बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री भएको ११९ दिनपछि सय दिने प्राथमिकता सार्वजनिक

आइतबार, १५ फागुन २०७८, १९ : १६
आइतबार, १५ फागुन २०७८

प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफू मन्त्री भएको एक सय १९ दिनपछि आफ्ना सय दिने प्राथमिकता सार्वजनिक गरेका छन् । मन्त्री यादव गत कात्तिक १६ गते प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त भएका थिए । यद्यपि उनलाई मुख्यमन्त्री राजेन्द्र राईले गत माघ २३ गतेको मन्त्रिमण्डल पुनर्गठनमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको हो । यसअघि स्वास्थ्यको जिम्मा पनि सामाजिक विकास मन्त्रालय अन्तर्गत नै थियो । 

मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले एकसय दिने प्राथमिकताका २० बुँदा सार्वजनिक गरेका हुन् । उक्त २० बुँदामा प्रादेशिक स्वास्थ्य नीतिको खाका तयार गर्ने, पशुबाट मानिसमा सर्ने रोगहरूको नियन्त्रणका लागि एक स्वास्थ्य रणनीति तयार गर्ने, स्वास्थ्य बीमा बोर्डको प्रदेश १ को कार्यविधि तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा पेस गर्ने, मेची अस्पताललाई २ सय शय्यामा स्तरवृद्धि गर्न आवश्यक तयारी गरी स्वीकृतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा पेस गर्ने, विशेषज्ञ चिकित्सकको लागि सुविधा सम्बन्धको निर्देशिका स्वीकृतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा पेस गर्ने रहेको छ । 

प्राथमिकतामा स्वास्थ्य मन्त्रालयमा महाशाखा र शाखाको कार्य विवरण तयार गर्ने, प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था गर्ने,  प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा आफ्नै भवनबाट सुरु गर्ने, स्थानीय स्वास्थ्य संस्थाहरूको सुदृढीकरणको कार्यक्रम कार्यान्वयन गर्ने, मेची अस्पताल, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी, इनरुवा अस्पताल र गाईघाट अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा तथा प्रेषण प्रणाली सुदृढ गर्न एम्बुलेन्स हस्तान्तरण गर्ने प्राथमिकता रहेको मन्त्री यादवले पत्रकार सम्मेलनमा बताए । 

उनले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको लागि जग्गा व्यवस्थापन गर्ने, कोभिड १९ को अवस्था, खोप लगायतका सम्पूर्ण जानकारी नियमित रूपमा सार्वजनिक गर्ने, प्रोल्याप्स युटरेस र फिस्टुलाको शल्यक्रिया प्रदेश भित्रका अस्पतालसँग सम्झौता गरी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गर्ने, स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायको कर्मचारी दरबन्दीको अवस्था अध्ययन गरी रिक्त पद परिपूर्ति गर्न सम्बन्धित निकायमा पहल गर्ने, प्रदेशभरिका स्वास्थ्यकर्मीको रिक्त पदको विवरण सङ्कलन गरी लोक सेवा आयोगमा पठाइने, बजेटमा व्यवस्था भएका विभिन्न कार्यक्रम कार्यान्वयनका लागि आवश्यक मार्गदर्शन तयार गर्ने लगायतका प्राथमिकता रहेका छन् ।

पत्रकार सम्मेलनमा मन्त्री यादवले सीमित स्रोत साधनले नागरिकका अनेकौँ चाहना र स्वास्थ्य प्रणालीका चुनौतीहरू एकैचोटी समाधान गर्न नसकेपनि मन्त्रालयका गतिविधिलाई थप व्यवस्थित र सुदृढ गर्दै लाग्ने उद्देश्यले सय दिने कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइएको बताए । ‘कार्य योजनाका कार्यहरु प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटले निर्दिष्ट गरेका प्राथमिकता र तत्कालीन आवश्यकतालाई सम्बोधन गर्ने गरी तयार गरिएको छ,’ पत्रकार सम्मेलनमा यादवले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप