सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कम्युनिष्टहरुले चीनको इशारामा एमसीसीको विरोध गरे : रामचन्द्र पौडेल

शनिबार, १४ फागुन २०७८, १३ : ३४
शनिबार, १४ फागुन २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विगतमा सबै कम्युनिष्ट नेता एमसीसीका पक्षमा भएपनि अहिले चीनको इशारामा त्यसको विपक्षमा उभिएको आरोप लगाएका छन् । उनले  एमसीसी नेपालको हितमा रहेको र  विद्युत् शक्ति बेचेर नेपाललाई धनी बनाउन अमेरिकाले चाहेको समेत बताए । तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको सहिद विक्रम परियारको अर्धकदको शालिक आज अनावरण गर्दै उनले एमसीसीको विरोध गर्न नहुने बताए ।

उनले सहिदको योगदानलाई भुल्न नहुनेमा जोड दिए । नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएकाले सहिदलाई सदैव सम्मान गर्नुपर्ने बताएका हुन् । स्व.विक्रम परियारको योगदानलाई चिरस्थायी बनाउनुपर्नेमा जोड दिँदै नेता  पौडेलले भने, ‘सहिदको परिवारलाई काँग्रेसले सँधै सम्मान गर्छ ।’ 

सोही दलका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीले सहिदको उचित सम्मान गर्न नसकेको बताए । उनले काँग्रेसलाई सङ्गठित र व्यवस्थित पार्टी बनाउनुपर्नेमा जोड दिँदै त्यसो भएमात्रै सबै चुनाव काँग्रेसले जित्ने बताए । केन्द्रीय सदस्य गोविन्द भट्टराईले सहिद विक्रम परियारको परिवारलाई उचित व्यवस्थाका लागि पार्टीले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सहिद विक्रम परियारको सालिक र पार्क निर्माणका लागि नगरपालिकाका तर्फबाट रु १० लाख उपलब्ध गराइएको बताए । काँग्रेस जिल्ला सभापति जीतप्रकाश आलेले लोकतान्त्रिक आन्दोलनमा ज्यान गुमाएका सहिदलाई  पार्टीले सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

स्व.विक्रम परियार सालिक तथा पार्क निर्माण समितिले रु ११ लाखको लागतमा परियारको अर्धकदको सालिक निर्माण गर्न लगाएको थियो  । व्यास नगरपालिका–१२ का वीर उपरकोटीले सहिद परियारको शालिक निर्माण गरेका थिए । पार्कलाई थप व्यवस्थित गर्न बाँकी रहेको समितिका अध्यक्ष होमबहादुर बस्नेतले जानकारी दिए ।

गायन क्षेत्रमा सक्रिय परियारको वि.सं २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मतदान सकिएपछि केही युवाले हत्या गरेका थिए  । परियारको जन्म विसं २०३१ जेठ ११ गते बन्दीपुरको हुस्लाङमा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप