शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी

मङ्गलबार, १८ माघ २०७८, ०६ : २३
मङ्गलबार, १८ माघ २०७८

राजा रणबहादुर शाहले कस्तो हुक्का तान्थे ? पशुपति क्षेत्रको पश्चिम ढोका सामुन्ने रहेको पशुपतिनाथ महास्नान घरमा राजा रणबहादुरको हुक्का ज्यूँका त्यूँ छ । यो हुक्कालाई पशुपतिनाथ सङ्ग्रहालयमार्फत पशुपति क्षेत्र विकास कोषले प्रदर्शनीमा राख्ने योजना बनाएको छ । त्यसका लागि कोषले पशुपति क्षेत्रको महास्नान घरमा नै सङ्ग्रहालय स्थापना गर्ने भएको छ ।

त्यसका लागि कोषले ठ्याक्कै मिति भने तय गरिसकेको छैन तर पनि आगामी शिवरात्रिको आसपासमा प्रदर्शनी गराइने पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी रेवतीरमण अधिकारीले बताए । शिवरात्रि आगामी फागुन १५ गते परेको छ ।

इतिहासविद् डा. गोविन्द टण्डनका अनुसार महास्नानघर आफैँमा ऐतिहासिक महत्वको घर हो । नेपाल इन्भेस्टमेन्ट बैङ्कले करिब पाँच करोड रुपियाँको हाराहारीमा महास्नानघरलाई जीर्णोद्धार गरेपछि सङ्ग्रहालय बनाइने भएको हो ।

रणबहादुर शाहको पाला (वि.सं.) १८३४–१८५५० मा महाशिवरात्रिमा पशुपति दर्शनका लागि आएकी तिरहुतिया विधवालाई मन पराएर रानी बनाएका राजा रणबहादुरले रानी बिरामी पर्दा रोग निदानको कामना गर्दै यही घरबाट प्रत्येक पूर्णिमाका दिन ८४ व्यञ्जनसहित पशुपतिनाथ महास्नान चलाएका हुन् ।

सङ्ग्रहालयमा पृथ्वीनारायण शाहका पालाका सुब्बा कुलानन्द झा, लिच्छवि राजारानीका केही सालिक, मल्लकालका राजारानीका सालिक, कलात्मक पानस दियो र पशुपतिनाथ मन्दिरमा ठूलो बसाहा राख्नुअघिको बसाहालगायतका कलात्मक सामग्री हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप