शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनमा एकअर्कालाई गलाउने रणनीति

गठबन्धन हुनेमा विश्वस्त छैनन् माओवादी र एकीकृत समाजवादी
शुक्रबार, ०४ चैत २०७८, १८ : ०१
शुक्रबार, ०४ चैत २०७८

सत्तारुढ गठबन्धनभित्र आसन्न चुनावी तालमेलबारे एकअर्कालाई गलाउने उद्देश्यका साथ राजनीति चलिरहेको छ । चुनावी तालमेलका विषयमा सरकारको नेतृत्वकर्ता नेपाली काँग्रेसको एउटा तप्का र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसमेत एकअर्कालाई गलाउने गरी रणनैतिक रुपमा राजनीतिमा उत्रिएका हुन् ।

काँग्रेसको शेखर कोइराला समूह सत्ता गठबन्धनलाई चुनावमा डोर्‍याउन नहुने पक्षमा उभिएको छ । यता प्रमुख सत्ता साझेदार माओवादी र एकीकृत समाजवादीले काँग्रेससहितको गठबन्धनका साथ चुनावमा जाने रुचि देखाएको अवस्था छ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले चुनावी गठबन्धनको पक्षमा सार्वजनिक अभिव्यक्ति दिए पनि माओवादी र एकीकृत समाजवादी विश्वस्त छैनन् । सत्तामा पुगेपछि काँग्रेसमा दम्भ पलाएको माओवादीको आरोप छ । माओवादीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमा माओवादी नेतृत्व काँग्रेसभित्रको गबन्धनविरोधी पंक्तिमाथि खनिएको छ ।

काँग्रेस चुनावी गठबन्धनका लागि तयार नभए नेकपा एमालेसँग सहकार्यका लागि हात फिँजाउन बाध्य हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सन्देश छ । चुनावी तालमेलबारे काँग्रेसका केही नेताको अडानबारे माओवादीका नेता वर्षमान पुन आक्रोशित छन् । सत्तामा पुगेपछि काँग्रेसमा दम्भ बढेको भन्दै सत्ताको काँग्रेसलाई सडकमा पु¥याउने पुनको चेतावनी छ ।

काँग्रेस उपसभापति धनराज गुरुङ भने गठबन्धनवादी पार्टीले वास्तविकता बुझ्न आवश्यक रहेको बताउँछन् । ‘हामीले लोकतान्त्रिक पद्धतिको कुरा गर्नुपर्छ । कुनै पनि पार्टीको फाइदा–बेफाइदा हेरेर चुनावमा जाने होइन,’ काँग्रेसमा गठबन्धन विरोधी छवि बनाएका गुरुङले भने, ‘स्वार्थको जितका लागि हामी प्रयासरत छैनौं । हामी जनहितको पक्षमा उभिन्छौँ ।’

काँग्रेसले कहिल्यै चुनावी घाटा–फाइदा नहेरेको उनको दाबी छ । गुरुङका अनुसार आफू हारेर पनि मुलुकलाई जिताएको काँग्रेसको इतिहास छ । ‘कुनै पनि पार्टी र व्यक्तिलाई शक्तिशाली बनाउन आवधिक निर्वाचन गरिँदैन भन्ने कुरा सबै साथीहरुले बुझ्न जरुरी छ,’ उनी भन्छन् ।

गठबन्धन एउटा र चुनाव अर्को पक्ष हो भनेर बुझ्न माओवादी र एकीकृत समाजवादीलाई गुरुङको आग्रह छ । ‘चुनाव लोकतन्त्रको मेरुदण्ड हो । लोकतन्त्र बचाउनका लागि आधारभूत सिद्धान्तमै टेकेर अगाडि बढ्ने हो,’ रातोपाटीसँग उनले भने, ‘निर्वाचनलाई कसैले दाउपेचको हतियार बनाउनु हुँदैन । हामीले पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि टेकेर बोलिरहेका छौं ।’

लोकतन्त्रको मुल मन्त्रमा टेकेर राजनीति गर्ने कि स्वार्थको जगमा टेकेर राजनीति गर्ने भन्ने मुख्य प्रश्न उब्जेको गुरुङको भनाइ छ । ‘आरोप र प्रत्यारोपभन्दा पनि गठबन्धनवादी दलले लोकतन्त्रको मुल सिद्धान्त अंगिकार गर्ने कि नगर्ने ?,’ उनको प्रश्न छ ।

माओवादी नेता शक्तिबहादुर बस्नेत भने संविधान र लोकतन्त्रकै रक्षाका लागि गठबन्धन आज पनि आवश्यक रहेको बताउँछन् । ‘संविधान र लोकतन्त्रको रक्षाको पक्षमा हामीले गठबन्धनको आवश्यकता महसुस गरेका हौं । यो प्रधानमन्त्री बदल्न र बन्नमात्र थिएन, संविधान र लोकतन्त्र रक्षाका लागि आज पनि गठबन्धन आवश्यक छ ।’

आसन्न स्थानीय तह निर्वाचनले गठबन्धनको आवश्यकतामाथि प्रतिकुल प्रभाव नपारोस् भन्नेमा माओवादी उदार देखिएको उनको भनाइ छ । आफूहरुको उदारतालाई गठबन्धनबिना माओवादी चुनावमा जान सक्दैन भन्ने ढङ्गले नबुझ्न बस्नेतले चेतावनी दिए ।

‘माओवादीको नीतिमा देश चलेको छ । माओवादीको नेतृत्वले राष्ट्रिय राजनीतिका विशिष्ट मोडमा मुलुकलाई निकास दिन भूमिका खेलेको छ,’ रातोपाटीसँग उनी भन्छन्, ‘नीति र नेतृत्वको श्रेष्ठता भएको माओवादीलाई एक्लै चुनावमा जान हिच्किचाउनुपर्ने कुनै कारण छैन ।’

बस्नेतका अनुसार आसन्न निर्वाचन परिणाम र प्रतिस्पर्धाले गठबन्धनलाई प्रभावित नगरोस् भन्ने माओवादीमा एउटा चिन्ता भने छ । यता, गृहमन्त्री तथा काँग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणले गठबन्धन गरेर चुनावमा नजाने निर्णय काँग्रेसले गरिनसकेको बताए । ‘काँग्रेस केन्द्रीय समितिको निर्णय अनुसार गठबन्धन गरेर देशलाई निकास दिने निर्णय गरेको हो । हामी गठबन्धनमा नरहेको कुरा काँग्रेसको केन्द्रीय समितिबाट निर्णय भइसकेको छैन,’ गृहमन्त्री खाणले रातोपाटीसँग भने ।

काँग्रेसका केही नेताबाट गठबन्धन गर्न नहुने भन्दै व्यक्तिगत कुरामात्र आएको उनको भनाइ छ । ‘नेपाली काँग्रेसका साथीहरुले बोलेका कुराहरु उहाँको निजी हो । नेपाली काँग्रेस गठबन्धनको पक्षमै छ,’ गृहमन्त्री खाण भन्छन् ।

माओवादी नेता बस्नेतले सत्ता गठबन्धनबीच चुनावी तालमेल काँग्रेसको बुझाइमा निर्भर रहेको बताए । उनले भने, ‘मुलुकको आवश्यकता अनुसार सत्ता गठबन्धन बनेको हो भन्ने अर्थमा काँग्रेसले ग्रहण गर्छ भने काँग्रेससँगको आगामी सहकार्य सहज हुन्छ ।’

कम्युनिस्टलाई विभाजित गरी प्रधानमन्त्री बन्नका लागिमात्र गठबन्धन गरिएको काँग्रेसले बुझाइ राखे आ–आफ्नो रणनीति बनाउनुपर्ने बस्नेतको भनाइ छ । ‘गठबन्धनमा रुची र अरुचीको प्रश्न होइन,’ उनले भने, ‘गठबन्धन र गठबन्धनको आवश्यकतालाई कसरी बुझ्ने भन्ने प्रश्न हो ।’

स्थानीय तहमा आवश्यकताको सिद्धान्त अनुसार चुनावी तालमेल हुने माओवादीको बुझाइ छ । बस्नेतका अनुसार जहाँ जुन पार्टी पहिलो छ, त्यहाँ दोस्रो र तेस्रो मिलेर केन्द्रीय गठबन्धन विपरीत स्थानीय चुनावमा गठबन्धन हुन्छ ।

‘०७४ को चुनावमा पनि यो अवस्था देखिएको थियो । कहीँ काँग्रेस–एमाले, कहीँ एमाले–माओवादी, कहीँ काँग्रेस–माओवादीसँग गठबन्धन भएको थियो,’ उनी भन्छन्, ‘शुद्ध आफ्नै तागतले कोही जितेको होइन । केन्द्रीय गठबन्धन विपरीत स्थानीय तहमा चुनावी तालमेल भएको थियो । यस पटक पनि हुन्छ ।’

गठबन्धनमा किन खटपट ?

स्थानीय निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनमा खटपट देखिएको छ । सत्ता पक्षकै नेताहरुले एक अर्कालाई गलाउन चेतावनीपूर्ण रणनीति अख्तियार गरेको पाइन्छ । तर माओवादी नेता बस्नेत भने स्थानीय निर्वाचनको तालमेलले गठबन्धनमा खटपट पैदा नगराएको दाबी गर्छन् ।

‘कम्युनिस्ट विभाजित भएका बेला निर्वाचनमा एक्लै जान पाए हुन्थ्यो भन्ने काँग्रेसको मनोविज्ञान होला,’ उनले भने, ‘तर त्योभन्दा पनि काँग्रेसभित्रको आन्तरिक विवादको प्रभाव हो ।’ काँग्रेसका केही नेताहरु गठबन्धनको विपक्षमा उभिएर आन्तरिक अस्तित्व रक्षाका लागि नेतृत्वमाथि दबाब बढाइरहेको बस्नेतको बुझाइ छ । ‘काँग्रेसमा गठबन्धन चाहिन्छ भन्ने भाव बलियो देखिन्छ । तर नेतृत्वप्रति असन्तुष्ट काँग्रेसका केही गठबन्धनको विपक्षमा हुनुहुन्छ,’ उनले भने, ‘काँग्रेसभित्रको शक्ति संघर्षको प्रभाव र परिणामले गठबन्धनमा खटपट देखिएजस्तो छ ।’

तर काँग्रेस उपसभापति गुरुङ भने नेतृत्वलाई साइजमा राख्नभन्दा पनि आफूहरुले सिद्धान्तकै कुरा उठाएको दाबी गर्छन् । ‘हामीले गठबन्धन गर्नु हुँदैन भनेको प्रधानमन्त्री तथा पार्टी सभापतिलाई कमजोर बनाउन र साइजमा राख्न होइन,’ गुरुङले रातोपाटीलाई भने, ‘स्वार्थको जगमा उभिएर गरेको गठबन्धनले मुलुकलाई डेलिभरी गर्न सक्दैन भन्ने हाम्रो कुरा हो ।’

यसको पुष्टि विगतमा एमाले र माओवादीको चुनावी गठबन्धनबाट भइसकेको गुरुङको भनाइ छ । तर सिद्धान्ततः चुनावी गठबन्धन ठिक होइन भने पनि पार्टीको निर्णय मान्ने गुरुङले बताए । ‘सिद्धान्ततः चुनावी गठबन्धन ठिक होइन भनेको हुँ । भोलि पार्टीले गठबन्धन गरेर चुनावमा जाने निर्णय गरे मेरो व्यक्तिगत कुरा गौण हुन्छ । मैले पार्टीको निर्णय मान्नुपर्ने हुन्छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप