शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

स्थानीय चुनाव : गाउँ पसे दलहरू

सोमबार, ३० फागुन २०७८, १० : २६
सोमबार, ३० फागुन २०७८

प्रमुख पार्टीहरूले स्थानीय तहको निर्वाचनलक्षित कार्यक्रम अगाडि बढाएका छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरू कार्यक्रमका साथ गाउँ गाउँ पसेका हुन् ।सत्ताको नेतृत्वको गरेको नेपाली काँग्रेसले आइतबारबाट ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान थालेको छ । यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेले एक चरणको प्रदेशस्तरीय प्रशिक्षण सकेको छ ।

यता माओवादी केन्द्र प्रदेश प्रशिक्षण कार्यक्रम गरिरहेको छ भने नेकपा एकीकृत समाजवादी पनि आन्तरिक तयारीमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी चुनावीसभा नै थालिसकेको छ भने विवेकशील साझा पनि चुनावी रणनीति बनाइ रहेको छ ।

गाउँ पस्यो काँग्रेस

नेपाली काँग्रेसले ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ नारासहित एक महिने अभियान सुरु गरेको छ । केन्द्रीय प्रतिनिधि खटाएर आइतबारबाट काँग्रेसले उक्त अभियान सुरु गरेको हो । पार्टी महामन्त्री विश्वप्रकाश शर्माका अनुसार यो अभियान चैत २९ सम्म जारी रहने छ । तर केन्द्रीय प्रतिनिधिहरू भने १० दिन जति जिल्लामा बस्ने छन् ।

‘सबै स्थानीय तहमा एकपटक केन्द्रीय प्रतिनिधिहरू पुग्नुहुन्छ । यो अभियानलाई वडा कमिटीले पालिकासँग समन्वय गरेर १४ वटा जति कार्यक्रम गर्नेछ,’ महामन्त्री शर्माले भने, ‘कुन दिन के कार्यक्रम गर्ने भन्ने कुरा निर्धारण गरिँदै छ ।’

यो अभियानमा काँग्रेस केन्द्रदेखि वडासम्म एकै स्वर गरेर जाने शर्माले बताए । अभियान अन्तर्गत पार्टीले नवमतदाताहरूलाई निर्वाचनको प्रक्रियामा सहभागी बन्न र अधिकारलाई प्रयोग गर्न आग्रह गर्नेछ । यस्तै केपी ओली नेतृत्वको सरकारले गरेको कामको समीक्षा गरेर स्वविवेकले भोट हाल्न अनुरोध गर्ने कुरालाई प्राथमिकता दिएको महामन्त्री शर्माले बताए ।

‘पहिलो चरणमा काँग्रेसले ८ वटा उद्देश्यलाई सार्वजनिक गरेको छ । हाम्रा अभियान वडा तहमा बढी विकेन्द्रित हुन्छन्,’ उनले भने । अभियानमा खटेका प्रतिनिधिले केन्द्रमा रिपोर्ट बुझाएपछि काँग्रेसले फेरि अर्को अभियान सुरु गर्ने छ । ‘उम्मेदवारी दर्तासँगै फेरि ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानको अर्को चरण पनि प्रारम्भ हुन्छ ,’ उनले भने ।

एमालेले दियो प्रशिक्षण

नेकपा एमालेले स्थानीय निर्वाचनमा सन्दर्भमा एक चरणको प्रशिक्षण सकेको छ । एमालेले फागुन १ गतेबाट फागुन १५ सम्म सातै प्रदेशमा कार्यकर्तालाई प्रशिक्षण दिएको थियो । 

पार्टी स्कुल विभाग, स्थानीय तह विकास विभाग र निर्वाचन विभागको समन्वयमा देशव्यापी प्रशिक्षण अभियान सकेको एमाले उपमहासचिव विष्णु रिमालले बताए ।उनका अनुसार करिब ३ हजार अगुवा नेताहरूले उक्त प्रशिक्षणमा भाग लिएका थिए । सातवटै प्रदेशमा भएको प्रशिक्षण कार्यक्रममा एमालेबाट निर्वाचित जनप्रतिनिधिको मुख्य सहभागिता थियो । 

‘प्रशिक्षण कार्यक्रम हामीले प्रतिनिधिहरूसँग विवरण मागेका थियौँ । यसमा पार्टीका विभागबाट विश्लेषण गर्ने काम गरिरहेको छ,’ उनी भन्छन् ।निर्वाचनका लागि पार्टीले जिल्ला–जिल्लामा ५–६ जना इन्चार्ज तोकेर काम भइरहेको रिमालको भनाइ छ । ‘हामीले काँग्रेसको जस्तो केन्द्रबाट प्रतिनिधि खटाउने गर्दैनौँ । जिल्ला–जिल्लामा ५–६ जना इन्चार्ज तोकेका छौँ,’ उनले भने, ‘हाम्रोमा एउटै जिल्लामा ५–६ जना केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँहरूले नै काम गर्नुहुन्छ ।’

शीर्ष नेताहरूको देश दौडाहा पनि एक खालको चुनावी अभियान नै रहेको उनको भनाइ छ । ‘अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवहरू नै विभिन्न ठाउँमा अभियानकै रूपमा गइराख्नु भएको छ,’ रिमाल भन्छन्, ‘जिल्लाका साथीहरूले विभिन्न कार्यक्रम डाक्नुहुन्छ । हामी चुनावी अभियानकै रूपमा गइराखेका छौँ ।’

स्थानीय तह निर्वाचन सन्दर्भमा बाँकी विषयमा छलफल गर्न चैत दोस्रो सातातिर केन्द्रीय कमिटी बैठक बोलाउन एमालेको तयारी छ । उक्त बैठकले उम्मेदवार छनोट, घोषणापत्र तयार लगायतका मापदण्ड बनाउने रिमालले बताए ।

माओवादी प्रदेशस्तरीय भेलामा

नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचन अन्तर्गत प्रदेशस्तरीय राजनैतिक–वैचारिक प्रशिक्षण गरिसकेको छ । माओवादीले बागमती र कर्णालीमा प्रशिक्षण दिइसकेको छ भने आज आइतबार प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रम गरेको छ । लुम्बिनी, सुदूरपश्चिम, गण्डकी र मधेस प्रदेशमा पनि कार्यक्रम गरिने माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले बताए । 

प्रदेशमा चुनावी अभियानमा प्रदेशस्तरीय प्रशिक्षण भइरहेको उनको भनाइ छ । सुरुमा स्थानीय तहको निर्वाचनको तयारी गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको माओवादीले अहिले प्रशिक्षण अभियान थालेको हो ।केन्द्रीय कमिटीको बैठकबाट विस्तृत योजना र कार्यक्रम बनाएर माओवादी प्रदेशस्तरीय प्रशिक्षण गरिरहेको छ । माओवादीले एक वडामा न्यूनतम तीन टोल कमिटी गठन गर्न तथा सबै संगठित सदस्यहरूलाई पार्टी समितिमा ल्याउन निर्देशन दिएको थियो ।

निर्वाचनको तयारीका लागि पालिकाहरूमा निर्वाचन मूल परिचालन समिति बनाउनु पर्ने, गत निर्वाचनमा आएको मत परिणामको समीक्षा गर्नुपर्ने अध्यक्ष प्रचण्डले सर्कुलर पठाएका थिए । उनीहरूले पठाएको रिपोर्टअनुसार प्रदेशमा छलफल भइरहेको पोखरेलको भनाइ छ ।

एकीकृत समाजवादीको ध्यान संगठन निर्माणमा

नेकपा एकीकृत समाजवादीको चैत १५ गतेसम्म संगठन निर्माणको सबै काम सक्ने तयारी छ । चैत १५ भित्र सबै तहको बैठक बसेर चुनावको तयारी गर्ने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।यस्तै उम्मेदवार छनोटका लागि तल्लो तहको कार्यकर्तालाई पूर्ण जिम्मेवारी दिएर सर्वेक्षण गर्न लगाइएको उनले बताए । 

अध्यक्ष माधव नेपालले चुनावी अभियान अन्तर्गत देश दौडाहा अभियान गरिराखेको खतिवडाको भनाइ छ । उनले भने, ‘प्रचार सामग्री भटाभट तयारी हुँदैछन् । चुनावी गठबन्धनका लागि राजनीतिक दलसँग वार्ताको प्रक्रिया पनि चलिरहेको छ ।’ गठबन्धनले सबैलाई स्वीप आउट गर्ने योजनाका साथ लागिएको खतिवडाको भनाइ छ ।

निर्देशिका बनाए जनतामा जाँदै

जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय तहको निर्वाचन तयारीमा जुटेको छ । आइतबार जसपाको केन्द्रीय कार्यसमितिले निर्वाचन निर्देशिका पारित गरेको छ । जसपाका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले चैत पहिलो साताबाट स्थानीय निर्वाचनमा खटिने बताए ।

उनले भने, ‘आज केन्द्रीय कमिटी बैठकले स्थानीय तह निर्वाचन निर्देशिका पारित गरेको छ । यसरी अनुसार हाम्रो चुनावी अभियान अगाडि बढ्छ । हामी चैतको पहिलो सातमा नै जनतामाझ जान्छौँ ।’ अभियानकै रूपमा कुनै घोषणा नभएको भन्दै नेताहरू अब चुनावी अभियानका रूपमा गाउँ–गाउँ जाने उनको खतिवडाको भनाइ छ ।

संगठन निर्माण र चुनावी अभियानसँग सँगै

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संगठन निर्माण र चुनावी अभियानसँग सँगै अगाडि बढाएको छ । पार्टी २ महिनादेखि संगठन निर्माण र चुनावी अभियानमा लागेको लोसपाका नेता सुरेन्द्र झाले रातोपाटीलाई बताए ।

उनले भने, ‘जिल्ला र पालिकामा नेतृत्व चयन अन्तिम चरणमा छ ।  वडासम्म सदस्यता वितरण, प्रशिक्षण, शपथग्रहण र अभिमुखीकरणका काम निरन्तर गरिरहेका छौँ । आसन्न निर्वाचनलाई महत्त्वका साथ लिएका छौँ ।’ सम्भावित उम्मेदवारको रोस्टर निर्माणका लागि सर्वेक्षण गरिरहेको उनले बताए । साथै लोसपाले प्रदेशस्तरीय प्रशक्षिण अभियान घोषणा गरेको छ । मधेस प्रदेशमा चैत ८ गते जनकपुर र १० गते विरगञ्जमा प्रशिक्षण भेलाको कार्यक्रम रहेको झाले बताए ।

उनका अनुसार १२ गते लुम्बिनी प्रदेशको नेपालगञ्ज र १४ गते रुपन्देहीमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम हुने छ । अन्य प्रदेशमा नेताहरू समय हेरेर कार्यक्रम निर्धारण गरिने उनले बताए ।

राप्रपा चुनावी सभामा व्यस्त

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) स्थानीय तहको चुनाव लक्षित कार्यक्रममा व्यस्त छ । राप्रपाले २५ फागुनबाट चुनाव केन्द्रित कार्यक्रम थालेको हो ।राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका फागुन राप्रपाले अभियानको पहिलो दिन झापाको बुद्धशान्तिमा कार्यक्रम गरेको थियो  । यस्तै २६ गते मोरङको सुन्दरहरैचा, २७ गते काठमाडौँको मच्छेगाँउ र ललितपुरको चापागाउँमा राप्रपाको कार्यक्रम भएको थियो ।

२८ गते सुर्खेतको वीरेन्द्रनगरमा कार्यक्रम गरेको राप्रपाले २९ गते (आज) नेपालगञ्जको त्रिभुवनचोकमा चुनावी आमसभा गरेको छ ।सबै सभामा अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरूबाट सम्बोधन भइरहेको छ ।

सभामा आवश्यकता अनुसार निवर्तमान पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुव बहादुर प्रधान, हेमजङ्ग गुरुङ, महामन्त्रीहरू डा धवल शमशेर राणा, भुवन पाठक, कुन्ती शाहीले सम्बोधन गर्ने गरेका छन् ।फागुन ३० गते बर्दियाको गुलरियामा राप्रपाले कार्यक्रम गर्न लागेको श्रेष्ठले बताए । त्यहाँ पनि शीर्ष नेताको सम्बोधन गर्ने कार्यक्रम छ ।

विवेकशील साझाको प्राथमिकता महाधिवेशन

विवेकशील साझाले चैतभित्र महाधिवेशन सम्पन्न गरेर स्थानीय तहको चुनावमा लाग्ने तयारी थालेको छ । विवेकशील साझाका नेता निर्देशन सिलवालले चैतभित्र प्रदेश र केन्द्रीय महाधिवेशन गरेर चुनावमा लाग्ने बताए । 

यसका साथै स्थानीय तह निर्वाचनमा साना दलले चुनाव चिन्ह पाउनुपर्ने भन्दै पार्टीको नेतृत्वमा संघर्ष भइरहेको उनको भनाइ छ । वैशाखपछि तीव्र गतिमा चुनावी अभियान सुरु गर्ने विवेकशील साझाको तयारी छ । ४१ जिल्लामा संगठन रहेको विवेकशील साझाले आसन्न स्थानीय तह निर्वाचनमा धेरैभन्दा धेरै उम्मेदवार उठाउने नीति लिएको छ । स्वतन्त्र र अन्य पार्टीका राम्रो उम्मेदवारलाई समर्थन गर्ने विषयमा पनि विवेकशील साझामा छलफल भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप