बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

लेखराज भट्टको दाबी : सुदूरपश्चिममा माओवादी शून्य हुन्छ !

‘हामी आएकाले एमालेमा विभाजनको कुनै असर पर्दैन’
बुधबार, ०९ चैत २०७८, ०९ : ५२
बुधबार, ०९ चैत २०७८

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले माओवादी केन्द्र मृत्यु शय्यामा पुगिसकेको बताएका छन् । तत्कालीन नेकपा विभाजनपछि माओवादी केन्द्र छोडेर एमालेमा लागेका भट्टले सुदूरपश्चिम प्रदेशमा माओवादी शून्य हुने दाबी गरे । ‘सुदूरपश्चिममा माओवादी एक्लै चुनाव लड्ने हो भने शून्य हुन्छ,’ रातोपाटीसँगको कुराकानीमा उनले भने ।

काँग्रेस र नेकपा एकीकृत समाजवादीसहितको पाँच दलीय चुनावी गठबन्धन नभए आसन्न निर्वाचनमा माओवादीको अस्तित्व नै नरहने उनको भनाइ छ ।   ‘पाँच दलीय चुनावी गठबन्धन भए केही अक्सिजन लिन सजिलो होला,’ भट्टले भने, ‘गठबन्धनको अक्सिजन नहुने हो भने अक्सिजनको कमी भएर माओवादीको मृत्यु हुने मैले देख्छु ।’ माओवादीले चाहे पनि काँग्रेस चुनावी गठबन्धनको पक्षमा नरहेको भट्टको बुझाइ छ ।

प्रस्तुत छ, एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टसँग गरिएको कुराकानीको सम्पादित अंश–

नेकपा एमाले विभाजन भएको छ । माओवादी केन्द्रका तपाईं लगायत केही प्रभावशाली नेता एमालेमा जोडिएको अवस्थामा सुदूरपश्चिममा स्थानीय तह निर्वाचनमा एमालेको पोजिसन कस्तो हुन्छ ? एमालेमा भएको विभाजनले निम्तिएको भ्याकुम तपाईंंहरूले पूरा गर्न सक्नुहोला ? सुदूरपश्चिममा एमाले अहिले कुन अवस्थामा छ ?

हामी हिजोको नेकपाको निरन्तरताका रूपमा एमालेमा आयौँ । त्यसपछि एमालेको एउटा सानो टुक्रा बाहिरियो । तर त्यसको पूर्ति नेकपाको निरन्तरतामा आएको पूर्वमाओवादीले गरेको छ । विशेष गरी कैलालीमा एमालेको एउटा टुक्रा बाहिरिँदा कुनै फरक परेको छैन ।

सुदूरपश्चिम प्रदेशकै हकमा पनि माथि टाउकामात्र देखिएका छन् । तलको कार्यकर्ता हामीसँग छ । देशैभरिबाट माओवादीको ठुलो पङ्क्ति एमालेमा आएको छ । हामी सिसिएम नै करिब ४० जना एमालेभित्र छौँ । हामीसँग आउने पङ्क्ति पनि ठूलै छ । अहिले एमालेमा प्रवेश गर्न अभियान नै चलेको छ । आइतबारमात्र सुर्खेतमा माओवादीको ठुलो सङ्ख्या एमालेमा आयो । माओवादीको लगभग जिल्ला नै खाली भयो । सुदूरपश्चिम लगायत देशभर माओवादीबाट एमालेमा आउने क्रम जारी छ । त्यो भनेको हामीलाई हेरेर आउने हो । त्यसैले एमालेको शक्तिमा खासै असर पर्दैन ।

एमालेबाट एउटा टुक्रा गए पनि पूर्ति भएको छ । माओवादी केन्द्र धेरै कमजोर भएको छ । उसले काँग्रेसको सहारा लिएको छ । गठबन्धन–गठबन्धन भनिरहेको छ । माओवादी आफ्नो शक्तिमा निर्वाचन लड्ने तागत नभएर काँग्रेसको पुच्छर समातेर वैतरणी तर्न खोजिरहेको छ । जनतामा एमालेको प्रभाव केही कमी आएको छैन । बरु बढिरहेको छ ।

सुदूरपश्चिमका ९ जिल्लामा रहेको माओवादीको ठुलो पङ्क्ति एमालेमा आएको भन्नुभयो । एमालेबाट माधव नेपाल पक्ष बाहिरिएको कुराले स्थानीय तह निर्वाचनमा कुनै प्रभाव पार्दैन भन्ने तपाईंको बुझाइ हो ?

मेरो निष्कर्ष र विश्लेषण त्यही हो । म जिल्ला जिल्लामा पनि गएको छु, हेरेको छु । सबैभन्दा बढी नेकपा एकीकृत समाजवादीमा मान्छे गएको सुदूरपश्चिमबाटै हो । तर सुदूरपश्चिममा म लगायतका ठुलो पङ्क्ति एमालेमा आएकाले एमालेबाट नेकपा एकीकृत समाजवादीमा जाँदा खाली रहेको ठाउँमा पूरा गरिदिएको छ । त्यसैले एमालेबाट माधव नेपाल निस्किएको कुराले निर्वाचनमा एमालेलाई केही असर पर्दैन ।

माओवादी र नेकपा एकीकृत समाजवादीको चुनावी तालमेलले एमालेलाई कुनै असर पर्दैन । काँग्रेससँगै तालमेल गरियो भने अलि प्रतिस्पर्धा होला । नत्र उनीहरू दुईवटैले तालमेल गरे पनि हामीलाई असर पर्दैन ।

सुदूरपश्चिममा मुख्यतः धेरै संघीय निर्वाचन क्षेत्र भएको जिल्ला कैलाली र कञ्चनपुर हुन् । तपाईंंको गृह जिल्ला समेत रहेको कैलालीमा माओवादीबाट कति प्रतिशत कार्यकर्ता एमालेमा जानु भएको छ ? त्यसको केही रेकर्ड राख्नु भएको छ ?

कैलालीमा ९ हजारभन्दा बढी पार्टी सदस्य एमालेमा आएका छन् । ५/६ हजार कार्यकर्ता कञ्चनपुरबाट आउनु भएको छ । त्यो ठुलो सङ्ख्या हो । तर प्रतिशतकै हिसाबले रेकर्ड निकालेको छैन ।

सुदूरपश्चिममा माओवादी एक्लै चुनाव लड्ने हो भने शून्य हुन्छ । काँग्रेस र नेकपा एकीकृत समाजवादीसहितको पाँच दलीय चुनावी गठबन्धन भए माओवादीलाई केही अक्सिजन लिन सजिलो होला । गठबन्धनको अक्सिजन नहुने हो भने अक्सिजनको कमी भएर माओवादीको मृत्यु हुने मैले देख्छु ।

त्यसो भए सुदूरपश्चिममा माओवादी तपाईं बिना मुत्यु शय्यामा पुगेको अवस्था हो ?

त्यो निश्चितै हो । काँग्रेसको पुच्छर समातेर वैतरणी तर्दा एउटा होला । नभए माओवादी आफ्नो बलमा एउटा ठाउँमा पनि जित्न सक्दैन । शून्य हुन्छ ।

सुदूरपश्चिमको सत्तासीन दल माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन हुँदाको अवस्थामा एमालेमाथि चुनौती हुने विश्लेषण भइरहेको छ । यसलाई तपाईंंले कसरी हेर्नु भएको छ ?

माओवादी र नेकपा एकीकृत समाजवादीको चुनावी तालमेलले एमालेलाई कुनै असर पर्दैन । काँग्रेससँगै तालमेल गरियो भने अलि प्रतिस्पर्धा होला । नत्र उनीहरू दुईवटैले तालमेल गरे पनि हामीलाई असर पर्दैन ।

सुदूरपश्चिममा काँग्रेस, माओवादी र एकीकृत समाजवादीबाट चुनावी तालमेल हुँदैन भन्ने तपाईंको विश्लेषण हो ? काँग्रेसको चुनावी रणनीतिलाई एमालेले कसरी लिएको छ ?

काँग्रेस नेताहरूसँग मैले बुझ्दा र उनीहरूको अभिव्यक्ति सुन्दा स्थानीय तहमा चुनावी तालमेल हुन सक्दैन भन्ने लाग्छ । काँग्रेसका कार्यकर्ताले स्थानीय रूपमा तालमेल गर्ने कुरा मन पराएको जस्तो मलाई लागेको छैन । सुदूरपश्चिममा रुखमा मात्र भोट हाल्ने काँग्रेसका कार्यकर्ताको कल्चर छ । त्योभन्दा बाहिर जान्छ जस्तो लाग्दैन ।

मेरो नेतृत्वमा एउटा ठुलो टीम छ । ३० जना केन्द्रीय सदस्य नै छौँ । सबैले आ–आफ्नो जिम्मेवारी राम्रोसँग बुझ्नुभएको छ । टीमवर्कमै सफलता प्राप्त गर्ने हो ।

एमाले केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षमा छ । सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री शेरबहादुर देउवाको गृह प्रदेश पनि हो । तपाईंको नेतृत्वमा यहाँ एमालेले कस्तो परिणाम हासिल गर्ने अपेक्षा राख्नु भएको छ ? एमालेको वर्तमान स्थिति जोगाउन सक्नुहुन्छ ?

हाम्रो जोड अहिलेको भन्दा पनि केही स्थानीय तह बढाउँछौँ भन्ने लक्ष्य छ । अहिलेकोभन्दा धेरै स्थानीय तह जित्ने हाम्रो रणनीति छ ।

कम्युनिस्ट पार्टीमा विभाजन भएको परिस्थितिबीच काँग्रेसले आसन्न स्थानीय तह निर्वाचनलाई उत्सवका रूपमा लिएको छ । एमालेका अगाडि चुनौतीको पहाड त छ नि ?

चुनौती हरेक युद्धमा नहुने कुरा हुँदैन । युद्धमा चुनौती हुन्छ । चुनाव भनेको पनि युद्ध बराबर नै हो । यो पनि लडाइँ नै हो नि । लडाइँमा विभिन्न खालका रणनीति अपनाउनुपर्ने हुन्छ । अहिले हामीलाई चुनौती छ । तर एमालेले चुनौती सहजै रूपमा पार गर्छ भन्ने छ ।

पहिलो पटक आफू एमालेको इञ्चार्ज बनेर पार्टीलाई चुनावमा लैजाँदै हुनुहुन्छ । एमालेले सुदूरपश्चिममा कति प्रतिशत स्थानीय तह जित्न सक्छ ?

मेरो नेतृत्वमा एउटा ठुलो टीम छ । ३० जना केन्द्रीय सदस्य नै छौँ । सबैले आ–आफ्नो जिम्मेवारी राम्रोसँग बुझ्नुभएको छ । टीमवर्कमै सफलता प्राप्त गर्ने हो । हाम्रो टीम एकदमै एकताबद्ध भएर गएको छ । त्यसले हामीलाई सफलतातिरै लैजान्छ । तल पनि पार्टी पङ्क्ति एकताबद्ध छ । सक्रिय र चलायमान छ । आफ्नो जिम्मेवारी बोध गरेको छ । त्यसले परिणाम राम्रै निकाल्छ ।

सुदूरपश्चिममा चुनावी तालमेलबारे केही सोच्नु भएको छ ?

अहिलेसम्म हामी आफ्नै बलबुतामा चुनाव लड्ने रणनीति बनाएका छौँ । आवश्यकता भएमा कोसँग तालमेल गर्ने भन्नेबारे पार्टीको प्रदेश कमिटीको बैठक बसेर निर्णयमा पुग्छौं । पहिला केन्द्रीय समितिको बैठक बसेर हामीलाई एउटा रणनीति दिन्छ । त्यही रणनीति अनुसार आफ्नो सापेक्षतामा सुदूरपश्चिमको रणनीति र कार्यनीति बनाउँछौं । स्थानीय तहमा तालमेलको आवश्यकता बोध भयो भने सम्बन्धित पक्षले तालमेल गर्न सक्छ ।

माओवादी र एकीकृत समाजवादीसँग एमालेको तालमेल हुन्छ कि हुँदैन ?

उनीहरूसँग तालमेल हुने सम्भावना मैले देखेको छैन ।

स्थानीय कार्यकर्ताले माओवादी र एकीकृत समाजवादीसँग तालमेल गर्न खोजेको अवस्थामा एमालेले रोक्छ कि रोक्दैन ?

यसबारे पहिला हाम्रो केन्द्रीय नीति बन्छ । सिद्धान्त, विचार र राजनीति र कार्यगत नीति हुन्छ । त्यही अनुरुप हाम्रो प्रदेशको विशेषता र मौलिकतामा प्रदेशस्तरीय रणनीति बनाउँछौं । भोलि के गर्ने भन्ने विषय भोलिकै विषय हो । तर अहिले तत्काल उहाँहरूसँग तालमेल हुन्छ भन्ने मलाई लाग्दैन ।

सुदूरपश्चिममा एमालेले चुनावी अभियान कसरी अगाडि बढाएको छ ?

अहिले पार्टीको आन्तरिक संरचनालाई नै परिचालन गरेका छौँ । संगठन निर्माण र प्रशिक्षण अभियान गरिरहेका छौँ । केन्द्रीय कमिटी बैठक सकिएपछि हाम्रो चुनावी अभियान र रणनीति बन्छन् । त्यो अभियान जनतासम्म जान्छ । अहिले हामीले पार्टी कमिटीलाई मात्र निर्वाचनका लागि परिचालन गरेका छौँ । टोल कमिटी निर्माण गरी पार्टी पङ्क्तिलाई सुदृढ गरी गतिशील बनाउने र चुनावी अभियान कार्यनीति बनाएर अगाडि बढ्छौँ ।

सुदूरपश्चिममा एमालेले आसन्न निर्वाचनमा चुनावी एजेण्डा के बनाउँदै छ ?

सुदूरपश्चिमको इतिहास, भाषा, संस्कृति, जातजातिको विशेषतासँग हामीले प्राथमिकता दिन्छौं । त्यसमा विकासलाई कसरी जोड्न सकिन्छ भन्ने खाका दिन्छौं । पारदर्शी कसरी बन्ने, प्रदेशलाई भ्रष्टाचारमुक्त कसरी बनाउने भन्ने विषयमाथि केन्द्रित हुन्छौं ।

साथै हामीले स्थानीय तह जितेका ठाउँमा अहिलेसम्म भएका काम, भएका कमीकमजोरी र गर्न नसकेका कामहरूलाई कसरी पूरा गर्न सकिन्छ, सबै कुरा जनताको बीचमा लिएर जान्छौं । जनतासँग भोट माग्छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप