सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रेल्वे कम्पनीको तालाबन्दी प्रहरीले खोल्यो

सोमबार, १७ माघ २०७८, १५ : ४१
सोमबार, १७ माघ २०७८

पुराना कर्मचारीहरूले जनकपुरधाम स्थित नेपाल रेल्वे कम्पनीको कार्यालयमा लगाएको ताला प्रहरीले फुटाइदिएको छ । प्रहरीले ताला फुटाए पनि पुराना कर्मचारीहरूले आन्दोलनलाई जारी राखेका छन् ।

रेल्वे कर्मचारी संघर्ष समितिले शुक्रबार नेपाल रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका थिए । आन्दोलनरत कर्मचारीहरूले नेपाल रेल्वे कम्पनीद्वारा प्रहरी परिचालन गरेर सञ्चालन भइरहेको तालिम बन्द हुनुपर्ने, पुरानो तालिम प्राप्त कर्मचारीलाई बहाली गर्नुपर्ने, आफूहरूको पुरानो पारिश्रमिक भुक्तानी गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलित छन् ।

विगत करिब दुई हप्तादेखि धर्ना, प्रदर्शन गर्दै आए पनि सुनुवाइ नहुँदा बाध्य भएर आफूहरू आन्दोलित भएको सहायक स्टेशन मास्टर पदमा २०५८ सालदेखि नै कार्यरत मञ्जय गोइतले  बताए । कम्पनीका महाप्रबन्धक झाले ५५ जना नयाँ कर्मचारीलाई नियुक्त गरी तालिम दिन थालेपछि पुराना कर्मचारी आन्दोलन गर्नुपरेको उनको भनाइ छ ।

नवनियुक्त महाप्रबन्धक झाले कानुनी तथा प्राविधिक कारण देखाइ जयनगर–कुर्थाखण्डमा नियुक्त भएका कर्मचारीलाई एक्कासि सूचना निकालेर हटाएपछि उनीहरूले पुनः समायोजन गर्न माग गर्दै आएका छन् । पूर्व महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नियुक्त गरेका विभिन्न पदका १५१ जना ज्यालादारी कर्मचारीलाई नवनियुक्त महाप्रबन्धक झाले कानुनी प्रक्रिया विपरीत रहेको भन्दै हटाएका थिए ।

जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भइसकेको छ । नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरेर रेल सञ्चालन गर्ने तयारी गरे पनि सञ्चालन मिति अझैसम्म टुङ्गो लागिसकेको छैन । रेल सञ्चालनका लागि ज्यालादारीमा नियुक्ति गरिएका नयाँ कर्मचारीलाई भने रेल सम्बन्धी तालिम दिइसकिएको छ । रेललाई हाल धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित ईनर्वा स्टेसनमा सशस्त्र प्रहरीको निगरानीमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप