सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीमा क्षयरोग उपचारमा जटिलता

बिहीबार, १० चैत २०७८, ०७ : ३८
बिहीबार, १० चैत २०७८

आज विश्व क्षयरोग दिवस । कर्णाली प्रदेशमा क्षयरोग (टीबी) रोग घट्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । सातवटा प्रदेशको तथ्याङ्कलाई मूल्याङ्कलन गर्दा प्रदेशमा  सन् २०१८ यता एक हजार ९ सय ९३ जना क्षयरोगबाट प्रभावित व्यक्तिहरूले अस्पताल सेवा लिएको देखिन्छ । जुन अन्य प्रदेशको तुलनामा निकै कम हो । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका प्रमुख डा. रविन खड्का समाजमा यो रोग व्याप्त भए पनि पछिल्लो समय कमी हुँदै गइरहेको बताउँछन् ।

यस्तो छ तथ्याङ्कमा क्षयरोगको अवस्था 
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा क्षयरोगका बिरामीको सङ्ख्या एक हजार ६ सय ३२ रहेको थियो । आर्थिक वर्ष ०७५/७६ मा एक हजार ३७६, आव ०७६/७७ मा एक हजार २३६ रहेको थियो भने चालु आर्थिक वर्षको ६ महिनामा बिरामीको सङ्ख्या घटेर ७३९ मा झरेको छ।

निर्देशनालयको तथ्याङ्कलाई हेर्ने हो भने सहरतिर क्षयरोग बढी देखिन्छ । १० जिल्लाको तथ्याङ्कमा ०७६ देखि चालु आवका ६ महिनामा सुर्खेतमा सबैभन्दा बढी एक हजार १३३ रहेको थियो । आर्थिक वर्ष ०७६/०७७ मा क्षयरोगी सङ्ख्या चार सय १८ झरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा यो सङ्ख्या बढेर चार सय ३३ मा पुगेको थियो भने चालु  आवको घटेर दुई सय ८१ मा झरेको तथ्याङ्कले देखाएको छ ।

यस्तै हिमाली जिल्ला हुम्ला र डोल्पाका क्षयरोगीको सङ्ख्या न्यून देखाएको छ । स्वास्थ्य अधिकारीहरू भने त्यसो हुनुमा क्षयरोगको परीक्षण नभएको बताउँछन् । डोल्पामा विगत दुई आर्थिक वर्षमा  ४३ जनालाई क्षयरोग लागेको छ। चालु आवको हालसम्म भने २९ जना यो रोगबाट प्रभावित भएका छन् । यस्तै जुम्लामा विगत दुई आर्थिक वर्ष र चालु आवको ६ महिनामा २१०, कालिकोटमा १३३, दैलेखमा ३४९,  रुकुम पश्चिममा  ३८१, सल्यानमा ३७६ र जाजरकोटमा २३६ जना यो रोगबाट ग्रसित बनेका छन् । पछिल्लो समय क्षयरोगका बिरामीको उपचारमा सन्तोषजनक सफलता प्राप्त भएको निर्देशक खड्का बताउँछन् ।  

उनका अनुसार क्षयरोगका बिरामीको उपचारमा गत आवमा ९४ र चालु आवको ६ महिनामा क्षयरोगको उपचारमा ८६ प्रतिशत सफलता प्राप्त छ । अहिले कर्णालीमा क्षयरोग निवारणका लागि तीन सय ८ वटा क्षयरोग हेरचाह केन्द्र रहेका छन् भने २ वटा एमडीआर उपचार केन्द्र, ८ जीन विशेषज्ञ केन्द्र रहेको निर्देश खड्काले जानकारी दिए । हालसम्म डोल्पा र हुम्लामा भने जीन विशेषज्ञ केन्द्र स्थापना हुन सकेका छैनन् । यस्तै माइक्रोस्कोपीको सङ्ख्या ४७ वटा छन् भने क्षयरोग सूचना केन्द्रको सङ्ख्या ५५ रहेको कर्णालीमा डाक्टर रेफरल सेन्टर भने अझै स्थापना भएको छैन । हाल नेपालभर डाक्टर रेफरल सेन्टरको सङ्ख्या ७ वटा मात्र रहेका छन् ।  

चुनौतीहरु 

क्षयरोग निवारणका थुप्रै चुनौती पनि रहेका छन् । स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदक केसी भन्छन्– ‘क्षयरोग नियन्त्रणमा निजी क्षेत्रको योगदान कम रहेको छ । जिन एक्सपर्ट केन्द्रहरूमा क्षयरोग परीक्षणको दर कम हुनुका साथै हुम्ला र डोल्पामा जिन एक्सपर्ट केन्द्र विस्तार हुन अझै पनि बाँकी रहेको छ।’

रोगलाई निवारण गर्नका लागि औषधी प्रतिरोधी बिरामीहरूको उपचारका लागि प्रेषण केन्द्र सञ्चालन गर्नुपर्ने हो । तर कर्णालीमा अझै त्यो हुन सकिरहेको छैन । जिन एक्सपर्ट केन्द्रहरूमा क्षयरोग परीक्षणको दरमा वृद्धि हुनुपर्ने हो । तर सबैजसो व्यक्तिहरूले परीक्षण पनि गराउँदैनन्,’उनी भन्छन्,‘ हरेक पालिकाले क्षयरोग मुक्त पालिकाको कार्यान्वयन गर्ने गरी काम गर्न आवश्यक छ  भने सबै निदान भएका क्षयरोग बिरामीहरूको समयमा उपचारमा दर्ता ल्याउने गर्नुपर्छ । तर अहिले त्यो कमै मात्रमा मात्र भएको पाइन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप