हजार ६ सय ४० रुपैयाँ उपचार खर्च लिएकी छिन् ।

अछाम २ का सांसद यज्ञबहादुर बोगटीले २ फरक मितिमा गरेर २५ हजार ६ सय १९ रुपैयाँ, एमालेका पूर्व मन्त्री एवं सिरहा क्षेत्र नम्बर ३ का सांसद लिलानाथ श्रेष्ठले ९ हजार ३ सय ७० रुपैयाँ, तेह्रथुमका सांसद विजय सुब्बाले २२ हजार ३ सय ७७ रुपैयाँ, काठमाडौँकी सांसद अञ्जना विशंखेले ३ हजार रुपैयाँ, पाल्पा १ का सांसद दलबहादुर रानाले १ लाख ३० हजार ७० रुपैयाँ उपचार खर्च लिएका छन् ।

यस्तै अर्घाखाँचीका सांसद मानबहादुर विकले दुई मितिमा गरेर ६३ हजार १ सय ९१ रुपैयाँ, झापाकी सांसद महेन्द्र कुमारी लिम्बुले २ पटक गरेर २ लाख १० हजार ७४ रुपैयाँ, धादिङ २ का सांसद खेमप्रसाद लोहनीले २ पटक गरेर १० हजार ५ सय ७१ रुपैयाँ, लमजुङ १ का सांसद देवप्रसाद गुरुङले ५८ हजार ७ सय ४८ रुपैयाँ उपचार खर्च लिएका छन् ।

विकास समितिकी सभापति समेत रौतहटकी सांसद कल्याणी खड्काले २ पटक गरेर ४३ हजार ४ सय ११ रुपैयाँ, उद्योग समितिका सभापति समेत रहेका पर्सा २ का सांसद विमलप्रसाद श्रीवास्तवले २ पटक गरेर ९४ हजार १ रुपैयाँ, बाँकेकी सांसद सरवत आरा खानम हलवाइनीले ९ हजार ३९ रुपैयाँ लिएका छन् ।

त्यसैगरी सप्तरीकी सांसद सरिताकुमारी गिरीले १९ हजार ६ सय ५१ रुपैयाँ, दाङका सांसद विष्णु शर्माले ९ हजार ८ सय ५५ रुपैयाँ, रौतहटकी सांसद सरलाकुमारी यादवले ९ हजार २ सय ७२ रुपैँया, सप्तरीकी सांसद रानी मण्डलले ५६ हजार ६ सय ८३ रुपैयाँ उपचार खर्च भुक्तानी लिएका छन् ।

यस्तै नवलपरासीक सांसद सत्यनारायण शर्मा खनालले ३५ हजार २ सय ८ रुपैयाँ, सर्लाहीकी सांसद चन्दा चौधरीले १४ हजार ३ सय ७६ रुपैयाँ र संसद्को सार्वजनिक लेखा समितिका सभापति एवं रुपन्देही ५ का सांसद भरत कुमार शाहले ९३ हजार ५ सय ६३ रुपैयाँ उपचार खर्च लिएका छन् ।

राष्ट्रिय सभाका सांसदले लिएको उपचार खर्च

राष्ट्रिय सभाका ५९ सांसद मध्ये १५ जना सांसदले आर्थिक वर्ष २०७७/०७८ मा संघीय संसद् सचिवालयबाट उपचार खर्च भुक्तानी गरेका छन् । राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले २ पटक गरेर १ लाख ५७ हजार ९ सय ९३ रुपैयाँ औषधी उपचार खर्च भुक्तानी लिएकी छिन् ।

राष्ट्रिय सभाकी सांसद शारदादेवी भट्टले चार पटक गरेर ३३ हजार ५ सय ९४ रुपैयाँ, सांसद नरपति लुवारले ३ हजार १ सय ३५ रुपैयाँ, सांसद शान्तिकुमारी अधिकारी जिसीले ३ पटक गरेर ४७ हजार ३ सय २ रुपैयाँ, सांसद अगमप्रसाद बान्तवा राईले २ पटक गरेर ३० हजार १ सय ६१ रुपैयाँ औषधी उपचार बापतको रकम भुक्तानी लिएका छन् ।

सांसद सुमित्रा बि.सी.ले ३ पटक गरेर १ लाख ८० हजार १ सय ६६ रुपैयाँ, नैनकला ओझाले २७ हजार ३ सय ६१ रुपैयाँ, भैरवसुन्दर श्रेष्ठले २ पटक गरेर २१ हजार ३ सय ९० रुपैयाँ, गंगाकुमारी बेल्बासेले ८ हजार ७ सय ८२ रुपैयाँ, दिनानाथ शर्माले १४ हजार ४ सय १२ रुपैयाँ, रामलखन चमारले ५१ हजार ५ सय ७७ रुपैयाँ, रामचन्द्र राईले १४ हजार ८ सय २४ रुपैयाँ, शेरबहादुर कुँवरले ९ हजार २ सय ६९ रुपैयाँ, गोपाल भट्टराईले २२ हजार ५८ रुपैयाँ भुक्तानी लिएका छन् ।

यस्तै स्वर्गीय सांसद दुर्गाप्रसाद उपाध्यायलाई १ लाख ८ हजार १ सय ४७ रुपैयाँ औषधी उपचार खर्च दिइएको थियो ।

यो वर्ष साउनदेखि कात्तिकसम्म उपचार खर्च लिने प्रतिनिधि सभाका सांसद

गत साउन १ गतेदेखि कार्तिक १५ गतेसम्म संघीय संसद्का २५ सांसदले औषधी उपचार खर्च लिएका छन् । जसमध्ये प्रतिनिधि सभाका १७ सांसदले भुक्तानी लिएका छन् । प्रतिनिधि सभा अन्तर्गत पर्साकी सांसद पुष्पाकुमारी कर्ण कायस्तले १३ हजार ८ सय ५२ रुपैयाँ, उदयपुर २ का सांसद सुरेशकुमार राईले ८८ हजार १ सय ४६ रुपैयाँ र सुर्खेत २ का सांसद नवराज रावतले २ पटक गरेर ४४ हजार ६ सय १८ रुपैयाँ लिएका छन् ।

त्यसैगरी चितवनकी सांसद उमा रेग्मीले २ पटक गरेर १८ हजार ३ सय १७ रुपैयाँ लिएकी छिन् भने नवलपरासी पूर्वका सांसद सत्यनारायण शर्मा खनालले ३ पटक गरेर ३१ हजार ३ सय ३७ रुपैयाँ लिएका छन् ।

तेह्रथुमका सांसद भवानी खापुङले १६ हजार १ सय ९६ रुपैयाँ लिएका छन् भने दार्चुलाका सांसद गणेश सिंह ठगुन्नाले ६० हजार ६ सय ५३ रुपैयाँ औषधी उपचार खर्च भुक्तानी लिएका छन् ।

यस्तै धनुषाका स्मृतिनारायण चौधरीले २ पटक गरेर १८ हजार ८ सय ४६ रुपैयाँ लिएका छन् भने धादिङ २ का सांसद खेमप्रसाद लोहनीले ८ हजार २ रुपैयाँ लिएका छन् । पर्साकी सांसद चाँद तारा कुमारीले २ पटक गरेर १८ हजार ७ सय ५५ रुपैयाँ, ललितपुर २ का सांसद कृष्णलाल महर्जनले ८८ हजार ४ सय ५ रुपैयाँ र हुम्लाका सांसद छक्क बहादुर लामाले ५१ हजार १ सय २१ रुपैयाँ उपचार खर्च लिएका छन् ।

त्यस्तै, बाँकेकी सांसद सरवत आरा खानम हलवाइनीले ९ हजार १५ रुपैयाँ, सप्तरीकी सांसद सरिताकुमारी गिरीले १९ सय ८३ रुपैयाँ, सिरहा ३ का सांसद लीलानाथ श्रेष्ठले १३ हजार ६ सय ५ रुपैयाँ, इलाम ३ कि सांसद सुजाता परियारले ४७ हजार ८ सय ५६ रुपैयाँ र दाङका सांसद विष्णु शर्माले १७ हजार ७ सय ३५ रुपैयाँ औषधी उपचार खर्च लिएका छन् ।

यो वर्ष साउनदेखि कार्तिक १५ गतेसम्म राष्ट्रिय सभाका सांसदहरूले लिएको उपचार खर्च

गत साउनदेखि कार्तिक १५ गतेसम्म राष्ट्रिय सभाका ८ सांसदहरूले औषधी उपचार खर्च लिएका छन् । जसअनुसार राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहालले ४ हजार ८ सय ५० रुपैयाँ, विमला घिमिरेले १० हजार ६ सय ३३ रुपैयाँ, सिंगबहादुर विश्वकर्माले ८ हजार १ सय ४२ रुपैयाँ, राम लखन चमारले ११ हजार १ सय ८४ रुपैयाँ भुक्तानी लिएका छन् ।

यस्तै सांसद शारदादेवी भट्टले ३ हजार २ सय २५ रुपैयाँ, खिमकुमार विश्वकर्माले ७ हजार ९ सय ५१ रुपैयाँ, सांसद सुमित्रा विसीले ३ हजार ३ सय ५५ रुपैयाँ र तुलसाकुमारी दाहालले ८ सय ५० रुपैयाँ औषधी उपचार खर्च भुक्तानी लिएकी छन् । 

अघिल्लो एक वर्षको सांसदहरूको उपचार खर्च

प्रतिनिधि सभाका सांसद : २१ लाख ९४ हजार ८ सय २५ रुपैयाँ

राष्ट्रिय सभाका सांसदः ७ लाख ३० हजार १ सय १७ रुपैयाँ

कूल : २९ लाख २४ हजार ९ सय ४२ रुपैयाँ

गत साउनदेखि कार्तिक १५ गतेसम्म साढे ३ महिनाको उपचार खर्च

प्रतिनिधि सभाका सांसद : ५ लाख ४८ हजार ४ सय ४२ रुपैयाँ

राष्ट्रिय सभाका सांसद : ५० हजार १ सय ९० रुपैयाँ  

कूल : ५ लाख ९८ हजार ६ सय ३२ रुपैयाँ

१६ महिनाको सांसदको उपचार खर्च भुक्तानी

प्रतिनिधि सभा कूल : २७ लाख ४३ हजार २ सय ६७ रुपैयाँ

राष्ट्रिय सभा कूल : ७ लाख ८० हजार ३ सय ७ रुपैयाँ

कूल : ३५ लाख २३ हजार ५ सय ७४ रुपैयाँ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप