शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकाबाट १६६ जना पक्राउ, ९०६ सवारीलाई कारवाही

ट्राफिक चेकिङमा कडाई
बिहीबार, ०३ चैत २०७८, २० : ५९
बिहीबार, ०३ चैत २०७८

काठमाडौं उपत्यकामा होली मनाउँदा उच्छृङ्खलता प्रदर्शन गरेको आरोपमा पक्राउ पर्नेको संख्या १६६ पुगेको छ । पक्राउ पर्नेमा १५६ पुरुष र १० जना महिला रहेका छन् । काठमाडौं, भक्तपुर र ललितपुर प्रहरीले होली लक्षित सुरक्षा योजना बनाएर लागू गरेका थिए । समाचार तयार गर्दासम्म उपत्यकामा अप्रिय घटना भएको छैन ।

पक्राउ पर्नेमा जबर्जस्ती लोला हान्ने, रंग दल्ने र विपरित लिंगीलाई दुर्व्यवहार गर्नेहरु छन् । पक्राउ परेकाहरुलाई कसुर अनुसार कारवाही गरिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसपी) सन्तोषसिंह राठौरले रातोपाटीलाई बताए ।

काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा घरको छतबाट खसेर किशोरी गम्भिर घाइते भएकी छिन् । सिन्धुपाल्चोकस्थित भोटेचौर घर भएकी १८ वर्षीया विनिता चौलागाईं घाइते भएकी हुन् । मित्रपार्क स्थित दीर्घायु अस्पतालमा उपचार गराइरहेकी विनिता अहिले बोल्न थालेकी छिन् ।

होली मनाउँदा लापरवाही गरेर चलाइएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । लापरवाही गरेर चलाएका र मापसे गरेर चलाएका ९ सय ६ वटा सवारी साधन नियन्त्रणमा लिएर ‘होल्ड’मा राखिएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसपी) संजीव शर्माले रातोपाटीलाई बताए । बिहीबार साँझसम्म ट्राफिक महाशाखाले ८७५ वटा दुई पाङ्ग्रे र ३१ वटा चार पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिइएको उनले बताए ।

आवश्यक कागजात देखाएर जरिवाना तिरेपछि साँझ ती सवारीलाई छाड्ने महाशाखाले जनाएको छ । होलीमा दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी महाशाखाले चेकजाँच कडा बनाएको थियो । बिहानैदेखि काठमाडौं उपत्यकामा ६८ ठाउँमा चेक प्वाइन्ट राखेर ट्राफिक प्रहरीले सवारी साधन चेक जाँचमा कडाई गरेको थियो ।

गति नियन्त्रणका लागि ४ ठाउँमा राडार गनबाट गति निगरानी गरिएको थियो । सातदोबाटो, सानेपा, भक्तपुरको गट्ठाघर र सूर्यविनायकमा राडारबाट गति निगरानी गरिएको एसपी शर्माले बताए । सवारी–साधन चेकजाँचका लागि १३ सय ट्राफिक प्रहरी खटिएका थिए । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप