बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा बन्दको आंशिक प्रभाव

सोमबार, १६ फागुन २०७८, ११ : ०९
सोमबार, १६ फागुन २०७८

मिलेनियम च्यालेन्ज  कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता संसदबाट अनुमदन भएपछि त्यसको विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा आंशिक रुपमा परेको छ । विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै सोमबार नेपाल बन्दको आह्वान गरेका हुन् ।

बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लाहरूमा सार्वजनिक सवारीका साधन चलेका छैनन् । फाटफुट रुपमा निजी सवारी साधन भने गुडेका छन् । सहरका भित्री भागहरूमा भने अधिकांश पसलहरू खलेका छन् ।

लुम्बिनी प्रदेशका मुख्य मुख्य सहरहरू रुपन्देहीको बुटवल, भैरहवा, दाङको भालुवाङ, लमही, घोराही, बाँकेको नेपालगन्ज लगायतका क्षेत्रमा बन्दको आंशिक प्रभाव परेको छ । बन्दका कारण मुख्य राजमार्ग क्षेत्रका पसलहरू साथै सहरका मुख्य बजारहरू धेरैजसो बन्द रहे पनि आंशिक रुपमा खुलेका छन् । विद्यालयहरूले भने सोमबार बिहानै सूचना निकालेर बन्द हुने जानकारी गराएका थिए ।

लामो तथा छोटो दूरीका सवारी साधनहरू चल्न नसक्दा यात्रुहरू गन्तव्यमा पुग्न पाएका छैनन् । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ । बन्दका क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक ज्ञानु पाण्डेले जानकारी दिए । 

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले सददनबाट अनुमोदन गरिएको एमसीसी खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप