मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

भीम रावलले ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ भनेजस्तो गर्नुभयो : महेश बस्नेत

सोमबार, १३ मङ्सिर २०७८, ०९ : ५७
सोमबार, १३ मङ्सिर २०७८

चितवन । नेकपा एमालेका युवा नेता महेश बस्नेतले पार्टीको दशौं महाधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने सन्दर्भमा भीम रावल, घनश्याम भुसालसहितका केही नेता बाधक बनेको टिप्पणी गरेका छन् ।

सोमबार बिहान पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुअघि बस्नेतले महाधिवेशन स्थलमा रातोपाटीसँग कुरा गर्दै केही पदमा निर्वाचनका माध्यमबाट नेतृत्व चयन गर्ने भए पनि पार्टीले लगभग सर्वसम्मत रुपमै नेतृत्व चयन प्रक्रिया टुङ्ग्याएको बताए ।

उनले भीम रावललाई उपाध्यक्षमा रहन प्रस्ताव गरिए पनि नमानेका कारण अध्यक्ष पदमा सर्वसम्मत हुन नसकेको बताए । ‘भीम रावल कमरेडलाई हामी सबैले, सिंगो हलले उपाध्यक्षमा बस्नुस् भन्ने अनुरोध गरियो । अध्यक्ष पछाडिको दोस्रो महत्वपूर्ण पद उपाध्यक्ष हो,’ उनले भने, ‘उहाँको अध्यक्ष हुने सम्भावना छैन । अध्यक्षमा उठेर हारेर राजनीतिलाई विसर्जन गर्न चाहन्छु, मलाई यति पनि मौका दिनुहुन्न भन्ने ढंगले उहाँको प्रस्तुति रह्यो ।’

रावलले ‘धेरै तयारी गरिसकेँ, म ब्याक हुन सक्दिन’ भनेको उल्लेख गर्दै बस्नेतले रावलको त्यो शब्द महाधिवेशन प्रतिनिधि साथीहरुले मन नपराएको पनि बताए ।

उनले भने, ‘उहाँले आफूलाई उपाध्यक्षका रुपमा नेतृत्व र सिंगो कार्यकर्ता पंक्तिले दिएको जिम्मेवारीलाई स्वीकार गरेर यो आन्दोलनमा लागेको भए उहाँको कम्युनिस्ट आन्दोलनप्रतिको विगतको जुन योगदान छ, त्यसलाई अझै पनि नेकपा एमालेले चाहेको थियो । त्यो कुरामा उहाँको एकखालको बहकाउ अयो, त्यो किन आयो हामीले बुझ्न सकेका छैनौं ।’

उनले देशकै एउटा ठुलो पार्टीको महाधिवेशनमा यस्ता केही अपवादहरु देखिनु स्वाभाविक भएको तर्क गरे । ‘मनसुली चामल किने पनि बासमती किने पनि एक दुई वटा बियाँ देखिन्छन्,’ उनले भने, ‘यत्रो सर्वसम्मतिको प्रक्रियामा एक दुई वटा बियाँ देखिएको छ । त्यो बियाँ हामी केलाएर मिलाएर जान्छौँ ।’

क्षेत्री स्वभाव कडा कडा हुने भएकाले पनि रावलले सहमतिमा आउन नचाहेको हुन सक्ने बस्नेतको भनाइ थियो ।

केपी ओली नै अध्यक्ष बन्नुपर्छ भन्ने सिंगो महाधिवेशन प्रतिनिधिको चाहना देखिएको भन्दै बस्नेतले अर्को मान्छेले म अध्यक्ष नभई छोड्दिनँ भन्नु ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ भनेजस्तो रहेको बताए ।

घनश्याम भुसालले पनि ‘हामीलाई हार्न दिनुहोस्’ भनेर चुतावमा जान माग गरेको उनले बताए । सहमतिमा नेतृत्व चयन गर्ने प्रक्रिया अन्तर्गत त्यसअघि भीम रावल र घनश्याम भुसाललाई उपाध्यक्षमा समेटेको भए पनि उनीहरुले चुनावमै जाने अडान लिएका कारण उनीहरुलाई उक्त सूचीबाट हटाइएको पनि बस्नेतले खुलासा गरे ।

‘यसरी उहाँहरु पदाधिकारीमा उहाँहरु नरहने स्थिति रह्यो,’ उनले भने, ‘आन्दोलन र एमालेलाई भन्दा पनि उहाँहरुलाई नै यसले क्षति भयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप