बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कोरोनापछिको शिवरात्रि : थरी थरी फूल, थरी थरी बाबा ! (फोटो)

१० हजार सुरक्षाकर्मी परिचालन, १० लाख दर्शनार्थी आउने अनुमान
सोमबार, १६ फागुन २०७८, १४ : ३८
सोमबार, १६ फागुन २०७८

महाशिवरात्रि पर्वका लागि आवश्यक व्यवस्थापन अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भोली रहेको शिवरात्रि पर्वमा झन्डै १० लाख हाराहारी भक्तजन पशुपति क्षेत्रमा दर्शनका लागि आउने अनुमानका साथ आवश्यक तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले रातोपाटीलाई जानकारी दिए । 

दर्शनार्थीहरुका लागि लाइन बस्न डोरी तान्ने, स्वयंसेवक परिचालन गर्ने लगायतका काम भइरहेको छ भने आज बेलुकादेखि नै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन हुँदैछन् । पशुपति क्षेत्रमा फूलहरू सजाउने काम करिब करिब सकिएको, स्वास्थ्य शिविरहरू पनि राखिसकिएको, भोजनस्थलहरुको व्यवस्थापन गरिएको प्रवक्ता अधिकारीले बताए । 

सुरक्षाकर्मी र स्वयंसेवक १५ हजार

यो वर्षको शिवरात्रि पर्वका लागि करिब ५ हजार स्वयंसेवक परिचालन गरिँदैछ । विभिन्न सङ्घसंस्थाहरूले कोषको कार्यालयबाट स्वयंसेवक बन्नका लागि अनुमति लिएर काम सुरु गर्दैछन् । यस्तै सुरक्षाका लागि झन्डै १० हजार सुरक्षाकर्मी परिचालन गरिँदैछ । नेपाल प्रहरीका ४ हजारदेखि ४५ सय, सशस्त्र प्रहरीको ३ हजारदेखि  ३५ सयसम्म र अन्य सुरक्षाकर्मी समेत गरेर १० हजार हाराहारी सुरक्षाकर्मी परिचालन हुने पशुपति क्षेत्र विकास कोषको भनाई छ । 

सोमबार बेलुकादेखि बुधबार बिहानसम्म पशुपति क्षेत्र परिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मी खटाइने, विभिन्न स्थानमा सिसीटिभी जडान गरेर सुरक्षा अवस्थाको निगरानी गर्ने व्यवस्था गरिएको छ । 

स्वास्थ्य स्टलका साथै स्टान्डबाई एम्बुलेन्स

दर्शनार्थीहरुको आकस्मिक उपचारका लागि विभिन्न स्वास्थ्य संस्थाहरूले कोषसँग अनुमति लिएर पशुपति क्षेत्रको विभिन्न भागमा स्वास्थ्य शिविरको स्टल राखेका छन् । मंगलबारसम्म करिब ६० वटा स्वास्थ्य संस्थाले आकस्मिक उपचारका लागि स्वास्थ्य स्टल राख्ने प्रवक्ता अधिकारीले जानकारी दिए । दुई तीनवटा अस्पतालले इसिजी सेवा समेत सञ्चालन गर्ने कोषलाई जानकारी गराएका छन् । दर्शनार्थीको लाइनमा पायक पर्ने गरी एम्बुलेन्सहरू तयारी अवस्थामा राख्ने तयारी भएको छ । प्रवक्ता अधिकारीले भने–‘६० हाराहारी स्वास्थ्य शिविर हुनेछन् । स्वास्थ्य शिविरमा मास्क सेनिटाइजर अनिवार्य गरिएको छ । आवश्यकता अनुसार निःशुल्क वितरणको व्यवस्था पनि गरिएको छ ।’

यस्तै भोजनालय, चिया वितरण, फलफूल वितरणका लागि झन्डै एक सयवटा संघ संस्थाहरू परिचालन भएका छन् । उनीहरूले पनि विभिन्न स्थानमा त्यस्ता स्टलहरू तयार पारिसकेका छन् ।  

यस्तो छ साधु सन्त व्यवस्थापन 

शिवरात्रि मनाउनका लागि नेपाल तथा भारतका विभिन्न स्थानबाट साधुसन्त भेला हुने क्रम बढिरहेको छ । साधुसन्तका लागि पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा बसोबास गर्ने व्यवस्था गरिएको छ  । 

कोषका प्रवक्ता अधिकारीले भने–‘आइतबार एकादशीको दिनदेखि नै साधुसन्त मन्दिरभित्र प्रवेश गरिसक्नुभएको छ । मन्दिर बाहिरको क्षेत्रमा पनि साधुसन्त बस्ने ठाउँ तोकिएको छ । राम मन्दिर क्षेत्र, भष्मेश्वर, शिवालय क्षेत्रमा साधुसन्त बस्ने व्यवस्था मिलाइएको छ । एकादशीको दिनदेखि शिवालय प्रवेश गरेका साधुसन्तलाई भोजन तथा चिया पानीको व्यवस्था गरिएको छ । हिजोसम्म आइपुग्ने साधुसन्तले कुन सम्प्रदायको हो, त्यही सम्प्रदायको पशुपतिमा रहेका उनीहरूका अखडाहरूमा सम्पर्क गरेर त्यही खाने बस्ने व्यवस्था मिलाइएको छ ।’

दर्शन गर्न पास छैन, यस्तो छ लाइनको व्यवस्था  

अघिल्ला केही वर्षमा पैसा तिरेर पास लिएपछि तुरुन्तै पशुपतिको दर्शन गर्ने व्यवस्था रहे पनि ओ वर्ष त्यस्तो व्यवस्था नरहेको कोषको भनाई छ । 

शिवरात्रिका दिन मन्दिर दर्शनका लागि छुट्टै पास वा पैसा लाग्ने व्यवस्था नरहेको प्रवक्ता अधिकारीले जानकारी दिए । लाइनमा बसेर सहज रूपमा दर्शन गर्न सकिने व्यवस्था मिलाइएको बताए । पशुपतिमा दर्शन गर्नका लागि ३ वटा क्षेत्रबाट मन्दिर प्रवेश गरेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

उत्तरी क्षेत्रबाट आउने दर्शनार्थीलाई तीलगंगा, गुह्वेश्वरी, गौरीघाट, उमापिण्ड, रुद्रकालेश्वरको उत्तरढोकाबाट मन्दिर प्राङ्गढबाट प्रवेश गराइने रातोपाटीलाई जानकारी दिए । शहरको मध्य क्षेत्रबाट आउने दर्शनार्थीहरुलाई सिफल, जयवागेश्वरी हुँदै मन्दिरको पश्चिम गेटबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । मन्दिर प्रवेश गर्ने गेटनजिकका स्थानहरुमा जुत्ता चप्पल राख्ने स्टल बनाइएको छ । 

दक्षिणी भागबाट मन्दिर प्रवेशका लागि गौशालाबाट पिङ्गलास्थान तर्फ लाइन लाग्ने र एयरर्पोट तर्फबाट आएको अर्को लाइन पिङ्गलास्थानमा भेट भएर समानान्तर रूपमा दुईवटा लाइन सुमार्गी भवनको अगाडिको भाग हुँदै मन्दिरतर्फ अघि बढ्ने व्यवस्था मिलाइएको छ । मन्दिरको ढोका नजिक पुगेपछि दुबै लाइनलाई एउटै बनाएर दक्षिण ढोकाबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । यो भागबाट आएको लाइनको जुत्ता चप्पल बज्रघर नजिक स्टल राखिएको छ । 

पशुपतिनाथको दर्शनका लागि साँझ राष्ट्रपति र पूर्वराजा जाने भएकोले उनीहरूका लागि पूजाका लागि विशेष व्यवस्था गरिएको कोषको भनाई छ । 

तस्बिर : कृष्ण खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप