शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

होलीमा बढ्दो परनिर्भता : २ अर्बको रंग भित्रियो

बिहीबार, ०३ चैत २०७८, १४ : ५१
बिहीबार, ०३ चैत २०७८

फागुपूर्णे तथा होलीमा रंग खेल्ने संस्कृति विस्तार भएसँगै नेपालको वैदेशिक व्यापारमा समेत असर पर्न थालेको छ । होलीमा खेलिने रंग, बेलुन र पीचकारी आयात गर्दा पछिल्ला वर्ष नेपालबाट अर्बौं रुपैयाँ बाहिरिएको छ । फागु मनाउने सामान पनि किन्नुपर्दा व्यापारघाटा थप चुलिएको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को सात महिना (माघ) सम्ममात्रै करिब २ अर्ब रुपैयाँको रंग आयात भएको छ । विश्वका विभिन्न मुलुकबाट माघसम्ममा १ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको रंग भित्रिएको विभागको तथ्यांकले देखाएको छ । आयात गरिएकोमध्ये अधिकांश रंग फागुलक्षित नै हो ।

व्यापक रूपमा होली मनाउन थालिए पनि यसमा प्रयोग हुने सामान नेपालमा उत्पादन हुँदैन । उत्पादन भएपनि बजारको माग धान्नेगरी उद्योगहरूले आपूर्ति गर्न नसक्ने गरेको विभागको आयात तथ्यांकले देखाउँछ । यसबाहेक, पीचकारी, बेलुन र होलीमा प्रयोग हुने ‘ह्याप्पी होली’ अंकित वा होली विशेष टिर्सटसमेत विदेशबाटै भित्रिन्छ ।

सात महिना अवधिमा सबैभन्दा धेरै रंग दक्षिण छिमेकी मुलुक भारतबाट आयात भएको छ । विभागका अनुसार भारतबाट साउनदेखि माघ महिनासम्ममा १ अर्ब १८ करोड रुपैयाँभन्दा धेरैको रंग भित्रिएको छ । भारतपछि चीनबाट सबैभन्दा धेरै रंग आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को सात महिना अवधिमा १ अर्ब ७६ करोड रुपैयाँको रंग भित्रिएको थियो । गत वर्ष विश्वव्यापी रूपमा कोरोना महामारीको दोस्रो लहर चलिरहेकाले सबैजसो वस्तु आयातमा कमी आएको थियो । यस्तै, होलीजस्ता पर्व नमनाउन र सजगता अपनाउन सरकारले जोडबल गरेकाले यस प्रकारका सामान आयात घटेको हो । जसले मुख्यगरी होलीमा खपत हुने रंग, बेलुन र पीचकारी जस्ता वस्तुको आयात घटाएको थियो ।

गत आर्थिक वर्ष २०७७/७८ मा भने कुल ३ अर्ब ४८ करोड रुपैयाँको रंग भित्रिएको थियो । यस्तै, आर्थिक वर्ष २०७५/७६ मा ३ अर्ब १ करोड रुपैयाँको र २०७४/७५ मा ३ अर्ब २७ करोडको रंग भित्रिएको विभागको तथ्यांक छ ।

यसबाहेक बंगलादेश, मलेसिया, ताइवान, नेदरल्याण्ड, बेल्जियम, थाइल्याण्ड, स्वीट्जरल्याण्ड, स्पेन, नेदरल्याण्ड, मेक्सिको, अमेरिका, बेलायत र जर्मनीबाट समेत केही परिमाणमा रंग आयात भएको देखिन्छ । ती मुलुकहरूबाट नेपालीले होली खेल्न प्रयोग गर्ने रंग भित्रिने गरेको हो । यस्तै, पीचकारी र बेलुन भने चीनबाट भित्रिने विभागको भनाइ छ ।

निर्यात व्यवसायी महासंघका उपाध्यक्ष गोविन्दप्रसाद घिमिरेले नेपालमा रंग उत्पादन गर्ने कम्पनीहरूबारे आफुहरूलाई जानकारी नरहेको बताए । उनले नेपालमा स्थापना उद्योगहरू र धेरथोर निर्यात गर्ने उद्योगहरूबारे महासंघले जानकारी हुने भएपनि यस्ता प्रकारका उद्योगबारे जानकारी नरहेको बताएका हुन् ।

‘नेपालमा प्रयोग हुने सबै प्रकारका सिन्दुर, केशरी र अबीरलगायत सबै रंग भारतबाटै आउँछ,’ उनले रातोपाटीसँग भने, ‘यस्ता उद्योगबारे थप जानकारी छैन ।’ पीचकारी र बेलुन चीनबाट आउने गरेको उनको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप