आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धबाबाको मुद्दा अब मुख्य न्यायाधीशले पनि हेर्न नमिल्ने, अर्को सुनुवाइ चैत १५ गते

आधा न्यायाधीश ‘हेर्न नमिल्ने’को सूचीमा हुँदा सुनुवाइमै समस्या
बुधबार, २५ फागुन २०७८, १७ : १६
बुधबार, २५ फागुन २०७८

धरानको चतराधाममा बस्ने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीविरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत विराटनगरले चैत १५ गतेका लागि अर्को पेशी तोकेको छ ।

उच्च अदालत विराटनगरमा रहेको मुद्दाको पेशीमा आज भएको गोलाप्रथामा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश तेजनारायण सिंह राईको ३ नम्बर इजलासमा परेको थियो । उक्त इजलासमा सुनुवाइपछि मुख्य न्यायाधीश श्रेष्ठले ‘म रहितको इजलासमा पेस गर्नु’ भन्ने आदेश गरेका छन् । 

न्यायाधीश श्रेष्ठले यसअघि सुनसरी जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छाड्न दिएको थुनछेक आदेशलाई बदर गर्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका थिए । तर जिल्ला अदालतबाट सफाइ पाई उक्त मुद्दा सरकारवादी पुनरावेदनको रूपमा उच्च अदालतमा आएपछि न्यायाधीश श्रेष्ठले ‘हेर्न नमिल्ने’ मा परेको हो । पहिले नै सिद्धबाबा विपक्षी रहेको थुनछेक आदेश गर्ने न्यायाधीशले पुनरावेदनको रोहमा रहेको मुद्दा हेर्न नमिल्ने भन्दै विपक्षीका कानुन व्यवसायीले स्थगनको माग गरे पनि बुधबार सुनुवाइमा गएको थियो । यद्यपि मुख्य न्यायाधीश श्रेष्ठले आफूरहितको इजलासमा पेस गर्नु भन्ने आदेश दिएको उच्च अदालत विराटनगरका सूचना अधिकारीओमराज सुवेदीले बताए । 

सुवेदीका अनुसार सिद्धबाबा प्रकरणमा अब उच्च अदालत विराटनगरमा रहेका १० मध्ये ५ जना न्यायाधीशले सो मुद्दा हेर्न नमिल्ने भएको छ । सोही मुद्दामा न्यायाधीश प्रेमराज ढकाल र रेणुका साहले नेपाल सरकारले गरेको पुनरावेदनमा दुवै पक्षका झगडिया झिकाउने आदेश दिएका थिए । साह सरुवा भए पनि ढकाल उच्च अदालतमै रहेका छन् । 

यस्तै न्यायाधीश राजन प्रसाद भट्टराई प्रतिवादीका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता रमेश कोइरालाका नातेदार हुन् । उनले पनि सो मुद्दा हेर्न नमिल्ने भएको छ । यस्तै न्यायाधीश कृष्णकमल अधिकारी र जगतनारायण प्रधानले पनि सोही मुद्दामा झगडिया झिकाउने आदेश गरेका थिए । 

उक्त मुद्दा हेर्न मिल्ने न्यायाधीशहरू अब ५ जनामात्रै भएको कारण चैत १५ गतेको सुनुवाइ पनि नहुने देखिएको छ । यसका लागि न्यायाधीशहरूको सरुवा नभएसम्म अन्तिम फैसला आउने सम्भावना कम रहेको सूचना अधिकारीसुवेदीले बताए ।

सुनसरी जिल्ला अदालतको २०७७ मङ्सिर २२ गते गरेको फैसलामा सिद्धबाबा भनिने कृष्ण बहादुर गिरीले बलात्कार गरेको नभई आपसी सहमतिमै यौनसम्बन्ध स्थापित गरेको उल्लेख गरेको थियो । सिद्धबाबाकी भक्तजन रहेकी २६ वर्षीय महिलाले आफूमाथि बलात्कार नै भएकोले कारबाहीको माग गर्दै जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदनको मुद्दा दर्ता गराएकी थिइन् । 

गिरीले पनि जिल्ला अदालतको फैसलामा आफ्नो ब्रम्हचार्य तोडिएको फैसला आएको भन्दै त्यस्तो नभएको कारण पूर्ण सफाइको माग गर्दै अर्को मुद्दा दर्ता गराएका छन् । दुवै मुद्दालाई लगाउमा राखी अदालतले सुनुवाइ गरिरहेको छ ।

सोलुखुम्बु घर भई सुनसरीको बराहक्षेत्रस्थित पवित्र धार्मिक स्थलमा बस्ने गिरी आफूलाई बाल ब्रह्मचारी भएको दाबी गर्छन् । उनै धर्मगुरुले आफूमाथि बलात्कार गरेको भन्दै एक २६ वर्षीय अनुयायीले २०७७ मङ्सिर ११ गते महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दर्ता गरेकी थिइन् । कात्तिक ४ गते सिद्धबाबाले आश्रममा बोलाएर आफूलाई मोहित बनाएर बलात्कार गरेको ती महिलाको आरोप थियो । त्यस घटनाको विरुद्धमा २०७६ पुस १० गते सिद्धबाबाविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको थियो भने २०७७ मङ्सिर २२ गते जिल्ला अदालत सुनसरीले सिद्धबाबाले जबरजस्ती करणी गरेको नभई महिलाले ‘शरीर समर्पण’ गरेको कारण करणी लेनदेन भएको तर जबरजस्ती करणी नभएको फैसला दिएको थियो । 

सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले २०७७ साल मङ्सिर २२ गते गरेको फैसलामा सिद्धबाबाले राजीखुशीमै महिलासँग यौनसम्बन्ध राखेको उल्लेख छ । सुनसरी बराहक्षेत्र नगरपालिका–१ चतरा हनुमान मन्दिरस्थित जगत गुरु आश्रममा बस्ने सिद्धबाबा धर्मगुरु हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप