शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा अमेरिकी सेना आउँछ भन्ने कुरा वाहियात हो : महत

शनिबार, ०७ फागुन २०७८, १७ : २७
शनिबार, ०७ फागुन २०७८

नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले एमसीसी नेपालको हितमा रहेको भन्दै सबै मिलेर यसलाई संसद्बाट पारित गर्नुपर्ने बताएका छन् । उनले एमसीसीबारे नेपालमा भएका सबै आलोचनामा कुनै सत्यता नरहेको पनि जिकिर गरे । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले फागुन १६ गतेभित्रै एमसीसी पारित गराउनुपर्नेमा जोड दिए । एमसीसी संसद्बाट पारित भए नेपालमा अमेरिकी सेना आउँछ भन्ने कुरा पनि वाहियात र गलत भएको उनको टिप्पणी छ । डा. महतले एमसीसी सम्झौता गर्दासम्म सबै दल सहभागी भएको उल्लेख गर्दै अब पारित गर्न पनि सबै दलले भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले भने, ‘एमसीसीमा हस्ताक्षर गर्दा माओवादी केन्द्र पनि सरकारमा थियो नि, पहिला हस्ताक्षर गर्ने माओवादी पनि हो । उहाँहरू पनि संलग्न हुनुहुन्थ्यो । त्यसैले सबै दलको सहमतिमा यो पारित नै होस भन्ने मेरो इच्छा हो । एमाले पनि एमसीसीको पक्षमा नै छ ।’

उनले काँग्रेसले एमालेसँग गठबन्धन गर्नेबारे कुनै निर्णय नगरेको पनि सुनाए । उनले थपे,‘एमाले एमसीसीको पक्षमा छ । देशको हितको सवालमा एक अर्का देशसँग सम्बन्ध बिगारेर जानुहुँदैन । एमसीसी निजी स्वार्थको लागि होइन, काँग्रेसले राष्ट्रिय हितको लागि पास गर्नुपर्छ भनेको हो। एमसीसीबारे भएका आलोचना गलत छन् ।’

उनले कम आए भएका मुलुकहरूलाई सहयोग गर्नको लागि अमेरिकाले यो एमसीसी स्थापना गरेको स्पष्ट पारे । एमसीसी दुई देशबीच भएकोले सम्झौता सोहीअनुसार यो सम्झौता कार्यान्वयन हुने पनि उनले विश्वास दिलाए । महतले अहिलेसम्म ३८ मुलुकसँग अमेरिकाले कम्प्याक्ट सम्झौता गरेको सुनाए । एमसीसीबारे अहिले भएका र गरिएका आलोचनाहरू सबै असत्य रहेको उनको टिप्पणी छ । 

उनले बौद्धिक सम्पत्ति पनि एमसीसीकै हुनसक्छ भनेर अर्को आलोचना भएको विषय उल्लेख गरे  । तर, त्यसमा पनि कुनै सत्यता नभएको उनको जिकिर थियो । उनले अहिले आएर एमसीसी सम्झौता संशोधन गर्न नसकिने पनि सुनाए । बरु, कुनै कुरा र विषयमा आशङ्का छ भने त्यसबारेमा स्पष्टीकरण माग्नुपर्छ भन्ने उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप